काठमाडौँ । छायांकन सकेर सम्पादनको क्रममा रहेको चलचित्र ‘कार्साङ्’ आगामी पुस २६ गते रिलिज हुने भएको छ ।
निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट पनि घोषणा गरेको हो । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन्, दयाहाङ राई र बेलायतवासी सिर्जना निङ्लेखु । दयाहाङ सुरुवालमात्र लगाएर उभिनुभएको छ । हिलो लागेको सुरुवालले उहाँ कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उहाँको रिसाहा अनुहारले उहाँ कसैलाई केही भन्दैहुनुहुन्छ जस्तो लाग्छ ।
छेउमा उहाँको श्रीमतीको भूमिकामा रहेकी सिर्जना हुनुहुन्छ । उहाँ रोइरहनुभएको छ । आँगनमा ग्यालिन लडेको छ । बिर्को खोलिएको ग्यालिनबाट भर्खरै केही पोखिएको छ । दया र सिर्जनाको भावभंगी र आँगनमा पोखिएको तरल पदार्थ हेर्दा त्यो रक्सी हो भन्ने आंकलन लगाउन सकिन्छ । छेउमा तीन चुली ढुंगा लगाएर बालिएको आगोले उहाँहरुले रक्सी पार्ने गरेको थप संकेत गर्छ ।
प्रहरीले अथवा सिनेमा दुई दशक अगाडिको माओवादी द्वन्द्वको समय हो भने तत्कालीन माओवादी कार्यकर्ताले रक्सी पोखिदिए । सोही क्रममा दयाहाङको झगडा उनीहरुसँग पर्यो । यसले उहाँहरुको जीविकोपार्जनको माध्यम नै रक्सी बनाएर स्थानीय बजारमा बेच्नु हो भन्ने बुझिन्छ ।
पृष्ठभूमिमा दुईवटा घर छन् । माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने यी घर र पात्रको पहिरनले बताएको छ । घरको माथिल्लो भागमा बाँसमा झुण्डाएको केही झुता मकैले उहाँहरूको कमजोर आर्थिक अवस्था संकेत गर्छ ।
माथिल्लो लेक वा हिमाली बस्तीमा दुःख गरेर बस्ने एक परिवारको कथा भन्ने संकेत यो पोस्टरले गरेको छ । पोस्टरले दयाहाङले यो चलचित्रमा गज्जवको गाउँले क्यारेक्टर निभाएको अनुमान लगाउन सकिन्छ । यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्तामात्रै छायांकन सकिएको थियो ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।
चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दै हुनुहुन्छ । सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नुभएको हो । उहाँ सिनेमाका निर्मातासमेत हुनुहुन्छ ।
गोविन्द बोहरा सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुनुहुन्छ । मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने सिनेमाको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर हुनुहुन्छ ।