अधिवक्ता पाण्डेमाथि कारबाहीको माग गर्दै मगर र तामाङ समुदायले बुझाए ज्ञापन पत्र

लण्डन । मगर र तामाङ समुदायमा विवाहका बारेमा विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे शीतलमाथि कार्बाहीको माग गर्दै मगर र तामाङ समुदायले नेपाली राजदुताबास लण्डनमा ज्ञापनपत्र बुझाएका छन् ।

मगर संघ युके र तामाङ सोसाइटी अफ युकेको संयुक्त टोलीले मंगलबार दुताबासमा गई उपनियोग प्रमुख रोशन खनाललाई सो ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा समुदायका बारेमा यथार्थ बुझ्दै नबुझी पाण्डेले दिएको अभिव्यक्तिले सिंगो समुदायलाई नै अपराधीकरण गर्न खोजेको, घृणा फैलाउन खोजेको आरोप लगाइएको छ । पाण्डेको सो कार्यबाट समुदायको आत्मसम्मानमा चोट पुगेको पनि बताइएको छ ।

पाण्डेमाथि कारबाहीको माग गर्दै प्रहरी कार्यालय टेकु घेराउको क्रममा भएको प्रहरी दमनको पनि ज्ञापन पत्रमा निन्दा गरिएको छ भने सो क्रममा घाइते अभियन्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

ज्ञापन पत्र ग्रहण गर्दै उपनियोग प्रमुख खनालले ज्ञापन पत्र मंगलबार नै नेपाल विद्युतीय माध्यमबाट पठाउने जानकारी दिनुभएको तामाङ सोसाइटी अफ युकेका पूर्व अध्यक्ष धर्मबहादुर तामाङले बताउनुभयो ।

ज्ञापन पत्र बुझाउने तामाङ सोसाइटी र मगर संघ युकेका अध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल दुताबास पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री