एनआरएनए युकेमा हितकाजीले मारे बाजी (मत सहित)

लण्डन । केन्द्रबाट मान्यता पाएको गैरआवासीय नेपाली संघ (युके) को शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षमा हितकाजी गुरुङले बाजी मारेका छन् ।
उनी अन्य दुई प्रतिस्पर्धीहरुलाई पाखा लाउँदै आगामी दुई वर्षका निम्ती अध्यक्षमा निर्वाचित हुन सफल भएका छन् । उनले १ हजार ४७९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी दिनेश घिमिरेले १ हजार २५४ र अर्का उम्मेदवार नारायणदत्त कँडेलले ९०५ मत पाए । अध्यक्षमा ३ हजार ६३८ मत मात्र खसेको थियो ।
उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार निर्वाचित भएका छन् । पाँच जना प्रतिस्पर्धी रहेको उपाध्यक्ष पदमा कँडेलले १ हजार ४५६, परियारले १ हजार ३१२ मत पाए । ज्ञानेन्द्र आलेले ८७८, कमानसिंह कर्मा पहाडी शेर्पाले ८७६ र ओमन गौचनले ४२९ मत पाए ।
स्कटल्याण्ड उपाध्यक्षमा युवा उम्मेदवार मनिष खत्री निर्वाचित भएका छन् । उनले १ हजार ६१५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद बगालेले १ हजार ५३० मत पाए । महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन् । उनले १ हजार ५८१ मत पाए भने अर्का प्रत्याशी बालकृष्ण भूषालले १ हजार ५३७ मत पाए ।
सहकोषाध्यक्षमा हेमकुमार गुरुङले १ हजार ८७५ मत पाए । अर्का उम्मेदवार सोहन शर्माले १ हजार ४३८ मत पाए । यस्तै युवा संयोजकमा सुजित शाहीले १ हजार ५७२ मत पाए भने अर्का प्रत्याशी बीरेन्द्र नेपालले १ हजार ३५४ मत ल्याए ।
चार पदका लागि भएको आइसिसी सदस्य निर्वाचनमा दिलरास गुरुङले १ हजार ८६३, सुनिलबाबु खड्का १ हजार ६९८, चन्द्रबहादुर गुरुङ१ हजार ६९० र विष्णु चालिसे १ हजार ६४३ मत पाएर विजयी भए । सो पदका प्रत्याशी मोहन कार्कीले १ हजार ३१२ र डा सुनिल साहले ९०५ मत पाए ।
इङ्ल्याण्ड राज्य समितिको अध्यक्षमा शम्भुप्रसाद अर्याल १ हजार ५५५ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी सन्तोषकुमार सुवेदीले ८५८ मत पाए ।
निर्वाचनमा सबैभन्दा चर्को प्रतिस्पर्धा भने स्कटल्याण्ड राज्यसमितिका लागि भएको थियो । अध्यक्षमा दीवाकर पाण्डे पाँच मतको अन्तरले विजयी भए । उनले २४५ मत पाए भने उज्जवल कार्कीले २४० मत पाए । अध्यक्षमा ७ मत खसेको थिएन ।
उपाध्यक्षका कमला श्रेष्ठ २८० मत पाएर विजयी भइन् भने उनका प्रतिस्पर्धी प्रजापति शर्माले १९४ मत पाए । सचिवमा रामप्रसाद कँडेल २९१ मत पाएर निर्वाचित भए भने मोतिलाल खरेलले १८३ मत पाए । सहसचिवमा भुपाल कार्कीले २३८ मत पाएर जित हात पारे भने भोजराज खरेलले २२७ मत पाए ।
चार सदस्यहरुमा पवित्रा भण्डारी २४४, स्वस्तीमा खड्का २२४, सागर पाण्डे २१८ र जीवलाल भण्डारी २०९ मत ल्याएर निर्वाचित भए । झपेन्द्र सापकोटाले १८६, तुल्सीराम न्यौपानेले १६२, मनहरि सापकोटाले १४७ र बी राज ढुंगेलले १७५ मत पाए ।
बाँकी पदहरु यसअघि नै निर्विरोध घोषणा भइसकेको छ ।
निर्वाचन प्रयोजनका लागि चिरञ्जीवी ढकालको संयोजकत्वमा हरि गुरुङ र विपिन निरौला रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले आइतबार बिहान नै निर्वाचन परिणाम सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री