अर्थमन्त्री डा महतले भेटे भारतीय र चिनियाँ अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले जी -२० बैठकका सिलसिलामा भारतीय र चिनियाँ अर्थमन्त्रीहरुसित भेट गर्नुभएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिनुभएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ ।
“अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दश वर्षमा १० हजार मेघावाट जलविद्युत् भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गर्नुभयो”, भारतीय समकक्षीसँगको भेटवार्ताबारे अर्थमन्त्री डा महतको सचिवालयले भनेको छ, “दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो ।”
भारतका अर्थमन्त्रीले एनपिएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गर्नुभएको छ । जवाफमा अर्थमन्त्री महतले उक्त परियोजना छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम भइरहेको बताउनुभयो ।
भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकाले सो क्षेत्रमा लगानी बढाउन समेत अर्थमन्त्री डा महतले अनुरोध गर्नुभएको छ ।
यस्तै चिनियाँ अर्थमन्त्री लिउ कुनसित पनि महतको द्विपक्षीय भेटवार्ता भएको छ ।
सो वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको मन्त्री डा महतले जानकारी दिनुभयो ।
यस वार्तामा आपसी हितका विविधि विषयका साथै एकअर्काको चासो र सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो ।
वार्ताका क्रममा मन्त्री डा महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा उहाँले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजनाहरू समयमा अघि बढ्न नसकेकामा अब चाँडै अघि बढ्ने विश्वास पनि त्यस वार्ताका क्रममा दुवै पक्षले व्यक्त गर्नुभएको थियो ।
मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले सुरुङमार्गका प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने आशा पनि व्यक्त गर्नुभयो ।

त्यस वार्ताका क्रममा चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासका क्षेत्रमा चीन सदैव सहयोगी हुन चाहेको उल्लेख गर्दै दुई देशबीचका सहयोग परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री