बेलायत, अमेरिका र नर्वे भन्छन् – सुडानको चुनावमा ढिलाइ नेतृत्वको ‘असफलता’

लन्डन । बेलायत, अमेरिका र नर्वेले दक्षिण सुडानको चुनावमा दुई वर्षभन्दा बढी ढिला भएको भन्दै गम्भीर चासो व्यक्त गर्दै सङ्क्रमणकालीन सरकारको नेतृत्वको निरन्तरतालाई ‘असफलता’ को संज्ञा दिएका छन् ।

तीनै देशका सरकारले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ- ‘यो घोषणाले दक्षिण सुडानका नेताहरूले विश्वसनीय र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक वातावरण सिर्जना गर्न नसकेको निरन्तरको सामूहिक असफलतालाई दर्शाउँछ ।’ दक्षिण सुडानले सन् २०११ मा सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो तर त्यसको दुई वर्षपछि गृहयुद्धमा फसेको थियो । युद्धमा अनुमानित चार लाख व्यक्तिको मृत्यु भएको छ ।

सन् २०१८ मा भएको शान्ति सम्झौताले राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक माचारलाई एकै ठाउँमा ल्याएपनि संविधान लेखन र नयाँ संविधानपछिको देशको पहिलो निर्वाचन गराउने प्रयासमा पटक–पटक ढिलाइ हुँदै आएको छ । गत हप्ता किरको कार्यालयले संक्रमणकालीन सरकार विघटनका लागि आइतबारको समयसीमाभन्दा पहिले डिसेम्बरमा हुने भनिएको मतदानलाई थप दुई वर्ष पछाडि सार्ने घोषणा गरेको थियो ।

मन्त्रीपरिषद् मामिलामन्त्री मार्टिन एलिया लोमुरोले निर्वाचन संस्था र सुरक्षा क्षेत्र दुवैको सिफारिसको प्रतिक्रियास्वरुप यो समयावधि थप गरिएको बताउनुभएको छ । डिसेम्बरमा निर्धारित समयमा निर्वाचन हुन नसक्नुलाई तीनै देशले ‘राजनीतिक इच्छाशक्तिको कमी’ भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री