लण्डन । करिब तीन दशकदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएका राजनीतिक तथा सामाजिक अभियन्ता आङकल्जङ लामाको मे १५ का दिन ५७ वर्षको उमेरमा हृदयाघातबाट नेपालमा निधन भयो । दोलखा जिल्ला साविक श्यामा गाविस (हालको जिरी नगरपालिका) पुम्पामा जन्मेका लामा विद्यार्थीकालदेखि नै राजनीतिमा जोडिएका थिए । उनी सरस्वती बहुमुखी क्याम्पसको स्ववियू सभापति बनेका थिए भने बेलायत आएपछि पनि विभिन्न राजनीतिक, सामाजिक संघ संस्थाको विभिन्न जिम्मेवारीमा बसे । आत्मप्रचार र पदलोलुपताबाट टाढै बस्न रुचाउने, सरल जीवनशैली अपनाउने लामाले बेलायतको नेपाली समाजमा महत्वपूर्ण योगदान दिएको उनीसित विभिन्न कालखण्डमा विभिन्न संस्थामा सहकार्य गरेका सहकर्मीहरुको मूल्याङ्कन छ ।
हकार्न खोज्ने नै मित्र बने
यति नेपाली एसोसिएनले साउथ इलिङमा आयोजना गरेको एक कार्यक्रममा एक जनाले नेपाल सरकारको विरोधमा पर्चा छरेर सुटुक्क निस्कियो । ध्रुव केसी थिए आयोजक यतिका महासचिव । आफूहरुले आयोजना गरेको कार्यक्रममा कसैले यसरी सरकारकै विरोध गरेर पर्चा छर्दा कसलाई रिस नउठ्ला र ? केसी रिस जंगिए । छानविन गर्दै जाँदा त्यसरी पर्चा छर्ने व्यक्ति ठहर भयो आङकल्जङ लामा । अब केसी लामालाई खोज्न धुइँपाताल लागे । भेटेर झपार्ने उनको उद्देश्य थियो । तर जब लामासित भेट भयो उनीहरु त जीवनभरका लागि मित्र पो बने । केसी भन्छन्, ‘जब उनले आफ्नो उद्देश्य, सिद्धान्त बताए, मलाई खुब मन पर्यो । उनी त सामन्तीले दिइरहेको दुःखबाट कसरी जनतालाई मुक्त गर्ने, सामन्तहरुलाई कसरी दण्डित गर्ने र जनतालाई अन्याय अत्याचारबाट मुक्त गर्ने अभियानमा पो रहेछन् ।’
यसरी भेट भएयता केसी र लामाको मित्रता लामा जीवित रहुञ्जेल करिब तीन दशक कायम रह्यो । बेलायतमा उनीहरुको घर पनि नजिक नजिक थियो । नेपालमा पनि केसी इन्द्रायणीस्थित घर जान लामाको बौद्धस्थित निवास हुँदै जान्थे । त्यति मात्र होइन उनीहरुको परिवार नै मित्र बन्यो । लामाले केही वर्ष केसीको व्यवसाय पनि सम्हाल्नु भयो । आफूले व्यवसायमा साझेदारीका लागि अनुरोध गर्दा पनि लामाले आफू कर्मचारीका रुपमा सन्तुष्ट रहेको भन्दै साझेदारी अस्वीकार गरेको स्मरण गर्दै केसी भन्छन्, ‘उहाँले व्यवसाय हेरिदिनुहुँदा आफू हुँदाभन्दा पनि बढी विश्वास लाग्थ्यो ।’
लामा अति इमानदार तर आफूले लिएको अडान र दिएको वचनमा जसले जे भने पनि अडिग रहने स्वभावको भएको केसी बताउँछन् । एमालेको राजनीतिमा सक्रिय लामाको बेलायतस्थित घरमा बास बसेका कैयौँ नेता मन्त्री र केही त प्रधानमन्त्रीसमेत भए । उनीहरु पदमा पुगेको बेला त केही व्यक्तिगत फाइदा पनि लिनु नि भनेर सुझाव दिँदा लामाले उल्टै ‘तपाइँले चिनेका पनि मन्त्री, प्रधानमन्त्री भए तपाइँले के फाइदा लिनुभयो’ भनेर प्रतिप्रश्न गर्ने गरेको र ‘आफू जे छु त्यसैमा सन्तुष्ट छु’ भनेर बताउने गरेको पनि केसीको भनाइ छ ।
एक महिनाअघि मात्र केसीले लामालाई नेपालमा भेटेका थिए । पछिल्लो समय लामा रियलस्टेटका साथै प्रिन्टिङ प्रेसमा पनि आवद्ध थिए । केसीको पनि आत्मकथा ‘ईन्द्रायणीदेखि बेलायतसम्म’ छाप्नु थियो । तर लामाले प्रेसका आफ्ना साझेदारहरुलाई आफ्नो मित्रको पुस्तक सहुलियतमा छाप्न आग्रह गरेनन् । केसीको भनाइमा लामामा आफ्ना साझेदारलाई हस्तक्षेप नगर्ने, अति सम्मान गर्ने स्वभाव थियो । राजनीतिक रुपमा एउटै विचारमा नभए पनि लामा र आफू दुवै बेइमानी मन नपराउने स्वभावका भएकाले जीवनभर साथी बन्न सकेको केसीको आत्मविश्लेषण छ ।
एक्लो एमाले !
डा कृष्ण उपाध्याय सन् २००२ मा बेलायत आउँदा आङकल्जङ लामा एक्लो एमाले थिए । कतिले उनलाई हेप्थे पनि । त्यस्तो बेलामा पनि उनी हतोत्साहित भएनन् । हुन पनि लामा बेलायतमा एमालेको तत्कालिन शुभेच्छुक संगठन नेपाल लोकतान्त्रिक मञ्च (एनडीएफ)को संस्थापक अध्यक्ष नै थिए । उपाध्याय बेलायत आएपछि शुरुमा सोही मञ्चमा लामालाई सघाए र केही समयपछि राजनीतिक रुपले निस्क्रिय भई पेशातर्फ लागे तर जब राजाले नेपालमा कु गरे त्यसको विरोधमा बेलायतमा सर्वदलीय रुपमा सोलिडारिटी नेपाल गठन भयो । जसमा उपाध्याय संयोजक र लामा महासचिव थिए । त्यसबेला सोलिडारिटी नेपालले नेपालमा राजाले सत्ता हत्याएकोमा अन्तर्राष्ट्रिय मञ्चहरुका लबिइङ गरेको थियो । ब्रसेल्समा नेपालीहरुले जुलुसै गरेका थिए । त्यतिबेला स्थानीय संयोजन लामाले गरेको उपाध्याय स्मरण गर्छन् ।
त्यसपछि उपाध्याय र लामा दुवै गैरआवासीय नेपाली (एनआरएन) युकेको अभियानमा लागे । उपाध्याय एनआरएनए युकेको सहसंयोजक र संयोजक भए भने लामा उपाध्यक्ष भए । एनआरएनलाई गोर्खा सैनिकहरुसम्म पुर्याउन लामा र स्वर्गीय डा चन्द्र लक्सम्बाको योगदान रहेको उपाध्याय बताउँछन् । बेलायतमा रहेका नेपालीहरुको संख्या पत्ता लगाउन नेपाली समुदायबाट गरिएको जनगणनामा लामाले महत्वपूर्ण योगदान दिएको उपाध्यायको स्मृतिमा ताजै छ । ‘त्यतिखेर युकेमा अहिलेजस्तो ठूलो संख्यामा नेपाली पनि थिएनन् । उहाँलाई धेरैको घर थाहा थियो । घरघरमा गएर उहाँले फाराम भराउनुभएको थियो’ उपाध्याय भन्छन् । आफूलाई ठीक लागेको सवाललाई लामो समयसम्म निरन्तर रुपमा उठाइरहने स्वभाव लामाको रहेको उपाध्याय स्मरण गर्छन् । एनआरएनलाई सबै संघसंस्थाहरु समेट्ने गरी काउन्सिलको अवधारणामा लानुपर्छ भनेर लामाले त्यतिबेला नै प्रस्ताव ल्याएको उपाध्यायको भनाइ छ । जो कालान्तरमा एनआरएनले अंगीकार पनि गर्यो । लप्पनछप्पन नगर्ने, शालिन, भलादमी र साधारण शैली लामामा पाएको उपाध्यायको विश्लेषण छ ।
आफू इतर विचारकाहरुसित पनि सम्पर्क गरिराख्ने गुण लामाको थियो । एनआरएनए युकेमा उनीसित काम गरेका सुरेन्द्र नेपाल श्रेष्ठ लामा र आफू फरक फरक विचारमा आवद्ध भए पनि कहिल्यै मनमुटाव नभएको बताउँछन् । उनी लामालाई एक जुझारु, कसैलाई नबिझाउने र वैचारिक रुपमा प्रतिवद्ध व्यक्तिका रुपमा सम्झना गर्छन् ।
शेर्पाको विश्व सञ्जाल बनाउने सपना
नाताले दाजु आङकल्जङ लामालाई दाबा सोनाम शेर्पाले सन् १९९९मा बेलायत आएपछि नजिकबाट चिन्न पाए । त्यतिबेला बेलायतमा नेपालीहरुकै संख्या अहिलेजस्तो थिएन । त्यसमाथि शेर्पाहरुको संख्या त करिब १०० को हाराहारीमा थियो । प्रवासमा आफ्नो सँस्कृति बचाउन उनीहरुलाई ठूलै चुनौती थियो । केही वर्ष व्यक्तिगत संयोजनमा ल्होसार मनाएपछि आङकल्जङ लामाले प्रस्ताव गरे संस्थागत रुपमा संगठित हुनका लागि । यसरी सन् २००३ मा शेर्पा संघ बेलायतको जन्म भयो र अध्यक्षका लागि आङकल्जङलाई नै प्रस्ताव गरियो । तर उनले पदमा लोभ गरेनन् । आफूभन्दा पाको उमेरका व्यक्तिलाई अध्यक्ष बनाउन उनले प्रस्ताव गरे र लेफ्टिनेण्ट काजी शेर्पा अध्यक्ष भए । आङकल्जङ उपाध्यक्ष र दाबा सोनाम कोषाध्यक्ष बने । त्यसको केही महिनामै काजी शेर्पा बेलायतको प्रहरी सेवामा प्रवेश गरेपछि आङकल्जङ अध्यक्ष बने । उनी तीन कार्यकाल शेर्पा संघ बेलायतको अध्यक्ष भए । दाबा सोनाम भन्छन्, ‘उहाँको कार्यकालमा धेरै काम पनि भयो । शेर्पा नृत्यको तालिम, शेर्पा भाषा कक्षा सञ्चालन भयो ।’ यसका साथै शेर्पा जातिको परिचय समेटिएको पुस्तक प्रकाशन गरियो भने नेपालमा बसिरहेका शेर्पाहरुलाई जागरुक बनाउन वेभसाइट बनाउन लगायतका पहल भयो ।
आङकल्जङ त्यतिमा मात्र रोकिएनन् । उनले युरोपमा बसोबास गर्ने शेर्पाहरुको संगठन बनाए । त्यसको उनी संस्थापक अध्यक्ष बने । शेर्पाहरुको विश्वव्यापी सञ्जाल बनाउने उनको सपना थियो । विश्व शेर्पा संघ गठन भएपछि उनी सचिव पनि बने । शेर्पा संघ बेलायतका पूर्व उपाध्यक्ष ङवाङ योन्तेन ग्याछो लामा शेर्पा लामाको कार्यकालमा शेर्पा संघ बेलायतको सम्पर्क र समन्वय बेलायतका अन्य समुदायसँग निक्कै फराकिलो गरी विस्तार भएको बताउँछन् ।
लामाकी एक श्रीमती र दुई छोरा छन् ।
बेलायतको नेपाली समुदायले गुमाएको एक व्यक्तित्व लामाप्रति हार्दिक श्रद्धाञ्जलि ।