गैरआवासीय नागरिकतालाई उपयोग गर्दै थप अधिकारका लागि लाग्न जोड

लण्डन । गैरआवासीय नेपाली नागरिकतालाई उपयोग गर्दै प्रवासी नेपालीको थप अधिकारका लागि लाग्न जोड दिइएको छ ।

ब्रिटेन नेपाल लयर्स एसोसिएसन (बीएनएलए) ले आइतबार भर्चुअल रूपमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै विभिन्न महानुभावहरूले सो कुरामा जोड दिनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रोफेसर सूर्यप्रसाद सुवेदीले भन्नुभयो, ”गैरआवासीय नेपाली नागरिकता पूर्ण छैन तर यसलाई ग्रहण गर्दै अघि बढौँ ।” उहाँले प्रवासी नेपालीहरूको थप अधिकारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएकाले एनआरएनए बाहिरका गैरराजनितक संस्थाले यसको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तीका लागि एनआरएनएले धेरै अभियान गर्नु परेको उल्लेख गर्दै नेपाली नागरिकका बीचमा भेदभाव हुनुहुँदैन भन्नेमा आफू प्रतिवद्ध रहेको बताए । अहिले गैरआवासीय नागरिकता लिँदा कुनै शुल्क तिर्न नपर्ने, एनआरएनए कार्ड, विदेशको नागरिकता लिएको प्रमाण, आमाबाबु, हजुरबुबाको नागरिकता र आफ्नो नागरिकता चाहिने उनले जानकारी दिए । गैरआवासीय नेपालीको नागरिकता वितरण शुरु भए पनि धेरै पाटाहरूमा छलफल जरूरी रहेको उनले बताए ।

एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नागरिकलाई नेपालको राजनीतिक अधिकारबाहेक सबै अधिकार दिइने भनिएको भए पनि अहिले बनिरहेका ऐन, नियमहरूमा गैरआवासीय नेपालीहरूले अत्यन्तै सीमित अधिकार दिन खोजिएको बताए ।

अधिवक्ता गोविन्द बेल्बासेले विदेशबाट गैरआवासीय नागरिकता लिनका लागि हालसम्म प्रष्ट व्यवस्था नभएको अनुभव सुनाउँदै गैरआवासीय नेपाली नागरिकतालाई अरू कानुनले कसरी चिन्छ भन्नेमा आशंका उत्पन्न गरे । अध्यागमन ऐनले गैरआवासीय नागरिकतालाई नचिनेमा गैरआवासीय नेपाली नागरिकता लिएकाहरूलाई विमानस्थलमा झमेला हुनसक्ने उनले संशय व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले वंशजको नागरिकताको निरन्तरताका लागि प्रवासी नेपालीहरू लाग्न पर्नेमा जोड दिए । गैरआवासीय नेपाली संघका मानिसहरूले कुरै राम्रोसित नबुझी नागरिकता लिएको उनको आरोप थियो ।

गैरआवासीय नेपाली संघ युकेका पूर्व संरक्षक शेर सुनारले प्रवासी नेपालीहरूलाई होडबाजीको पछि लागेर होइन राम्ररी बुझेर मात्र गैरआवासीय नेपाली नागरिकता लिन आग्रह गरे ।

ब्रिटेन नेपाल लयर्स एसोसिएसनका पूर्व अध्यक्ष ब्यारिष्टर देवेन्द्रसिंह श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानुनमा प्रष्टता ल्याउन अभियानकर्मीले जोड दिनुपर्ने सुझाव दिए ।

एसोसिएनका उपाध्यक्ष सोलिसिटर उत्तरमान तिगेलाले नेपाली नागरिकता ऐनको दफा १० हटाउन प्रवासी नेपालीहरूको अबको अभियान केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याए ।

गोरखा सत्याग्रह संयुक्त अभियानका संयोजक कृष्णबहादुर राईले आफूहरूले पूर्व गोरखाहरूको नागरिकताको निरन्तरताका लागि अदालतमा मुद्दा दायर गर्न लागेको र यदि त्यसमा सफलता पाएमा त्यसले गैरआवासीय नेपालीहरूलाई फाइदा नै पुर्याउने उनको भनाइ थियो ।

एसोसिएसनका अध्यक्ष सोलिसिटर दीपक भट्टराईको अध्यक्षता र सहजीकरणमा भएको सो कार्यक्रममा एसोसिएनकी सचिव सोलिसिटर जिनिता पन्धाकले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री