बेलायतमा सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्टले मनायो दशैँ/तिहार

चक्र साम्पाङ्ग राई
आश्फोर्ड, केन्ट । बेलायतमा सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्टले विभिन्न कार्यक्रमसहित दशैँ/तिहार मनाएको छ ।

शनिबार ५ अक्टुबर २०२४ शनिबार सेन्ट साइमन हलमा वि.सं. २०८१ सालको दशैँ/तिहार संयुक्त कार्यक्रम आयोजना गरिएको हो । प्रमुख अतिथि स्थानीय मेयर काउन्सिलर लिन सडेर्डस, विशेष अतिथिमा वहालवाला सांसद सोजन जोसेफ र समाजका अध्यक्ष डम्मर लिम्बुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक पार्टीका प्रमुख वा प्रतिनिधि, नेपाल समाजका प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि र विशेष अतिथिले सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्ड केन्टले स्थानीय तहमा धेरै राम्रा-राम्रा च्यारिटेबल तथा सामाजिक कामहरु गरेको र आश्फोर्ड बरो काउन्सिललाई ठुलो सहयोग पुर्‍याएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । उहाँहरुले नेपाली भएर आफ्नो देश नेपालको सम्मान र सम्झनामा हरेक वर्ष नेपाली राष्ट्रिय चाड मानेकोमा खुसि व्यक्त गर्दै यो नेपालीपनको कार्यक्रममा उपस्थित हुन पाएकोमा नेपाली समाजलाई धन्यवाद दिनुभएको थियो ।

अध्यक्ष डम्मर लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव रामप्रसाद लिम्बुले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष मोहन लिम्बुले स्वागत मन्तब्य र उपाध्यक्ष तथा कार्यक्रम संयोजक बसुन्धरा नयोंग राईले कार्यक्रम सफल गराउन अहोरात्र खटिनुहुने समितिका सदस्य तथा सहयोगी र उपस्थित सम्पूर्णलाई धन्यवाद दिनभएको थियो ।

कार्यक्रममा राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, लगायतका थुप्रै जातिहरुले आफ्नो मौलिक तथा सांस्कृतिक गीत, नृत्यसहित विभिन्न नेपाली लोकगीत, नृत्य प्रस्तुत गरिएको थियो । नेपाली गोर्खालीहरुको खुकुरी नृत्य प्रमुख आकर्षक रह्यो ।

आश्फोर्डमा करिब १७ थरिका मानिसहरुको बसोबास रहेको छ र उनीहरुको आ-आफ्नै भाषा, धर्म, संस्कार, संस्कृति छन् तथापि समाजले हरेक वर्ष यसरी नै नेपाली दशैँ/तिहार संयुक्त कार्यक्रम गरी मनाउने गरेको छ । गत वर्षभन्दा यस पटक स्थानीयहरुको बाक्लो उपस्थितिले कार्यक्रम हल खचाखच भएको आयोजकले बताएको छ ।

कार्यक्रममा सहभागी कलाकारहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

समाजका उपाध्यक्ष दुर्गा पाङ्गमा लिम्बुको संयोजकत्वमा शुक्रबार १ नोभेम्बरमा पुन: सेन्ट साइमन हलमा देउसी/भैलो कार्यक्रम आयोजना गरेको जानकारीसमेत दिइएको छ ।

अपराह्न ४:४५ बजेबाट सुरु भएको कार्यक्रम राति ११:०० बजे समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री