गाहा मगरले परराष्ट्रमा बुझाए आफ्नो कार्यसमितिको अभिलेख

काठमाडौं । गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहामगरले २० हजार ७०७ जना सदस्यको म्यान्डेट प्राप्त गरी आफू अध्यक्ष पदमा पुनः निर्वाचित भएको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् ।  

गाहा मगरले परराष्ट्र मन्त्री एनपी साउदलाई भेटेर झन्डै एक घण्टा कुराकानी गरी २१ देखि २२ जुलाईमा सम्पन्न एनआरएनए यूकेको ११ औं राष्ट्रिय महाधिवेशनबाट आफू २० हजार ७०७ जना सदस्यको म्यान्डेट प्राप्त गरी अध्यक्ष पदमा पुनः निर्वाचित भएको जानकारीसहित सम्पूर्ण कार्यसमितिको विवरण मन्त्रालयमा पेश गरेका हुन् । 

उनले मन्त्रीलाई गैरआवासीय नेपाली संघ, बेलायतका केही व्यक्तिले अर्को छुट्टै अवैधानिक महाधिवेशन गरेको र उक्त अवैधानिक महाधिवेशनमा करिब ४ हजार सदस्यले मात्र मताधिकार प्रयोग गरी नयाँ कार्यसमिति निर्वाचित भएको सुन्नमा आएको हुँदा उक्त कार्य प्रति आफू र कार्यसमितिको गम्भीर आपत्ति रहेको पनि अवगत गराएका छन् । 

‘गैरआवासीय नेपाली संघ बेलायतको विधान, २००५ को धारा ३५ मा गणपूरक संख्याको विषयमा उल्लेख भएको छ । उक्त धाराको उपधारा (१) मा राष्ट्रिय समन्वय परिषद्, राज्य समन्वय परिषद्, विभिन्न विभाग वा समितिका बैठकहरुको गणपूरक संख्या अध्यक्षबाहेक ५० प्रतिशतलाई मानिनेछ भन्ने व्यवस्था भएको छ भने ऐजन धाराको उपधारा (२) मा पूर्ण बैठक, राष्ट्रिय महाधिवेशन, संघसंस्था प्रतिनिधसभा, र राज्य अधिवेशनको हकमा पहिलो चोटी अध्यक्ष बाहेक ५० प्रतिशत र पहिलोपल्ट गणपूरक संख्या नपुगी दोस्रो पल्ट बैठक बस्न परे एक तिहाइ संख्यालाई गणपूरक मानिनेछ भनि उपधारा (३) मा गैरआवसीय नेपाली संघ बेलायतको राष्ट्रिय महाधिवेशन वा संघसंस्था प्रतिनिधि सभा वा राज्य अधिवेशन वा राष्ट्रिय समन्वय परिषद् वा राज्य समन्वय परिषद् वा विभिन्न विभागहरुको बैठकमा प्रस्तुत विषय उपर प्रजातान्त्रिक ढंगले छलफल गरी सर्वसम्मतिले निर्णय गरिनेछ । सर्वसम्मत हुन नसके बहुमतले निर्णय गरिनेछ । बहुमतको निर्णयलाई बैठकको निर्णय मानिनेछ भन्ने व्यवस्थाविरुद्द जम्मा सदस्य संख्याको मात्र ४ हजार १ सय सदस्य रहेको व्यक्ति वैधानिक हुन सक्दैन’ पत्रमा उल्लेख छ । 

साथै गैरआवासीय नेपाली संघको विधान, २००३ को धारा २३.११ मा राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेद्वार बन्न राष्ट्रिय समन्वय परिषद् वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भइ एक कार्यकाल काम गरेको हुनु पर्नेछ भन्ने व्यवस्था रहेको जनाउँदै गाहामगरले गैरआवासीय नेपाली संघ बेलायत, २००५ को विधानको धारा ३२.६ मा राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदको उम्मेदवार बन्न कम्तिमा १ कार्यकाल राष्ट्रिय समन्वय परिषदमा कार्य गरेको हुनु पर्नेछ भन्ने रहेकोमा अर्को समूहबाट अध्यक्षमा निर्वाचित हितकाजी गुरुङ गत सन् २०२१ देखि २०२३ सम्मको कार्य समितिको कार्यकालमा गैरआवासीय नेपाली संघ बेलायतको मनोनित सदस्यसम्म रहेको तथापि निजले राष्ट्रिय समन्वय परिषदबाट शपथ ग्रहण पनि नगरेको  र उक्त कार्यकालयमा परिषद्को कुनै पनि बैठक निर्णयमा सहभागिता पनि नजनाएको हुँदा निज हितकाजी गुरुङ अध्यक्ष पदको अयोग्य उमेद्वार निर्वाचित हुन नसक्ने जानकारी दिइएको छ ।

हितकाजी गुरुङ र उनको समूह समाज विभाजनतिर लागेको कदमप्रति समस्त बेलायती नेपाली समुदायको तीव्र असन्तुष्टि र विरोध रहेको समेत गाहामगरले जानकारी गराएका छन् ।

उनले जन अनुमोदित आफ्नो कार्यसमितिलाई अभिलेख एवं आधिकारिकता प्रदान गरी समाजमा विद्यमान भ्रम निवारण गरिदिन पनि मन्त्रीसमक्ष निवेदन पेश गरेका छन् ।

उक्त पत्रको वोधार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री