राष्ट्र राईको सम्झनामा एनआरएनए युकेले गर्याे शोक सभा

लन्डन । एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक राष्ट्र राईको सम्झनामा शोक सभा गरेको छ ।
शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभामा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो ।
सभामा सहभागीले बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता राईको असामयिक निधनले समाजमा ठूलो क्षति पुगेको बताए । उनीहरुले राईप्रति पुष्पगुच्छा र दीप प्रज्वलन गरेर श्रद्धान्जली अर्पण गरे ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको सभापतित्वमा भएको शोक सभामा पूर्व ब्रिटिश गोर्खा आकाश सुनुवारले स्वर्गीय राईको व्यक्तिगत तथा सामाजिक जीवनबारे चर्चा गरेका थिए ।
कार्यक्रममा ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) का अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवानले भूतपूर्व गोर्खाहरुले आफ्ना सहयोद्धा र नेपाली
समुदायले एक सच्चा राष्ट्रप्रेमी गुमाउनु पर्दा निकै पीडा महशुस गरेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा रानाले राईको स्मृतिमा कविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा निकै भावुक रुपमा प्रस्तुत भएका अध्यक्ष गाहामगरले मास्टर रास्ट्र राईको निधनले संस्थाले एक निकट सदस्यमात्र नगुमाई नेपाली समाजले नै एक असल र निष्ठावान समाजसेवी गुमाएको उल्लेख गरे । सो अवसरमा अध्यक्ष गाहामगरले राष्ट्र राईका भाइ राजेश राईलाई स्वर्गीय राईको तस्वीर र शोक पुस्तिका पनि हस्तान्तरण गरेका थिए ।
महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त कार्यक्रममा पाइपर धुन र मौनधारण गरि स्वर्गीय राईप्रति श्रद्धान्जली अर्पण गरियो ।
१३ वर्षीया साया राईले पाइपर धुन बजाउंदा त्यहां सन्नाटा छाएको थियो ।
सन् १९६५ अप्रिल १९ मा खोटाङ दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका ९ मा जन्मिएका राईको गत सेप्टेम्बर २१ मा हृदयाघातका कारण निधन भएको थियो ।
एनआरएनए यूकेको सन् २०१५–२०१७ कार्यकालका उपाध्यक्ष राई बेलायतमा धरै ठाउँमा फैलिएको सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक थिए । सन् १९८३ मा ब्रिटिश आर्मीमा भर्ती भएका राईले ब्रिगेड अफ गोर्खाजभित्र तेक्वान्दो खेल स्थापित गरेका थिए ।
दिवंगत माष्टर राई तेक्वान्दो सिक्स्थ डान (डब्लुटिएफ, आइटिएफ) हुन् । उनले ब्रिटिश आर्मीमा छंदा धेरै प्रतियोगिता जितेर अवार्ड प्राप्त गरेका थिए ।
नेपाली समुदायमा उनलाई स्पष्ट र खरो बोल्ने व्यक्तिका रुपमा लिइन्थ्यो । उनी चित्र कोर्न पनि सिपालु थिए । उनको एउटा चित्र २० हजार पाउण्डमा विक्री भएको र राईले उक्त चित्रबाट प्राप्त पैसा च्यारिटीमै खर्च गरेका थिए।
पूर्व बेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती सवनम राई, एक छोरा रेस्वन र एक छोरी छन्।
राईको अन्त्येष्टी किराती मुन्दुम संस्कार अनुसार आउंदो अक्टोबर २० तारिख ब्रोम्पटन जिलिङहामको ग्यारिसन चर्चमा गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री