बेलायतमा प्रेम गाहामगर नेतृत्वको एनआरएनएले बनायो २० हजार सदस्य

लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन् ।
८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ ।
दुई समूहमा बाँडिदा पनि बेलायतमा कुल सदस्य संख्या करिब २५ हजार पुगेको छ ।
यसअघि सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षले ४ हजार एक ८३ सदस्य संख्या रहेको सार्वजनिक भइसकेको छ । शनिबार गाहामगर समूहले खड्का समूहले बनाएकोभन्दा झण्डै ५ गुणा बढी सदस्यता बनाएको तथ्यांक सार्वजनिक गरेको हो ।
गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको कारण पनि धेरै सदस्य बनेको आँकलन छ ।
जुन १५ देखि १५ जुलाईसम्म खुला गरिएको अदस्यता अभियानमा २० हजार ७०७ आवेदन अनलाइनमार्फत प्राप्त भएको र त्यसमध्ये २० हजार ५६१ सदर गरिएको बताइएको छ । बाँकी ३१ सदस्यता मुत्लवीमा राखिएको, १७ वटा अस्वीकृत भएको र ९३ वटा अकाउण्ट एक्टिभेट नभएको बताइएको छ ।
करिब १ लाख ५० हजार नेपाली बसोबास गर्ने बेलायतमा खड्का पक्षले ४ हजार मात्र सदस्य बनाउँदा आलोचना भएको थियो तर केन्द्रले बर्खास्त गरेतापनि गाहामगरले करिब पाँच गुणा बढी सदस्य बनाएर आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन् ।
उनले २२ जुलाई राति १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री