न्यूयोर्कमा एनवाईसीनेपाल न्युज डटकम आरम्भ

न्यूयोर्क । अमेरिकामा रहेका नेपाली समुदायको गतिविधि र सवालहरुलाई प्रकाशन प्रसारण गर्ने उद्देश्यले न्यूयोर्कमा नेपाली भाषी सामुदायिक अनलाईन पोर्टल एनवाईसी नेपाल न्युज डटकम आरम्भ भएको छ ।

उक्त अनलाइनको आइताबार न्यूयोर्क सिटीको क्वीन्समा नेपाली महावाणिज्यदूतावासका कार्यवहाक महावाणिज्यदूत चक्र सुवेदीले उद्घाटन गर्नुभयो । समारोहमा नेपाली समुदायका अगुवाहरुका साथै न्यूयोर्कका एसेमब्ली मेम्बर तथा काउन्सिलम्यानका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

एवाईसी नेपाल कम्युनिटी मिडिया नेटवर्कले प्रकाशन गरेको यो मल्टीमिडिया अनलाइन न्यूयोर्कबाट प्रकाशन भएको पहिलो सामुदायिक मिडिया हो । उद्घाटन समारोहमा बोल्दै कार्यवहाक महावाणिज्यदूत सुवेदीले नेपाली समुदायका लागि सामुदायिक मिडिया सुरु हुनु अत्यन्त सकारात्मक भएको बताँउदै यो संचारमाध्यमले नेपाली समुदायको सशक्तिकरणमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाबाटै सन् १९६८ बाट सुरु भएको सामुदायिक संचारमाध्यमको अवधारणा ढिलै भए पनि न्यूयोर्कवासी नेपाली समुदायमा पनि सुरु हुनु सकारात्मक रहेको उनले बताए । कार्यवहाक महावाणिज्यदूत सुवेदीले समुदायको हितको लागि स्थापना भएको संचारमाध्यमसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाली भाषी आप्रवासी अधिकारवादी संस्था अधिकारका सहकार्यकारी निर्देशक नर्बदा क्षेत्रीले सामुदायिक संचारमाध्यमको धेरै महत्व रहेको उल्लेख गर्दै नेपाली समुदायमा देखा परेको विविध सवाल र सरोकारहरुलाई उठान गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकामा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा आप्रवासी सरोकारका बारेमा सजगता गराउँदै निर्वाचनमा सहभागिता बढाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो । मिडियाले सधैं निष्पक्ष भएर समाचारहरु प्रकाशन प्रशारण गर्नुपर्ने उहाँको धारणा थियो ।

उद्घाटन समारोहमा गैरआवसीय नेपाली संघ एनआरएन न्यूयोर्क च्याप्टरका कार्यवहाक अध्यक्ष छिरिङ शेर्पाले सामुदायिक मिडियाका महत्व रहेको भन्दै यसको निरन्तरताको कामना गर्नुभयो । यस्तै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका कार्यवहाक अध्यक्ष तुलबहादुर तामाङले एनवाईसीनेपाल न्युजले निष्पक्ष भएर आफ्ना सामाग्रीहरु प्रकाशन प्रशारण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्र्याग न्युमार्क ग्राजुयट स्कुल अफ जर्नालिजमका संचार निर्देशक जेहानगिर खत्ताकले न्युर्यो शहरमा मात्र झण्डै २०० भाषीका नागरिक रहेको भन्दै विविधतालाई अझ प्रवर्द्धन गर्न यो नेपाली भाषी अनलाइनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामुदायिक संचारमाध्यमले समुदायका मानिसहरुलाई नागरिक अधिकार, राजनीतिक अधिकार आदिमा राज्यसँग जोड्न सक्नुपर्ने बताउनुभयो । नागरिकलाई हरेक क्षेत्रमा सशक्तिकरण गर्नका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाली समुदाय पनि विस्तारै अमेरिकाको राजनीतिक, आर्थिक क्षेत्रको मूलधारमा प्रवेश गरिरहेकोले यसप्रकारका सशक्त संचारमाध्यमहरु आवश्यकता रहेको बताउनुभयो । उहाँले संचारमाध्यमको दिगोपना निकै चुनौतीपूर्ण रहेको भन्दै यसको लागि सामुदायले पनि सोच्चुपर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा आप्रवासी अधिकारवादी संस्था ड्रमका राजनीतिक निर्देशक जगप्रीत सिंह, डिस्ट्रक ३६ का एसेमब्ली मेम्बर जोरान मण्डानीको कार्यालयका संचार निर्देशक बन्जामिन वाल्कर, डिस्ट्रक ३० का एसेमब्ली मेम्बर स्टेभेन रागको कार्यालयका डिस्ट्रिक निर्देशक डोल्मा लामालगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरुले नयाँ प्रकाशन एनवाईसी नेपाल न्युजको प्रगतिको कामाना गर्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा एनवाईसीनेपाल न्युजका कार्यकारी सम्पादक लोकमणि राईले सामुदायिक संचारको आवश्यकता र दिगोपनाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै आप्रवासी समुदायले आफ्ना सरोकारका विषयहरु राज्यसँग प्रभावकारी ढंगले राख्न नसक्दा सरकारले पनि बेवास्ता गर्ने गरेकोले यस संचारमाध्यमले स्थानीय र राज्य सरकारबीच पुलको भूमिका खेल्ने उल्लेख गर्नुभयो । नेपाली समुदायलाई स्थानीय राजनीतिसंग जोड्न अपरिहार्य रहेको भन्दै राजनीतिक सशक्तिकरण आजको आवश्यकता रहेको राईले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी जनाउँदै नेपाली समुदायका अगुवाहरुले समुदायलाई सशक्तिकरण गर्न सामुदायिक संचारको आवश्यकता रहेकोले संचारमाध्यम र समुदाय सँगसँगै अघि बढ्नुपर्ने बताउनुभएको थियो । उक्त अवसरमा एनवाइसीनेपाल न्युजका प्रधानसम्पादक मोहनसिंह लामा र सम्पादक मच्छे गुरुङले अनलाईनको उद्देश्य र योजनाको बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री