अक्टोबर ४ देखि कति बढ्दैछ बेलायतको भिजा फी ?

लण्डन । बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कर्मचारीहरूको तलवका लागि थप कोष व्यवस्थापन गर्न बेलायतको भिजामा अतिरिक्त शुल्क लगाएपछि अक्टोबर ४ देखि नयाँ शुल्क लागू हुँदैछ ।

बेलायतको गृह मन्त्रालयका अनुसार बेलायतका विभिन्न भिजाहरूमा १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ ।

नयाँ दरअनुसार ६ महिनाको भिजिट भिसा शुल्क यसअघि १०० पाउण्ड रहेकोमा अब ११५ पाउण्ड तिर्नुपर्नेछ । दुई वर्षको भिजिट भिसाको शुल्क ३७६ पाउण्ड रहेकोमा अब ४०० पाउण्ड र पाँच वर्षको भिजिट भिजा शुल्क ६७० पाउण्ड रहेकोमा अब ७७१ पाउण्ड तिर्नुपर्नेछ ।

बेलायतको सेटलमेन्टका लागि यसअघि १ हजार ५३८ पाउण्ड रहेकोमा अब १ हजार ८४६ पुगेको छ । सेटलमेन्टमा आउने डिपेन्डेन्टका लागि भने ३ हजार २५० यथावत रहेको छ ।

बेलायतको आवासीय अधिकार पाएकाहरूको डिपेन्डेन्टका लागि बेलायत आउन जनही २ हजार ४०४ पाउण्ड लाग्ने गरेकोमा अब २ हजार ८८५ पाउण्ड पुगेको छ । सन् १९९७ जुलाई १ देखि सेवा निवृत्त भएका गोरखाहरूका लागि १ हजार ८४६ पाउण्ड लाग्ने छ ।

यस्तै, वर्क परमिटमा बेलायत आउन पनि भिजा शुल्क १५ प्रतिशत वृद्धि गरिएको छ भने बेलायतमा अध्ययन गर्न आउने विद्यार्थीले बेलायतको भिजाका लागि आवेदन गर्दा लाग्ने शुल्क पनि ३५ प्रतिशतसम्म बढाइएको छ । यसअघि जनही ३६३ पाउण्ड लाग्ने गरेकोमा अब ४९० पाउण्ड पुगेको छ ।

यसैगरी, बेलायतको नागरिक बन्न लाग्ने शुल्क पनि बढाइएको छ । यसअघि नेचुरलाइजेसन गर्न १ हजार २५० पाउण्ड लाग्ने गरेकोमा अब १ हजार ५०० तिर्न पर्नेछ ।

बेलायतमा स्वास्थ्य सेवा उपयोगवापत तिर्नपर्ने हेल्थ सरचार्ज पनि बढाइएको छ । यसअघि ६२४ पाउण्ड तिर्नपर्नेमा अब १ हजार ३५ पाउण्ड पुर्याएको छ ।

सबैभन्दा धेरै वृद्धि भने बेलायतको इनडिफिनेट लिभ टु रिमेन (आइएलआर)का लागि गरिएको छ जसमा ४८१ पाउण्ड बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री