बेलायतमा सुरू भयो तीनदिने ‘हाइक फर नेपाल’

लन्डन । बेलायतको ब्रेकन वेल्समा २६ जुलाईदेखि तीनदिने ‘हाइक फर नेपाल’ कार्यक्रम सुरु भएको छ ।

नेपाल र वेल्सको पर्यटन प्रवर्द्धनका लागि पोखरेली मञ्च यूके, वी विल राइज फाउन्डेसन र नेपाली समाज ब्रेकन वेल्सको आयोजनामा जुलाई २६, २७ र २८ तारिखसम्म हाइक फर नेपाल कार्यक्रम भइरहेको छ ।

कार्यक्रममा नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड यूके, एनआरएनए यूके, ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन, रामबजार सोसाइटी यूके र बगर भाइखलक यूकेको सहकार्य रहेको छ ।

नेपाली भिलेज यूकेका म्यानेजिङ डाइरेक्टर तथा नेपाली समाज ब्रेकन वेल्सका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभीओले बेलायतको शान्त र रमणीय वातावरण रहेको वेल्समा जारी कार्यक्रममा यस पटक बाक्लो सहभागिता रहेको बताउनुभयो ।

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट वेल्स पुग्ने स्थानीय क्याम्पिङ साइटमा आउटडोर क्याम्पमा बसेका छन् । जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ, लाइभ संगीत तथा डिजे शो र बालबालिकाका खेललगायत गतिविधि सञ्चालन गरिएका छन् ।

मेजर गुरुङले शनिबार २७ जुलाई बिहान साढे ९ बजे क्याम्प साइडमा भेला हुने, पौने १० देखि साढे १० बजेसम्म कार्यक्रम र सुरक्षाबारे संक्षिप्त जानकारी गराउने, साढे १० देखि साढे २ बजेसम्म लञ्च आफ्नै म्यानेजमा गर्ने तालिका रहेको जानकारी गराउनुभएको छ। यस्तै साढे ३ देखि साढे ५ मा नेपाली भिलेज वेल्स यूकेको भ्रमण, साढे ६ देखि पेय पदार्थ र विशेष करीसहितको डिनर, साढे ८ देखि साढे १० सम्म मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।

कार्यक्रममा सहभागीले तीन दिन दुई रातको प्रतिव्यक्ति ३० पाउन्ड शुल्क तिर्नुपर्नेछ । तर १२ वर्षमुनिका बालबालिकालाई भने नि:शुल्क व्यवस्था गरिएको छ । क्याम्प साइटमा नबसी हाइक र क्याम्प साइट प्रयोग गर्नेले ५ पाउन्ड शुल्क तिर्नुपर्ने पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमबार थप जानकारी आवश्यक परे मेजर खुशीमान गुरुङ एमभीओ, पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ, पवित्रा गुरुङ, जीवन गुरुङ र पोखरेली मञ्चका पूर्वअध्यक्ष मानप्रसाद गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री