मोहन मैनालीलाई २०८० को मदन पुरस्कार

ललितपुर । मदन पुरस्कार गुठीले पत्रकार एवं लेखक मोहन मैनालीलाई २०८० सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।

ललितपुरको रातो बङ्गला स्कुलमा बिहीबार आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गर्नुभयो । गुठीको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा डा यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ ।

गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा डा यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो । ‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गर्नुभएका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो । मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसक्नुभएको छ ।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री