गोमा रानाको ‘सात समुद्रपारिबाट’ चिहाउँदा

बेलायतको नेपाली समाजभित्र गोमा रानाको धेरै वटा परिचय छ । पत्रकार, मगर भाषा प्रशिक्षक, अभियन्ता, रक्षा मन्त्रालय मातहतको कर्मचारी, स्वयंसेवक, श्रीमती, दुई छोरीको आमा । तर पछिल्लो समयमा उनको परिचय अझै विस्तारित भएको छ साहित्यकारका रुपमा । साहित्यको विशाल वृक्षमा उनले समातेको हाँगो हो कविताको ।
हुन त जीवनमा कविता नलेखेको मानिस विरलै हुन्छ भन्ने भनाइ पनि छ नेपाली समाजमा । त्यसमा गोमा राना पनि अपवाद पर्दिनन् । उनको स्वीकारोक्ती छ विद्यालय जीवनमा नै उनले कविता लेख्न शुरु गरेकी हुन् । कति ठाउँमा वाचन गरिन्, कति पुरस्कार पनि जितिन् तर अफसोच ती कविताहरु जीवनमा आएका उताररचढावसँगै कता बिलाए बिलाए । लाहुरेसित विवाह, एक देशबाट अर्को देश बिरालोले बच्चा सारेजस्तै सर्दै बसाइँ हिँड्नुपर्ने, दुई छोरीको लालनपालन र शिक्षा दीक्षा, बुहार्तनले उनलाई पनि छ्याप्पै छोप्यो । भर्खरै पलाउँदै गरेको कवि पन र मनलाई सम्झने मौकै दिएन । अहिले छोरीहरु हुर्किए । उनलाई अलि फुर्सद भयो र फेरि फुकाउन थालिन् कविताको पोयो ।
यसैको उपज हो उनको हालै प्रकाशित ‘सात समुद्रपारिबाट’ कविता संग्रह । सो कविता संग्रहमा करिब ७० वटा छोटाछोटा कविताहरु संग्रहीत छन् । कविताहरुमा समेटिएका छन् गाउँघरको अवस्थाको चित्रण, श्रीमान लाहुरे हुँदा श्रीमतीहरुले खेपेको भोगाइ, लडाइँ (युद्ध) को गाथा र पीडा, समाजमा उल्लेखनीय कार्य गरेका सपुतहरुको कहानी, माया, प्रेम, आशा, निराशा आदि विविध विषय ।
दिवंगत बेलायती महारानी एलिजावेथ द्वितीयादेखि नेपालका प्रथम शहीद लखन थापा, नेपालीमा पहिलोपटक ग्रामोफोन रेकर्ड गर्ने मास्टर मित्रसेन थापामगर, भिसी तक्मा पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापा, पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी, साहित्यकार पारिजातदेखि आफ्नै ससुरा (मगर समाजमा पुसै भनिन्छ) को स्मृतिमा लेखिएका कविता यस संग्रहमा छन् ।
स्वभावैले महिलाका बारेमा पनि उनको कलम चल्ने नै भयो । उनीहरुले भोगिरहेको सास्ती, अन्याय, विभेदका बारेमा पनि कविता संग्रहमा पढ्न पाइन्छ । करिब एक दर्जन कविता नारीका कथा, व्यथा र सवल पक्षका बारेमा कोरिएका छन् । त्यसमाथि कवियत्री गोर्खाली महिला भएकाले गोर्खाली महिलाका वेदना कविता संग्रहबाट छुट्ने कुरै भएन । सो कविता संग्रहमा समेटिएको ‘राइफलम्यानकी अर्धाङ्गिनी’ शीर्षकको कविताको केही अंश यस्तो छ ः
पन्ध्र वर्षको उमेर थियो
थाहै थिएन लाहुरे के हो
लाहुरेको मुख नदेखी
मागी विवाह भयो मेरो
विवाहको एक हप्तामा
श्रीमान् फर्के आफ्नै पल्टन
बाआमालाई छाडेपछि
मेरो आँशु बग्यो झन्झन्

काल्पनिकीभन्दा पनि धेरै आफ्नै भोगाइ, देखाइ र थोरै सुनाइ र पढाइमा आधारित भएर लेखिएका जस्तो लाग्छ उनका कविताहरु । ‘लाहुरेनी वेदना’ शीर्षकको अर्को कविताको केही अंश यस्तो छः
विहेको भोलिपल्ट पल्टन फर्के श्रीमान्
राम्ररी अनुहारसम्म केलाउन सकिनन्
खुलेर कुरा गर्नु त परको कुरा
श्रीमान्लाई पनि यस्तै यस्तै भयो होला
पोख्न नपाउँदा मनको कुरा

यी कविता अहिलेका नयाँ लाहुरेनीहरुका लागि असान्दर्भिक हुन सक्लान् तर सयौँ वर्षसम्म लाहुरे लाहुरेनीहरुले भोगेको एक जीवनको अंश हो यो ।
कवियत्री बेलायत निबासी र लाहुरे परिवेशमा करिब सिंगो जीवन गुजारेकोले होला सो समाजमा चलनचल्तीमा रहेका केही शब्द कवितामा परेका छन् जुन त्यो परिवेशबाहिरका पाठकका लागि नौलो हुनसक्छ । जस्तो नम्बरी । यो शब्द आम पाठकका लागि परिचित नहुन सक्छ । यस्तो शब्दको छोटो अर्थ र सन्दर्भ पनि पाद टिप्पणीमा खुलाइदिएको भए अझ राम्रो हुनसक्थ्यो ।
कवियत्रीको पहिलो कृति भएकाले हालसम्म लेखिएका र विभिन्न सन्दर्भमा रचना गरी वाचन गरिएका प्राय सबै कविता समावेश गर्न खोजिएको हो कि भन्ने कृति पढ्दा महसुस हुन्छ । भविष्यमा गोमा रानाबाट अझै स्तरीय, छानिएका कविताहरु पढ्न पाउने अपेक्षा भने अवश्य गर्न सकिन्छ ।

कृति : समुद्रपारिबाट
विधा : कविता
लेखक : गोमा राना
प्रकाशक : सुनिल राना
प्रकाशन वर्ष : सन् २०२४
मूल्य : ३५० रुपियाँ

प्रतिक्रिया

सम्बन्धित सामाग्री