एनआरएनए यूकेले छान्यो ११ विभागका संयोजक 

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले विभिन्न ११ विभागका संयोजक तोकेको छ । 

गत २५ सेप्टेम्बरमा अल्डरसटस्थित शुशीमोतो रेष्टुरेन्टमा सम्पन्न संघको प्रथम भौतिक बैठकले विभागीय संयोजक तोकेको हो । 

जसमा खेलकुद तथा विद्यार्थी संयोजन विभाग (युवा संयोजक सुजित शाही), महिला संयोजन विभाग (महिला संयोजक रोजिना गुरुङ), आर्थिक विभाग (कोषाध्यक्ष विष्णु खरेल), धर्म, संस्कृति, भाषा तथा कला विभाग (उपाध्यक्ष मनिष खत्री), राज्य समन्वय विभाग (उपाध्यक्ष कृष्ण भण्डारी), व्यापार तथा व्यवसाय विभाग (सचिव तिलक भट्टराई), च्यारिटी विभाग (उपाध्यक्ष सुरेश परियार), संघसंस्था समन्वय विभाग (उपाध्यक्ष लीलाराम निउरे), पर्यटन विभाग (उपाध्यक्ष सपना खनिया), विधान संसोधन विभाग (उपाध्यक्ष रविन्द्र कंडेल), एक एनसीसी एक प्रोजेक्ट (अध्यक्ष हितकाजी गुरुङ तथा सम्पूर्ण कार्यसमिति) छन् । 

बैठकले संघको च्यारिटी ट्रष्टी तथा बैंक खाता सम्बन्धी निर्णय पनि गरेको छ । गैरआवासीय नेपाली संघको नयां कार्यसमिति केन्द्रिय परिषदको निर्वाचन प्रक्रियाद्वारा निर्वाचित भएको र च्यारिटी कमिसनको ट्रष्टी छनौट प्रक्रिया संघको निर्वाचन प्रक्रियाभन्दा भिन्न हुने भएकोले वर्तमान ट्रष्टीहरुको भौतिक बैठक बसी कार्यसमितिलाई पुनः नयाँ ट्रष्टी चयनका लागि अधिकार दिनु पर्नेमा सर्वसम्मत रुपमा सहमति गरिएको छ ।  

 यसका लागि वर्तमान ट्रष्टीहरुले च्यारिटी कमिसनसँगको वर्तमान अवस्था तथा सम्बधित आर्थिक स्थितिको बारेमा कार्यसमितिलाई नबुझाएसम्म कार्यसमितिलाई ट्रष्टी चयन गर्न अप्ठ्यारो हुने भएकाले वर्तमान कार्यसमितिमा रहने ट्रष्टीहरुलाई सम्पूर्ण ट्रष्टीहरुसँग बैठक बसी पूर्ण जानकारी कार्यसमितिलाई प्रस्तुत गर्न अनुरोध गरिएको छ ।  

बैठकले केन्द्रिय परिषदको ११औं महाधिवेशनका लागि पठाइएका प्रतिनिधि नामावली पुनः स्वीकृत गरेको छ ।  

गैरआवासीय नेपाली संघ यूकेका कार्यसमितिका पदाधिकारीहरुसँग परामर्श गरी गत ३१ अगस्त २०२३ का दिन केन्द्रमा पठाइएका ९० तथा १० प्रतिशत प्रतिनिधिहरुलाई पुनः सर्वसम्मत रुपमा स्वीकार तथा पारित गरिएको हो ।  

उक्त दिन केन्द्रमा पठाइएका प्रतिनिधिहरु नै बेलायतको तर्फबाट पठाइएका अन्तिम प्रतिनिधि हुने स्पष्ट पारिएको छ । 

बेलायतको सन्दर्भमा एनआरएनए एनसीसीले निर्णय गरी पठाइएका प्रतिनिधिबारे केन्द्रबाट जबर्जस्ती हस्तक्षेप गर्न नहुनेमा सम्पूर्ण कार्यसमिति एकमत रहेको थियो ।  

बेलायतको स्थितिलाई नबुझी जबर्जस्ती हस्तक्षेप गरेमा बेलायतको सामाजिक सद्भावमा असर पर्ने हुनाले उक्त निर्णयलाई केन्द्रले विशेष ध्यान दिनुपर्नेमा कार्यसमितिको सहमति भयो । 

बैठकमा गैरआवासीय नेपाली संघका विभिन्न कार्यकालमा बैंक खाता खोल्ने र बन्द गर्ने प्रक्रियाले संघका जम्मा कति बैंक खाता छन् भन्ने बारेमा वर्तमान कार्यसमितिसँग कुनै रेकर्ड नभएकाले उक्त कार्यका लागि संघका वर्तमान कोषाध्यक्ष विष्णु खरेललाई सम्पूर्ण खाता के कति र कहाँ छन् भन्ने बारेमा विवरण संकलन गर्न जिम्मेवारी दिइएको छ ।  

बैठकमा गैरआवासीय नेपाली नागरिकताको नियमावली प्रकाशित भएपश्तात नागरिकता प्राप्त गर्ने प्रक्रिया, नेपाली राजदूतावाससँग समन्वय गर्नेबारे समेत छलफल भएको थियो । 

आगामी बैठक भर्चुअल माध्यमद्वारा गर्ने र मिति र समय पछि जनाइने बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री