गुरुङ सोसाइटी केन्टको ग्रीष्मकालिन भेटघाट

लण्डन । गुरुङ सोसाइटी केन्ट यूकेले १६ औं वार्षिक ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार (२२ जुलाई) का दिन समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङको अध्यक्षतामा केन्टको गोडमर्साम एण्ड क्रन्डनडेल भिलेजमा सो कार्यक्रम भएको थियो ।
मौसमले साथ नदिए पनि कार्यक्रम थप आकर्षक बनाउन विगत वर्षहरुमा जस्तै विभिन्न खेलकुद तथा नाचगान समावेश गरिएको थियो । उक्त कार्यक्रम सहज हुने गरी कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी बांडफांड गरिएको थियो । जसअनुसार टिकट बिक्रीमा कोषाध्यक्ष क्याप्टेन भीष्मराज गुरुङ, उमा गुरुङ र सुनिता गुरुङ, खाना तथा बीबीक्यू ब्यवस्थापनमा शेर गुरुङ, खेलकुद तथा छेलो प्रतियोगितामा मान गुरुङ, होम गुरुङ र गणेश गुरुङ, राफल ड्रमा लेडिज कोअर्डिनेटर तारादेवी गुरुङ र उदयहीरा घलेले जिम्मेवारी लिएका थिए भने खाना तथा बीबीक्यू ब्यवस्थापनमा गोर्खा भिल्ला रेस्टुरेन्ट, साउण्ड सिस्टममा बि.सी. राई, फोटो अनि भिडियोमा होम गुरुङ र गोलमान गुरुङले जिम्मेवारी वहन गरेका थिए ।
केन्टबासी गुरुङहरुले हरेक वर्ष छेलो हान्ने प्रतियोगिता निरन्तर रुपमा आयोजना गर्दै आएका छन् । यस वर्षको छेलो हान्ने प्रतियोगितामा आशफोर्ड निवासी शेर गुरुङले भेट्रान समूहमा र युवातर्फ आशफोर्ड निवासी सुलभ श्रेष्ठले उपाधि जिते । दर्जनौं प्रतियोगीलाई उछिन्दै प्रथम उपाधि जित्ने दुवै समूहका विजेतालाई अध्यक्ष गुरुङले फेटा र अबिर लगाई पुरस्कारसहित खादा लगाई बधाई दिए ।
कार्यक्रम थप रोचक बनाउन नेपालबाट आएका चर्चित लोकदोहोरी गायक शिव हमालले एकदमै मीठो गीतहरु गाएर सबैलाई धुमधामसँग नचाए ।
औपचारिक कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई खादा लगाई स्वागत गरिएको थियो । साथै नेपालदेखि बेलायत छुट्टीमा आएका पीम गुरुङ र सुबास घलेलाई पनि स्वागत सम्मान गरिएको थियो ।
औपचारिक कार्ययक्रमको अन्तमा उपस्थित सबैलाई संस्थाका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले धन्यवाद दिए ।
आकर्षक पुरुस्कारहरु रहेको ‘राफल ड्र’ ले पनि कार्यक्रममा रौनकता थप्यो । राफल ‘ड्र’ को प्रथम पुरस्कार क्याप्टेन रामप्रसाद गुरुङले गरेका थिए भने अन्य पुरस्कारहरू विभिन्न ब्यक्तिले प्रायोजन गरेका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन महासचिव तोरण गुरुङले गरेका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष गोलमान गुरुङले गरेका थिए । सांस्कृतिक कार्यक्रममा युवा नानीबाबुहरु क्रमशः संस्कृति लारा गुरुङ, निक्छेन गुरुङ, ग्रिसम गुरुङ र समिप्ट लारा गुरुङको मनमोहक नृत्यले उपस्थित सबैको मन जितेको थियो ।
ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रमको अन्तमा वृद्ध बाबाआमादेखि युवा सम्म सबै सहभागीले नाचेर भरपूर मनोरन्जन लिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री