नक्कली छोरा बनाउने दुई गोरखा सैनिक कारागार चलान

विराटनगर । नक्कली छोरा बनाइ नागरिकता बनाइदिनेदुई पूर्व गोरखा सैनिकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको नक्कली छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् ।

बाबु बनेर नक्कली छोराहरूलाई नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार पोखरा उपमहानगरपालिका-१० का २१ वर्षीय रविन गुरुङ, पोखरा-१२ का १९ वर्षीय प्रशान्त मगर र पोखरा-१६ का २९ वर्षीय गणेश गुरुङले मोरङको बेलबारी नगरपालिका-११ ठेगाना र पूर्व सैनिक सुर्यहाङ लिम्बूको छोरा बनेर नागरिकता लिएका छन् ।

२४ माघ २०७८ मा नागरिकता लिएका उनीहरु फरार रहेका प्रहरीको भनाइ छ ।

प्रहरीले यो घटना अनुसन्धानका क्रममा ५ असारमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थायी ठेगाना भइ मोरङको लेटाङ नगरपालिका-७ मा बस्दै आएका ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको थियो ।

उनको बयानका आधारमा ६ असारमा सुनसरीको धरान उपमहानगरपालिका-११ का ६० वर्षीय सूर्यबहादुर फयाङ लिम्बू पक्राउ परेका थिए । सूर्यहाङ र सूर्यबहादुर दुवै जना भूतपूर्व बेलायती सैनिक हुन् । उनीहरुको जागिरकै सिलसिलामा चिनजान भएको पाइएको प्रहरीको भनाइ छ ।

बेलायती सेनामा काम गरेका नेपालीहरुलाई बेलायत सरकारले त्यहीँ बसोबासको व्यवस्था गरेको छ । बेलायती सेनामा जागिर खान पनि पूर्व गोर्खा सैनिकका परिवारलाई सहज हुन्छ । त्यसैले सहज रुपमा बेलायत जान र जागिरका लागि विचौलियाले नक्कली बुबा खोज्दै तीन युवालाई धरान हुँदै मोरङको लेटाङसम्म ल्याएको थियो ।

नक्कली बुबा बनिदिए बापत सूर्यहाङले सुरुमा जनही पाँच लाख पाएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । उनलाई बेलायत पुगेर जागिर सुरु गरेपछि थप ३५ लाख दिने आश्वासन दिइएको पाइएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार पोखराका तीन युवालाई नक्कली बाबु खोज्दै पोखराकै टेकबहादुर गुरुङले मोरङ ल्याएका थिए ।

सूर्यबहादुरसँग चिनजान भएका टेकबहादुर धरान आएका थिए । सूर्यबहादुरले सूर्यहाङसम्म पुर्‍याएका थिए । तीन जना छोरी भएका सूर्यहाङले पैसा पाउने भएपछि बुबा बनेर नागरिकता बनाइदिन राजी भएका प्रहरी स्रोतको दाबी छ ।

‘नागरिकताका लागि टेकबहादुर हुँदै सूर्यबहादुरबाट सूर्यहाङसम्म पुगेको देखिन्छ’, प्रहरी  स्रोतले भन्यो, ‘पैसा पाउने भएपछि सूर्यहाङ बुबा बन्न राजी भएको देखियो ।’

प्रहरीले सूर्यहाङ र सूर्यबहादुरविरुद्ध झुटो नागरिकता बनाएको कसूरमा अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा  जिल्ला अदालत मोरङका न्यायाधीश प्रकाश कोइरालाको इजलासले सूर्यहाङ र सूर्यबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आदेशपछि दुवै जनालाई सोमबार कारागार चलान भएका छन् ।

अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री