नेपालमा ९ महिनामा भित्रिए ८ लाखभन्दा बढी विदेशी पर्यटक


काठमाडौँ । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उहाँले बताउनुभयो । सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्ट पाँच हजार छ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट सेप्टेम्बरमा चार हजार नौ सय १५ र अगष्टमा चार हजार आठ सय ५१ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४, सन् २०२१ को सेप्टेम्बारमा नौ हजार नौ सय सात र सन् २०१९ मा ९२ जार छ सय चार पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री