काउन्सिलरमा दिनेश खड्काको ह्याट्रिक

लन्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका काउन्सिलर दिनेश खड्काले इंगल्याण्डको मेडस्टोनबाट तेस्रो कार्यकालका लागि काउन्सिलर पदमा विजय हासिल गरेका छन् ।
हाइस्ट्रीट वार्डमा लिबरल डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका खड्काले ६५४ मत पाएर विजय हासिल गरेका हुन् । तीन जना काउन्सिलर निर्वाचित हुने सो वडाबाट लिबरल डेमोक्रयाटिक पार्टीकै क्लाइभ इङ्लिस ७४२ मतका साथ र ग्रीन पार्टीका डोन्ना ग्रीनान ५१४ मतका साथ निर्वाचित भइन् ।
खड्का पछिल्लो पटक गत वर्षको मेमा पनि ४ वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए, तर मेडस्टोन बरो काउन्सिलको सीमा परिवर्तनले गर्दा फेरि चुनाव गराइएको थियो ।
पेशाले खाद्य वैज्ञानिक तथा खाद्य विज्ञानमा पीएचडी पूरा गर्ने अन्तिम चरणमा रहेका खड्काले सहरमा स्वच्छ पर्यावरण, सबैका लागि हरियाली, स्थानीय वासिन्दाका लागि गुणस्तरीय आवास र यातायात सेवामा सहज सार्वजनिक पहुँचलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।
विगत ६ वर्षदेखि लिबरल डेमोक्र्याटिक पार्टीबाट निर्वाचित काउन्सिलरको रुपमा कार्यरत खड्काले आफ्नो कार्यकालमा स्थानीय सडक मर्मतसम्भार, सार्वजनिक मार्ग पुनः निर्माण, फोहोरमैला व्यवस्थापन, पैदल यात्रु क्रसिङ, पार्क मर्मत, बत्ती जडान जस्ता कामहरु पुरा गरेको बताए । “सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय कोलिस मिलेनियम ग्रीन ट्रस्टसंग समन्वय गरी लगभग ४०० बिरुवा रोप्नका लागि जमीन छुट्याउन सकेकोमा मलाई धेरै खुसी लागेको छ,“ खड्काले भने ।
केन्ट प्रहरीमा गएको १५ वर्षदेखि स्वयंसेवी सल्लाहकार साथै स्थानीय ट्रस्टको ट्रस्टीको रूपमा काम गरिसकेका खड्काले सन् २०१७ देखि स्थानीय बेलायती समाजसंग मिलेर होली पर्व मनाउन सुरु गरेका थिए ।
दाङ सतबरिया घर भएका खड्का राप्ती समाज युकेका अध्यक्ष पनि हुन् । उनले आफूलाई तेश्रो पटक काउन्सिलर पदमा निर्वाचित हुन सघाउने सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।
सो काउन्सिलमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन । कञ्जरभेटिभ पार्टीले १३, लिबरल डेमोक्रयाटले १२, ग्रीनले १०, लेबरले ६ र स्वतन्त्रले ६ स्थान जितेका छन् । सो काउन्सिलमा बहुमत हासिल गर्न २५ सिट जित्नुपर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री