दुर्लुङ समाज यूकेको १६औँ गृष्मकालीन बीबीक्यू तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न

लन्डन । दुर्लुङ समाज यूकेको १६औँ गृष्मकालीन बीबीक्यू तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

मिचेटस्थित तमु धीं भवनमा १७ अगस्ट २०२४ मा समाजको उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम समाजका अध्यक्ष कुलराज गुरुङ, संस्थापक अध्यक्ष नरजङ गुरुङ, एनआरएन यूकेका अध्यक्ष हित काजी गुरुङ र समाजका ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले संयुक्त रूपमा पानसमा दीप बालेर सुरु गरेका छन् ।

समाजका सचिव शक्तिमान गुरुङले सुरक्षा र स्वास्थ्यबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए । धरम बल गुरुङले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै स्वागत मन्तव्य राखेका थिए ।  समाजका संस्थापक अध्यक्ष नरजङ गुरुङ, पूर्वअध्यक्षहरू क्या. जीवन गुरुङ, जुवारीलाल गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले संस्थाको विषयमा शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष कुलराज गुरुङले कार्यक्रममा आर्थिक सहयोग र पेय पदार्थ प्रायोजन गर्नेहरूको नामावली वाचन गरेका सुनाएका थिए । उनले उपस्थित सदस्य तथा चेलीबेटी र ज्वाईंहरूलाई पनि धन्यवाद दिए ।

त्यसपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । जसमा रुविना गुरुङ र सुमी गुरुङको एकल नृत्यसहित सुमी, जरिना गुरुङ र सुजिता गुरुङको सामूहिक नृत्यले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । मणिराज गुरुङ र सचिन गुरुङले प्रवेश शुल्क र राफल ड्रको व्यवस्थापन गरेका थिए । सो अवसरमा समाजका नयाँ सदस्यहरू र पहिलो पटक उपस्थित भएका पाहुनालाई ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले खादा लगाएर स्वागत गरेका थिए ।

अन्त्यमा नेपालबाट आएका लोकदोहोरी कलाकारहरू राजन गुरुङ र कला लम्सालको प्रस्तुतिमा दर्शक झुमेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री