हुण्डी गर्ने सिँगापुर प्रहरीका पाँच गोरखालाई जेल सजायँ

सिँगापुर प्रहरीको फाइल फोटो । तस्वीर घेट्टी इमेजेज

सिँगापुर । अवैधानिक तरिकाले पैसा विदेश पठाएको अभियोगमा सिँगापुर प्रहरीमा कार्यरत पाँचजना गोरखा सैनिकलाई जेल सजायँ सुनाइएको छ ।

सिँगापुरबाट प्रकाशित टुडे अनलाइनका अनुसार यसरी जेल सजायँ पाउनेहरूमा ४० वर्षीय सीताराम तामाङ, ३२ वर्षीय डीकबहादुर गुरुङ, ४३ वर्षीय गंगाप्रसाद राई, ४४ वर्षीय मिङमार शेर्पा र ३९ वर्षका अशोककुमार थापा रहेका छन् ।  उनीहरुलाई सेप्टेम्बर ५ मा सिँगापुरको अदालतले जेल सजायँ सुनाएको हो । गत फेब्रुअरीमा सिँगापुर गोरखा कन्टिन्जेन्ट क्याम्पभित्र अवैधानिक रूपमा नगद विदेश पठाउने कार्य भइरहेको जानकारी पाएपछि त्यहाँको वाणिज्य मामिला महानिर्देशनालयले अनुसन्धान शुरु गरेको थियो । मार्च २२ मा महानिर्देशनालयले क्याम्पभित्र छापा पनि मारेको थियो ।

सजायँ पाउनेहरूमा सबैभन्दा लामो सजायँ सीताराम तामाङलाई गरिएको छ । उनलाई पाँच महिना कैद सजायँ भएको छ । उनले करिब ३० करोड रुपियाँ सिँगापुर बाहिर पठाएको पाइएको छ ।

डीकबहादुर गुरुङलाई दुई साता जेल सजायँ भएको छ । उनले करिब १७ करोड रुपियाँ सिँगापुरबाहिर पठाएको पाइएको छ । गंगाप्रसाद राईलाई १० साता जेल सजायँ भएको छ । उनले करिब १० करोड रुपियाँ सिँगापुर बाहिर पुर्याएको आरोप छ ।

मिङमार शेर्पालाई सात साताको कैद सजायँ भएको छ भने अशोककुमार थापालाई चार साताको कैद सजायँ भएको छ ।

अदालतमा पाँचै जना भिडियोमार्फत उपस्थित भएका थिए । नेपाली दोभाषेमार्फत उनीहरुले कुरा राखेका थिए । उनीहरुलाई अग्रपंक्तिको ड्यूटीबाट हटाइसकिएको सिँगापुर प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरीले आन्तरिक कार्बाही गर्ने पनि बताइएको छ ।

प्रतीक तामाङ नाइके

सिंगापुर प्रहरीभित्रको गोरखा कन्टिजेन्टमा अवैध नगद कारोबार गर्ने नाइके भने प्रतीक तामाङ रहेको अनुसन्धानले देखाएको छ । सन् २००४ मा सिँगापुर प्रहरीमा भर्ती भएका तामाङ सन् २०२२ मा अवकाश पाएका थिए । उनले सन् २०२१ देखि गोरखा क्याम्पभित्र अवैध कारोबार शुरु गरेका थिए । उनैले सीताराम, गंगा र डीकलाई आफ्नो कारोबारमा सघाउन भर्ती गरेका थिए । प्रतीक सेवबाट अवकाश पाएपछि नेपाल फर्किएको र अनुसन्धानका क्रममा सम्पर्कविहीन रहेको बताइएको छ ।

प्रतीकका एजेन्टहरूले सिँगापुर गोरखाहरुभित्र कसको कति पैसा नेपाल पठाउनु छ पत्ता लगाउने र त्यति रकम प्रतीकले नेपालमा उनीहरूले भनेको व्यक्तिलाई बुझाउने गरेका थिए । सो बराबरको सिँगापुर डलर सीतारामको खातामा हाल्ने गरिएको थियो । सो डलर पछि प्रतीक वा प्रतीकले भनेको व्यक्तिलाई दिने गरिएको थियो । सीतारामको खातामा १११ वटासम्म कारोबार भएपनि सीतारामले नाफा भने कमाएको नपाइएको बताइएको छ ।

शुरुमा गंगाप्रसाद र डीकले पनि सीतारामलाई नै पैसा संकलन गरेर बुझाउने गरेका थिए तर केही समयपछि उनीहरुले आफैँ कारोबार गर्न थाले । गंगाप्रसादले अगष्ट २६, २०२२ र मार्च १२, २०२३ सम्ममा ३ लाख ८३ हजार ६०० सिँगापुर डलरको कारोबार गरेका थिए । डीकले भने प्रतीकका लागि काम गरेवापत १ हजार ७५० देखि २ हजार ४५० सिँगापुर डलर कमाएका थिए । पछि आफ्नै कारोबार शुरु गरेपछि उनले ४ लाख ९२ हजार ४०० सिँगापुर डलरको कारोबार गरेका थिए।

अवैधानिक कारोबारमा जोडिएका अशोक थापाले भने बेलायत र अष्ट्रेलियामा रहेका उनका आफन्तहरूलाई पैसा पठाउने गरेको पाइएको छ । उनले सिँगापुर प्रहरीमा रहेकाहरूबाट रकम संकलन गर्ने उनका आफन्तले सो बराबरको रकम नेपालमा भुक्तानी दिने गरेका थिए ।

मिङ्मा शेर्पाको हकमा भने उनकी श्रीमती पेमाले कारोबार गर्ने गरेका थिए । मिङमाको खाता उनकी श्रीमतीले चलाउने गरेकी थिइन् । सेप्टेम्बर २०२२ देखि मार्च २०२३ सम्ममा शेर्पाको खातामा १८३ वटा कारोबार भएको पाइएको छ । पेमा भने अहिले क्यानाडामा बसोबास गरिररहेको बताइएको छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री