बेलायतमा काम गर्न चाहने नेपाली नर्सका लागि आवेदन खुला

लण्डन । नेपाल र बेलायत सरकारबीच सम्झौता भई बेलायत काम गर्न आउन चाहने नर्सका लागि आवेदन खुला गरिएको छ ।

विहीबारबाट आवेदन शुरु गरिएको हो ।

२०२२ को अगष्ट २२ मा दुई सरकारबीच बेलायतमा नेपाली नर्सलाई काम गर्ने सम्बन्धी सम्झौता भएको थियो ।

नेपालको वैदेशिक रोजगार विभागले नर्सहरूलाई बेलायत लैजानेसम्बन्धी कार्य गर्नेछ र बेलायतको स्वास्थ्य मन्त्रालयले सो विभागसित समन्वय गर्नेछ ।

यसका लागि अलग्गै पोर्टल बनाइएको छ र बेलायतमा नर्सका रूपमा काम गर्न चाहनेहरूले अरू तेस्रोपक्षसित सम्पर्क नगर्न पनि भनिएको छ । आवेदन गर्न चाहनेहरूले https://ferms.dofe.gov.np/home मा जानु पर्नेछ ।

पहिलो चरणको आवेदन विहीबारबाट शुरु भई अक्टोबर १९ सम्म रहनेछ । बेलायतले पहिलो चरणमा १०० जना नर्स नेपालबाट ल्याउने योजना बनाएको छ । शुरुमा आएका नर्सहरूलाई ह्याम्पसायर हस्पिटल फाउण्डेसन ट्रष्टमा काममा लगाइने छ ।

आवेदनका लागि योग्यता के हुनुपर्छ ?

कम्तीमा एक वर्ष म्याद रहेको नेपाली राहदानीबाहक हुनुपर्नेछ ।

नेपाल सरकारबाट मान्यता प्राप्त कलेजहरू वा विदेशबाट स्टाफ नर्स, बीएस्सी नर्सिङ वा एमस्सी नर्सिङ गरेको हुनुपर्नेछ ।

नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स पाएको हुनुपर्नेछ ।

कम्तीमा दुई वर्षको कामको अनुभव भएको हुनुपर्नेछ । सन् २०१९ अघिको कार्यनुभवलाई मान्यता दिइने छैन ।

अंग्रेजी भाषामा आइइएलटीएसमा पढाइ, सुनाइ र बोलाइमा ७ अंक र लेखाइमा ६.५ आएको हुनुपर्नेछ वा ओइटीमा पढाइ, बोलाइ र सुनाइमा बी ग्रेड र लेखाइमा सी प्लस आएको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री