लेबनानमा इजरायली आक्रमण, कम्तीमा ४ सय ९२ को मृत्यु, १६ सय जना घाइते

बेरुत । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ ।

अरब मुलुकहरूले करिब एक वर्षयता नदेखिएको स्तरमा तीव्र भएको हिजबुल्लाहसँगको बढ्दो शत्रुताका लागि इजरायलको कडा निन्दा गरेका छन् । हमास र अन्य प्यालेस्टिनी लडाकूहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

हिजबुल्लाहले उसको तेस्रो वरियताको कमान्डर अली कराके जीवित रहेको बताएको छ । स्रोतका अनुसार राजधानीमा भएको आक्रमणले उनलाई लक्षित गरेको बताएपछि सुरक्षित स्थानमा गएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ३५ बालबालिका र ५८ महिलासहित चार सय ९२ जनाको मृत्यु भएको र एक हजार छ सय ४५ जना घाइते भएको जानकारी दिएको छ । स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री