इजरायल–हमास युद्ध तत्काल रोक्न बेलायतको आग्रह


लन्डन । बेलायतले इजरायल–हमास युद्ध तत्काल रोक्न आग्रह गरेको छ । प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबीचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित बन्नुपर्ने र गाजामा युद्धविराम गरिनुपर्ने बताउनुभएको हो ।

गाजा युद्धको प्रभावले बेलायतमा पनि सामुदायिक सम्बन्धमा असर पारेको उहाँले बताउनुभयो । प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अकल्पनीय आक्रमणको एक बर्ष पुग्नुभन्दा एक दिन अगाडि आफ्नो धारणा राख्दै स्टार्मरले सन्डे टाइम्समा लेख्नुभएको छ, “यसले हाम्रो आफ्नै समुदायमा पनि विवाद सिर्जना गरेको छ ।”

अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी गर्दै आएको छ । पछिल्लो दुई हप्तामा लेबनानमा इजरायलले हमासको इरान समर्थित लडाकू समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमण र इरानले इजरायलमाथि प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रका कारण द्वन्द्व थप चर्किएको छ । स्टार्मरले ‘इरानी आक्रमणको सामना गर्न बेलायत इजरायलको साथमा उभिने’ बताए पनि उहाँले ‘अर्को पुस्तालाई आघात, अनाथ र विस्थापित गरेर राम्रो भविष्यको सुनिश्चितता नहुने बताउनुभयो ।

इजरायलले गाजामा हमासविरूद्ध चलाएको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ । दुवै पक्षको आक्रमणमा ज्यान गुमाएका व्यक्तिमध्ये अधिकांश सर्वसाधारण थिए ।

हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा लण्डनलगायत विश्वभरि युद्धविराम गर्न दवाव दिन विश्वका अधिकांश प्रमुख सहरहरूमा प्रदर्शन गरिएको छ । बेलायतस्थित धार्मिक सङ्घसंस्था तथा तीनका नेताहरूले पनि आइतबार सन् २०२४ को अगस्ट ७ (आक्रमणको एक बर्ष पुगेको दिन) जनताका लागि ‘सबै प्रकारका पूर्वाग्रह र घृणा’ लाई अस्वीकार गर्ने अवसर हुनुपर्ने बताएका छन् ।

यस्तै जर्मनी र फ्रान्सले पनि इजरायल–हमासबीच युद्धविराम हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री