एनआरएनएद्वारा पाँचथरका पहिरो प्रभावित १ सय ३४ परिवारलाई राहत वितरण

पाँचथर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँचथरको फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाका पहिरो प्रभावित १ सय ३४ परिवारलाई राहत वितरण गरेको छ ।

कोशी प्रदेश सभा सांसद मैया श्रेष्ठ लावतीको समन्वयमा एनआरएनएको सहयोगमा प्राप्त भएको राहत प्रभावित क्षेत्रमा पुगेर वितरण गरिएको हो । सांसद लावतीसहितको टोलीले फिदिम नगरपालिकाका ७५ र फालेलुङ गाउँपालिकाका ३९ घर परिवारलाई बिहीबार प्रभावित क्षेत्रमा पुगेर चामल, दाल, नुन, तेल र भुजियालगायत खाद्य सामग्री वितरण गरेको हो । याङवरक गाउँपालिकाका २० घर परिवार प्रभावितलाई शुक्रबार सम्वन्धित वडामा पुगेर राहत सामग्री उपलब्ध गराइने सांसद लावतीले बताउनुभयो ।

असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरको फिदिम, फालेलुङ, याङवरक र फाल्गुनन्द गाउँपालिकाका ५ सय भन्दा धेरै घरमा क्षति पुग्नका साथै सयौं रोपनी जग्गामा लगाइएको कृषिबाली नष्ट भएको छ ।

एनआरएनएले यसअघि काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर लगायत जिल्लामा समेत राहत सामग्री वितरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री