बेलायतमा महाकवि देवकोटा जयन्ती भव्यरूपमा मनाइयो

– कोमल मल्ल

लन्डन । बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले ११५औं महाकवि देवकोटा जयन्ती प्रवचन, गीतसङ्गीत प्रस्तुति, स्वागत सम्मान र कविता वाचन कार्यक्रमहरू गरी भव्यरूपमा मनाएको छ ।

वयस्ट लन्डन एकटनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अथितिको आसनबाट समारोहलाई सम्बोधन गर्नुहुँदै परिषद्का पदेन संरक्षक महामहिम कार्यवाहक नेपाली राजदूत विपीन दुवाडीले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्‍याउने काम महाकविले गरे जुन हाम्रा लागि गर्वको इतिहास हो भन्नुभयो ।

बेलायतमा नेपाली साहित्य विकास परिषद् यूकेले यसरी लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिहरू गरेर नेपाली भाषा साहित्यिको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भन्नुहुँदै कार्यवाहक राजदूत दुवाडीले साहित्य तथा सङ्गीत र प्रवचनको मिश्रण रहेको आजको देवकोटा जन्मजयन्ती कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा पुर्‍याउने बताउनुभयो । समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा.राघव प्रसाद धिताल ओबिईले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन् जसले भाषा साहित्यिको शिखर उच्च मात्र पारेनन् शिक्षामन्त्रीसमेत भएर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरी राष्ट्रको ख्याति र प्रभाव बढाएको उल्लेख गर्नुभयो ।

डा. धितालले बेलायतमा नेपाली भाषा, साहित्य, कलाजस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय रहेको बताउनुभयो । मन्तव्यका क्रममा प्रथम सचिव उद्वव न्यौपानेले भावुक हुँदै महाकवि देवकोटाको कारणले नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशहरूमाझ गनिने गरेको बताउनुभयो ।

परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरू तीव्रगतिले अगाडि बढाउँदै आएको उल्लेख गर्नुभयो ।

बेलायतमा नेपाली भाषा साहित्यको विकासका लागि झण्डै तीन दशकअघि नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना गरेर यहाँ रहेका सर्जकहरूलाई सिर्जन्शील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष मल्लले महाकविको असीमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरेर उभिन सकेको चर्चा गर्नुभयो ।

यसअघि स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्द्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको बताउनुभयो । कार्यक्रम सञ्चालन गर्नुहुँदै परिषद्का सहअध्यक्ष साहित्यकार गोकुल भण्डारीले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको बताउनुभयो ।

राष्ट्रिय गान, महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल, डा राघव धिताल, कवि ध्रुव केसीले नेपाली राजदूतावासबाट विशिष्ट आतिथ्य ग्रहण गर्नुहुने महामहिम कार्यवाहक राजदूत दुवाडी, प्रथम सचिव न्यौपाने र सैनिक सहचारी क.अनुप शाह र श्रीमती प्रार्थना शाहलाई ब्याज, खाता र पुष्प गुच्छाले स्वागत सम्मान गर्नुभएको थियो ।

समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन तथा महाकविका रचानाहरूमा धुन र द्यौसीभैली गीतहरु परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष बसन्त रायक्षत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानबाट प्रस्तुत गरिएको थियो ।

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कवितावाचन गर्ने कविहरूमा बसन्त रायक्षत्री, ध्रुव केसी, उद्धव न्यौपाने, मनोज अन्जान, गेकुल भण्डारी र कोमल मल्ल हुनुहुन्थ्यो ।

सहभागिता र सहयोगका लागि आभार प्रकट गर्नुहुँदै समारोहका सभापति अध्यक्ष श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबीई, डा. जनककुमारी धिताल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, सहअध्यक्ष गोकुल भण्डारी, सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार मदन थापा, उपाध्यक्ष बसन्तराय क्षत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, पूर्वकार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, पूर्वकार्यकारिणी सदस्य कोहिनूर मल्ल सितू खरेललगायतमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री