‘बेक अफ : द प्रोफेसनल्स’को सेमी फाइनलमा पुगे धर्मराज श्रेष्ठ

लण्डन । बेलायतबाट प्रसारण हुने टेलिभिजन च्यानल फोको वेकिङ रियालिटी शो ‘बेक अफ : द प्रोफेसनल्स’ को सेमीफाइनलमा नेपाली मूलका धर्मराज श्रेष्ठ पुगेका छन् ।
४ जुलाईदेखि हरेक मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको साप्ताहिक टेलिभिजन कार्यक्रममा श्रेष्ठ सेन्ट जेम्सेज कोर्ट अ ताज होटलबाट सहभागी भएका छन् । हरेक समूहमा दुई जना रहने सो कार्यक्रमको संरचनअनुसार श्रेष्ठको टीममा मायाङ्क राजपुत छन् ।
कुल ११ जोडी प्रतिस्पर्धीबाट शुरु भएको सो कार्यक्रम अगष्ट २२ सम्म आइपुग्दा श्रेष्ठको टीमसहित चार टीम मात्र बाँकी रहेका छन्। यही चार टीमबाट फाइनलिष्ट र विजेता छानिनेछन् ।
करिब ३० वर्षदेखि पेष्ट्रिज सेफ रहेका श्रेष्ठले यसअघि लण्डनका प्रख्यात होटलहरू द डोरचेष्टर, द लङ्घम र द बर्कलेमा काम गरिसकेका छन् । उनले क्वार्टर फाइनलमा चकलेटको कछुवा बनाउन खोजेका थिए तर चकलेटको डण्डी कर्याककुरुक्क भाँचिएको थियो । तथापि उनलाई निर्णायकहरू वेन्वाँ ब्लिन र चेरिस फिन्डनले सेमीफाइनलमा छानेका थिए ।
प्रोफेसनल पेष्ट्री सेफहरूबीच हुने यस प्रतियोगिता निकै लोकप्रिय मानिन्छ । पहिले बीबीसीबाट यो प्रतियोगिता प्रसारण हुने गर्थ्यो । अहिले प्रतियोगिताको आठौँ श्रृङ्खला चलिरहेको छ ।
यसअघि सेलिब्रिटी मास्टरसेफमा नेपालकै सन्तोष साह विजेता भएका थिए । त्यसअघि मास्टरसेफ प्रोफेसनल्समा साह सहभागी हुँदा नेपालीमाझ राम्रै चर्चा भएको थियो । तर यसपटक श्रेष्ठ सेमीफाइनलमा पुग्दा पनि किन हो धेरै हल्ला भएको पाइँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री