एनआरएनए युके अध्यक्ष हितकाजी गुरुङले सार्वजनिक गरे ८ बुँदे संकल्प

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए युके) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिने कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।

आइतबार अल्डरशटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङले पूर्व गोर्खाहरुको समानताको अधिकार, सम्पत्ति सुरक्षा, नेपाली नागरिकताको निरन्तरता, भाषा संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन, युवा तथा विद्यार्थी र सामाजिक रुपान्तरणसहित ८ बुँदे संकल्प पढेर सुनाए । उनले आउँदो २ वर्षका लागि नयाँ कार्यसमितिको कार्ययोजना पढेर सुनाएका थिए।

नवनिर्वाचित पदाधिकारीहरुलाई विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले खादा र फेटा लगाएर बधाई दिएका थिए।

उक्त अवसरमा बोल्दै समारोहका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गैर आवासीय नेपाली संघ नेपाललाई विश्वमा चिनाउने र संसारभरि फैलिएका नेपालीहरुसंग रहेको सीप, साधन र श्रोत नेपालको हितमा प्रयोग गर्ने कडीको रुपमा रहेको बताए। उनले जुन मुलुकमा नेपाली दूतावास छैनन्, त्यहाँ पनि संघले नेपाली समुदायलाई सहयोग गरिरहेको  बताए। राजदूत आचार्यले एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिंदै युकेमा बसोबास गरिरहेका नेपालीहरुलाई एकतावद्ध गरी सामाजिकता र सहकार्य अभिवृद्धि गर्न सुझाव पनि दिए।

हाल बेलायतको भ्रमणमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनहरुको मातृभूमिप्रतिको मायालाई नेपालले नबिर्सेको बताइन्। उनले एनआरएनहरुलाई नेपाल फर्कन मात्रै हैन नेपालमै टिकाउने वातावरण बनाउनु पर्ने बताइन्। “हामी युवा पुस्ता नेपालको राजनीति सम्हाल्न तयार भएर आएका छौं। एनआरएनएमा पनि अब युवा पुस्ताको उदय हुनुपर्छ,” उनले भनिन्। उनले एनआरएन नागरिकता, सम्पत्ति सुरक्षा लगायत भूतपूर्व गोर्खाको हक अधिकारको लागि व्यक्तिगत र पार्टीको तर्फबाट पनि पूर्ण सहयोग हुने बताइन्।

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले आउँदो अक्टोबर महिनाभित्र गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आइसक्ने बताउंदै उक्त नागरिकतालाई सरल र सुविधायुक्त बनाउने तर्फ आफु हरुले पहल गरि रहेको बताए। उनले सामाजिक सुरक्षा तथा प्रवासमा रहेका नेपालीहरुको मताधिकारको लागि नेपाल सरकारले महत्वपूर्ण निर्णयहरु गरेको बताउँदै संघले नेपाल सरकारसँग सहकार्य जारी राख्ने बताए। उनले एनआरएनए युकेको नयाँ नेतृत्वलाई बेलायतस्थित नेपाली समाजलाई एकजुट गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिए।

समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष डा हेमराज शर्माले कुनै पनि संस्था वैधानिक हुन कि सदस्यहरुले निर्वाचित गरेको हुनुपर्छ कि केन्द्रले मान्यता दिएको हुनु पर्छ। ती दुवै हिसाबले हितकाजी गुरुङले नेतृत्व गरेको एनआरएनए युके नै एकमात्र वैध संस्था भएकोले कुनैपनि द्विधामा नपर्न शर्माले बेलायतवासी नेपालीहरुलाई आग्रह गरे। उनले सहकार्य र सहमतिको आधारमा केन्द्रको नयाँ नेतृत्व चयन गर्न पनि आग्रह गरे।

अर्का उपाध्यक्ष महेश श्रेष्ठले संघ अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए।

अर्का उपाध्यक्ष नारायण आचार्यले सहमतिको आधारमा सबैलाई समेट्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरे।

गैरआवासीय नेपाली संघका महासचिव डा केशव पौडेलले एनआरएनए युकेको निर्वाचनले एउटा उदाहरण प्रस्तुत गरेको बताउंदै अब संघमा आउँदो दस वर्षको भिजन सहित सक्षम नेतृत्व आउनु पर्ने बताए।

त्यस्तै, युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनएले मध्यपूर्वमा कार्यरत २० लाख भन्दा बढी नेपालीहरुको एजेन्डालाई अगाडी बढाउनु पर्ने बताए।

उक्त अवसरमा रोयल बरो अफ ग्रीनविचका उपमेयर काउन्सिलर जीत रानाभाटले एनआरएनए युकेको नयाँ नेतृत्व बेलायतस्थित नेपाली समाजलाई एकतावद्ध पार्न सफल होस् भन्ने शुभकामना दिंदै भूतपूर्व गोर्खालगायत बेलायतवासी नेपालीहरुको हकहितका लागि स्थानीय काउन्सिलहरुसँग मिलेर काम गर्न सुझाव दिए।

समारोहमा गैरआवासीय नेपाली संघका पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, उपमहासचिव रामशरण सिम्खडा,  सचिव गङ्गाधर गौतम, सहकोषाध्यक्ष कृष्ण तिमल्सेना, युरोप उपसंयोजक दयानिधि सापकोटा, युरोप युवा उपसंयोजक रोबर्ट लिम्बु, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धिसागर सुवेदी, एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतम, एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम कमल केसी, पूर्व आइसीसी सदस्य अनुजा प्रधान, नेपाली जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसाल, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिएका थिए।  

एनआरएनए युकेका महासचिव गोविन्द खरेलले संचालन गरेको कार्यक्रममा चर्चित जनवादी गायक जीवन शर्माले लोकप्रिय गीतहरु सुनाएका थिए भने सुदीप क्षेत्री लगायतका कलाकारहरुले पनि गीतसंगीतबाट सहभागीहरुलाई नचाएका थिए।

उक्त अवसरमा विदेशबाट आउनु भएका एनआरएनएका पदाधिकारीहरु तथा निर्वाचन समितिका सदस्यहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री