सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्ज गरेका सुरेन्द्र र सुसनलाई राष्ट्रपति भवन शीतल निवासमा गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । उहाँहरूले सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो  । उहाँहरूले प्रस्तुत गरेको नृत्य ‘मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो। यो रेकर्ड नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो।

सुरेन्द्र र सुसनले भन्नुभयो, “हामीले यो कीर्तिमानी प्रयास हिमाली क्षेत्रको संरक्षण, जैविक विविधता र नेपालको पर्यटनको प्रवर्द्धनका लागि गरेका हौं।” उक्त प्रयासमा सुरेन्द्र र सुसनलाई विभिन्न कलाकार र फोटोग्राफी तथा भिडियोग्राफीको टिमले सहयोग गरेका थिए। फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिनुभएको थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड, र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा गरिएको यो कीर्तिमान कार्यक्रम गिनिज वर्ल्ड रेकर्ड्सका नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा सम्पन्न भएको हो।

नेपालको सांस्कृतिक धरोहर र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको यो प्रयासले देशको प्रतिष्ठालाई विश्वमा नयाँ उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री