हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

हाइटी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट “आतङ्कित” भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको बताएको छ।

अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । “हाइटीको पोन्ट सोन्डे सहरमा बिहीबार भएको गिरोहको आक्रमणबाट हामी आतङ्कित भएका छौं”, संयुक्त राष्ट्र मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले एक विज्ञप्तिमा भन्नुभयो । “ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ, जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू थिए ।” “हाइटी प्रहरीसँगको गोली हानाहानमा दुई गिरोहका सदस्यसहित कम्तीमा १६ जना गम्भीर घाइते भएका छन्। आक्रमणमा गिरोहका सदस्यहरूले कम्तिमा ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ ।” “अधिकारीहरूले यस आक्रमणको द्रुत र गहन अनुसन्धान गर्नु, जिम्मेवारहरूलाई जवाफदेही बनाउनु र पीडित र उनीहरूका परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी गर्नु महत्त्वपूर्ण छ”, विज्ञप्तीमा भनिएको छ ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री