कुमाऊँ राज्यमा प्रवेश
सन् १७९०को हाराहारीमा वृहद एवं विशाल गोरखा साम्राज्यका सेना नायकहरुले उत्तराखण्ड प्रदेशको तत्कालीन कुमाऊँ राज्यमा दुई तर्फबाट प्रवेश गर्ने रणनीति तयार गरे । सो अनुसार गोरखाली फौजलाई दुई टोलीमा विभाजित गरियो । पहिलो टोलीको कमाण्ड बडाकाजी अमरसिंह थापा तथा हस्तदल चौतरियाले गरे । दोश्रो टोलीको नेतृत्व काजी जगजित पाण्डे तथा शूरवीर थापाले गरेका थिए । दुवै टोलीले एक साथ विशाल र बिकराल महाकाली नदीलाई पार गरेर दुई तर्फबाट कुमाऊँ राज्यको सरहदभित्र प्रवेश गरे ।
बडाकाजी अमरसिंह थापा र हस्तदल चौतरिया आफ्नो टोली लिई गङगोलीतर्फ बढे । काजी जगजीत पाण्डे र शूरवीर थापा आफ्नो टोलीका साथ चम्पावततर्फ लागे । गोरखाली फौजको कुमाऊँ राज्यमा आगमन भएको समाचार थाहा पाएपछि त्यहाँका राजा महेन्द्रचन्दले सो फौजलाई बाटोमा रोक्न गङगोलीतर्फ आइपुगे । त्यस्तै कुमाऊँ राज्यका तत्कालीन दीवान लालसिंह पनि आफ्नो फौज लिई चम्पावततर्फ लागे । दुवै मोर्चामा गोरखाली तथा कुमायूँ राज्यका फौजको बीच घमासान युद्ध भयो । गङगोलीमा राजा महेन्द्र चन्दको फौजले गोरखाली अमर सिंह थापाको फौजलाई पछि फर्किन बाध्य गर्यो । तर चम्पावतमा दीवान लालसिंहको फौजलाई धेरै हानी नोक्सानी र ज्यान गुमाउनु पर्यो ।
फलस्वरुप लालसिंह चम्पावतको रणभूमि छोडेर तराईमा सुरक्षित ठाउँ खोज्नतिर लागे । सो समाचार थाहा पाएपछि राजा महेन्द्र चन्द पनि गङगोली छोडेर तराईतिर सुरक्षित ठाउँको खोजीमा हिँडे । उनले एक्लै गोरखाली फौजको विरुद्ध लड्ने हिम्मत गरेनन् । यस्तो स्थितिमा गोरखाली फौजलाई अघि बढ्नबाट रोक्नको लागि कुमाऊँ राज्यमा कुनै पनि स्थानीय शक्तिशाली सेना नायक तथा सेना अगाडी आउन सकेनन् । अतः गोरखाली फौजले सजिलैसँग सन् १७९० मार्च महिनामा कुमाऊँ राज्यलाई बृहद एवं विशाल गोरखा साम्राज्यमा समाहित गर्न सफलता प्राप्त गर्यो ।
गढवाल राज्यमा प्रवेश
कुमाऊँ राज्यमाथि गोरखाली फौजको शासन कायम भएपछि पन्डित हर्षदेव जोशी ज्यादै प्रसन्न भए । तर उनलाई आत्मसन्तुष्टी भएन । उनि गढवाल राज्यका राजा प्रद्युमन शाहको पतन पनि हेर्न चाहन्थे । कारण प्रद्युमन शाह र उनका भाइ पराक्रम शाहले महेन्द्रचन्द र मोहनचन्दको पक्ष लिएका थिए । अतः गोरखाली फौजका सेनानायकहरुलाई गढवाल राज्यमाथि हमला गर्न उक्साउन थाले । साथै काठमाण्डौ राजदरबारलाई गढवालमाथि हमला गर्न आदेश पत्र जारी गर्न लेखी अनुरोध पनि गरे ।
केही समयपछि काठमाण्डौको राजदरबारबाट बहादुर शाहले सेनानायकहरुलाई गढवाल राज्यमाथि हमला गर्न आदेश पत्र जारी गरे । सो अनुसार सेनानायक अमरसिंह थापाले गढवाल राज्यमाथि हमला गर्न तयारी गर्दै थिए । त्यसै समयमा नेपाल तिब्बतको (भोट) युद्ध शुरु भयो । गोरखाली फौजलाई गढवाल युद्ध स्थगित गरेर काठमाण्डौ फर्कन आदेश प्राप्त भयो । अतः केही समय सम्म गढवाल राज्यमाथि गोरखाली फौजको गतिविधिहरु रोकियो ।
पछि काठमाण्डौबाट अमरसिंह थापा सोझै कुमाऊँमा आईपुगे । सन् १८०४ जनवरी महिनामा खुरबुराको युद्ध भयो । सो युद्धमा राजा प्रद्युम्न शाहको रणस्थलमा मृत्यु भयो । जनरल अमरसिंह थापाले गढवाल राज्यका पूर्व राजा प्रद्युमन शाहको शवमाथि दोसल्ला ओढाई राजकीय सम्मानका साथ हिन्दु विधि विधानअनुसार दाहसंस्कारको सम्पूर्ण व्यवस्था मिलाई दिए । यसबाट स्थानीय जनतामा उनको धेरै प्रभाव पर्न गयो । पछि सन् १८०६ मा देहरादुन उपत्यका पनि बृहद एवं विशाल गोरखा साम्राज्यको अभिन्न अंग बन्न पुग्यो । यसरी अत्यन्त छोटो अवधिमा गोरखाली फौजले कुमाऊँ, गढवाल तथा देहरादुन उपत्यकामा गोरखालीहरुको शासन व्यवस्था कायम गर्न सफलता प्राप्त गर्यो ।
हर्षदेव जोशीको भूमिका
पण्डित हर्षदेव जोशीले कुमाऊँ, गढवाल तथा देहरादुनको आन्तरिक सैन्य तथा राजनीतिक जानकारीहरु गोरखाली सेनालाई उपलब्ध गराए । साथै त्यहाँको भौगोलिक र सामरिक सूचनाहरु दिए । यस्का साथै गोरखाली सेनालाई कसरी, कता र कुन बाटो घाटोबाट कुमाऊँ र गढवाल राज्यमा हमला गर्नु पर्दछ आदिको गोप्य सूचनाहरु दिए । फलस्वरुप गोरखाली फौजलाई गोरखा साम्राज्यको पश्चिम सरहद अलखनन्दा नदीको किनार पुर्याउन सजिलो भयो । साथै कुमाऊँ, गढवाल तथा देहरादुनमा गोरखा शासन प्रणाली सन् १७९० देखि १८१६ सम्म कायम गर्न गोरखालीहरु सफल भए । तर गोरखाली शासनबाट पन्डित हर्षदेव जोशीलाई कुनै व्यक्तिगत फाइदा भएन । अतः उनि ईष्ट ईन्डिया कम्पनी सरकारसंग मिल्न गए र उत्तराखण्ड प्रदेशबाट गोरखाली शासन व्यवस्थालाई बिस्थापित गर्न अङग्रेजहरुलाई उक्साउन थाले । गोरखाली शासन व्यवस्थाको कमी कमजोडी तथा गोप्य गतिविधि बारेमा अङग्रेजी फौजलाई जानकारी दिन थाले । यसै क्रममा कुमाँऊ राज्यका पूर्व दिवान तथा राजदरवारिया पण्डित हर्षदेव जोशीले आफ्ना नाता गोता छरछिमेकी, स्थानिय प्रभावशाली व्यक्तित्व तथा गोरखाली फौजमा कार्यरत रहेका केही स्थानीय कुमाँउनी एवं गढवाली युवाहरुलाई समेत निरन्तर चिट्ठीपत्रहरु पठाउन थाले । सो चिट्ठीपत्रहरुमार्फत कुमाँऊ, गढवाल तथा देहरादुनबाट संधैका लागि गोरखा शासन एवं प्रशासनलाई विस्थापित एवं हटाउन ईष्ट इण्डिया कम्पनी सरकारको अङ्ग्रेजी फौजलाई सक्दो मद्दत, सहयोग र समर्थन गर्न गराउन आह्वान गर्न थाले । सोही चिट्ठीपत्रको आधारमा कतिपय कुमाँउनी र गढवाली युवा सैनिकहरुले गोरखालीहरुको फौजलाई परित्याग गरेर अङ्ग्रेजी फौजसंग मिल्न आए ।
पण्डित हर्षदेव जोशीको उमेर ७० वर्ष भन्दा पनि बढी भइसकेको थियो । यस्तो ढल्किएको उमेरमा पनि पण्डित हर्षदेव जोशी राज्य सत्ता, राज्यशक्ति, राजकीय पद तथा राजकीय सुख सुविधा पाउनुका लागि भौंतारिरहेका थिए । उनी गोरखालीहरुको शासन पद्दति एवं व्यवस्थालाई हटाएर ईष्ट ईण्डिया कम्पनी सरकारको अङ्गे्रजी शासन सत्ता कुमाँऊ, गढवाल तथा देहरादुनमा स्थापित गर्न गराउन लागि परेका थिए । यसै क्रममा अङ्ग्रेजी सेनाका कप्तान हेरसीले पण्डित हर्षदेव जोशीलाई कुमाऊँ राज्यको “अलवारविक” विद्वान राहुल सांस्कृत्यानले “चाणक्य” तथा अङ्ग्रेज प्रशासन एटिक्सनले “देशद्रोही” समेत भनेर आ—आफ्नो कृति वा रचनाहरुमा उल्लेख गरेको पाइन्छ ।
गोरखा शासन (सन् १७९०—१८१६)
सन् १७९० को मार्च महिनामा कुमाऊँ राज्य विधिवत वृहद एवं विशाल गोरखा साम्राज्यको अभिन्न अङ्ग बनिसकेको थियो । त्यस्तै सन् १८०४ मा गढवाल राज्य तथा सन् १८१६ मा देहरादुन जनपद पनि सजिलैसंग बृहद एवं विशाल गोरखा साम्राज्यमा गाभिन पुगेको थियो । यसरी सन् १७९० को मार्च महिनादेखि सन् १८१६ को ४ मार्च सम्ममा कुमाऊँ, गढवाल तथा देहरादुनमा गोरखा शासन पद्दति कायम रहेको थियो । अर्थात जम्मा २५ वर्षसम्म हालको उत्तराखण्ड प्रदेशमा गोरखा साम्राज्यको आधिपत्य रहेको इतिहासको पानामा उल्लेखित छ । त्यसपछि ईष्ट ईण्डिया कम्पनी सरकारको अङ्ग्रेजी फौजले गोरखा शासन प्रशासन व्यवस्थालाई विस्थापित गरेर अङ्ग्रेज सरकारको शासन सत्ता कुमाऊँ, गढवाल तथा देहरादुनमा क्रमशः स्थापित गर्यो । अङ्ग्रेज सरकारको औपोनिवेशिक एवं साम्राज्यवादी शासन सन् १८१६ को मार्च ४ देखि सन् १९४७ अगस्त १५ सम्म कायम रहेको थियो । सो शासनलाई हटाउन कुमाऊँ, गढवाल तथा देहरादुनका स्थानीय जनताले ठूलो संघर्ष, आन्दोलन, क्रान्ति तथा बलिदान गर्नु परेको थियो ।
देवभूमिमा अङ्ग्रेजहरु
ईष्ट ईण्डिया कम्पनी अङ्ग्रेजहरुको एउटा व्यापारिक संस्था थियो । सो कम्पनी व्यापार प्रवर्धनका लागि सन् १६०८ को २४ अगस्तमा भारतको गुजरात राज्य स्थित सूरत नगरमा आइपुगेको थियो । सोही कम्पनीले तिब्बत—भोट संग व्यापार गरेर नाफा कमाउनका लागि हिमवतखण्ड प्रदेशको सरहदसम्म पनि पुग्यो । तिब्बत भोट पुग्नका लागि कम्पनीलाई सुगम, फराकिलो तथा सजिलो बाटो घाटोको आवश्यकता थियो । तर हिमवतखण्ड प्रदेशको सम्पूर्ण व्यापारिक मार्ग, बाटो घाटोहरुमा २५ वर्षदेखि गोरखा साम्राज्यको सशक्त नियंत्रण एवं आधिपत्य थियो ।
त्यसै समयमा गोरखा साम्राज्यले आफ्नो पश्चिमको सरहदलाई काश्मीर राज्यसम्म पुर्याउने तरखरमा थियो । अतः हिमवतखण्डको देव भूमिमा अङ्ग्रेजहरुको प्रवेश तथा बिस्तारलाई रोक्न वा अवरुद्ध गर्न वृहद एवं विशाल गोरखा साम्राज्य तथा शक्तिशाली गोरखा सैन्य सङ्गठन अभेद्य पर्खालको रुपमा उभिएको थियो । मुख्य तगारो थियो ।
तैपनि अङ्ग्रेज शासकहरु हिमवतखण्डको देव भूमिमा आफ्नो शासन सत्ता बिस्तार गर्न गराउन ज्यादै लालायीत एवं उत्सुक थिए । यस्का मुख्य कारणहरुमा ईष्ट ईण्डिया कम्पनीको व्यापार बिस्तार, प्रवर्धन, अङ्ग्रेजी औपनिवेशिक शासनको प्रसार, हिमवतखण्ड प्रदेशको प्राकृतिक एवं मनमोहक भूमिको आकर्षणहरु थिए । यसै भूमिमा टेकेर काश्मीर तथा अफगानिस्तान राज्यसम्म अङ्ग्रेजी साम्राज्यको बिस्तार गर्ने गराउने सपना र सोचाई पनि अङ्ग्रेज सेना नायकहरुको थियो ।
प्रचार युद्ध
विगतका अङ्ग्रेज—गोरखा युद्धहरुमा गोरखा सैनिकहरुको पर्वतीय युद्धकला कौशलता, क्षमता तथा एक्कासी शत्रु माथि जाइलाग्ने, आक्रमण गर्ने दक्षता र रणभूमिमा अदम्य साहस आदिबाट अङ्ग्रेज सेनानायकहरु राम्रोसंग परिचित थिए । अतः पर्वतीय युद्धमा कुशल गोरखा फौजलाई केवल युद्ध गरेर पराजित गर्न ज्यादै गाह्रो छ भन्ने उनिहरुको निष्कर्श थियो । युद्धका साथै कतिपय अन्य कुटनीतिक प्रयासबाट मात्र गोरखा शासनलाई कुमाँउ,, गढवाल तथा देहरादुनबाट विस्थापित गर्न सकिन्छ भन्ने अङ्ग्रेज सेना नायकहरुको निर्क्यौल थियो । अतः अङ्ग्रेज सेनानायकहरुले गोरखा फौजको विरुद्ध युद्ध गर्नुभन्दा पहिले प्रचार युद्ध शुरु गरेको पाइन्छ । यस क्रममा कुमाऊँ, गढवाल तथा देहरादुनका स्थानिय जनताको मनोवैज्ञानिक समर्थन, सहयोग एवं सहायता प्राप्त गर्न आवश्यक छ भन्ने अनुभव गरे । सोको लागि स्थानीय जनमानसमा गोरखा शासन प्रशासन एवं गोरखा सैन्य सङ्गठनको विरुद्ध विद्वेष, असन्तोष, विद्रोह एवं अराजकता फैलाउने खालका अफवाह प्रचार तथा संचारहरु गर्न गराउन थाले । भनिन्छ अङ्ग्रेजहरुले स्थानीय लोकगीत, लोककथा, उखान टुक्का एवं लोकोक्तिहरु मार्फत पनि गोरखा शासन सत्ताको बारेमा नकारात्मक सन्देशहरु फैलाउन थाले ।
यसै क्रममा अङ्ग्रेज सरकारले सन १८१४ को १४ डिसेम्बरमा एउटा विज्ञप्ति पनि विधिवत रुपमा जारी गरे । सो अनुसार कुमाऊँ, गढवाल तथा देहरादुनबाट सँधैका लागि गोरखाली शासन सत्तालाई हटाउन र अङ्ग्रेज सरकारको शासन कायम गर्न गराउन स्थानीय जनताले सक्दो सहयोग तथा मद्दत गर्ने गराउने अपील गरेका थिए । अङ्ग्रेज सरकारको शासन सत्ता एवं आधिपत्य कायम भएपछि स्थानिय जनताको मौलिक हक, अधिकार तथा सुरक्षा कायम गरिनेछ भनेर बाचा पनि सो विज्ञप्तिमार्फत अङ्ग्रेज सरकारले गरेको थियो । स्थानीय जनताबाट मनोवैज्ञानिक सहयोग, समर्थन र सहायता पाउनका लागि प्रचार युद्ध कलामा अङ्ग्रेजहरु ज्यादै सिपालु थिए ।
वास्तवमा अङ्ग्रेज सैन्य सङ्गठनमा ईतिहासकार, प्रत्यक्षदर्शी, पर्यवेक्षक, लेखक तथा चित्रकारहरुको समेत संलग्नता हुन्थ्यो । अङ्ग्रेज सैन्य सङ्गठनको जुनसुकै ठाउँ वा प्रदेशमा आवागमन (मुभमेन्ट) हुन्थ्यो, त्यहाँको सम्पूर्ण सांस्कृतिक, सामाजिक तथा सामरिक अवस्था एवं गतिविधिहरु बारेमा पहिले नै सूचनाहरु संकलन गर्दथे । सो सूचनाहरुको विश्लेषण गरेर प्रचार नीति र सामरिक रणनीतिहरु तयार गर्दथे । उदाहरणका लागि अङ्ग्रेज सेनाका जनरल अक्टरलोनीले गोरखा सेनाका जनरल अमरसिंह थापाका परिवारसंग “मित” को सम्बन्ध समेत गाँसेका थिए । यसबाट थाहा हुन्छ अङ्ग्रेज सैन्य सङ्गठनले आफ्नो दुश्मन सैनिकहरुको सांस्कृतिक, सामाजिक एवं सामरिक अवस्था बारेमा गहिरो अध्ययन गर्दथे । आज भोलि “मित गाँस्ने” साँस्कृतिक चलन नेपाली समाजमा लोपोन्मुख अवस्थामा छ । यस सामाजिक विशिष्टतालाई पुनः जागृत गर्नु पर्दछ ।
गोरखा प्रचार नीति
अङ्ग्रेज सैन्य संङ्गठनको तुलनामा गोरखा सैन्य सङ्गठनले प्रचार युद्ध, प्रोपगण्डा, अफवाह तथा संचार आदिलाई केही कम महत्व दिएको पाइन्छ । प्रायः गोरखा सैन्य सङ्गठनले दायाँ बायाँ हेर्दैनथे । शत्रुलाई पराजित गर्ने, कायल गर्ने तथा तोकिएको लक्ष्यलाई (तारगेट) समयमा फत्ते गर्ने, हासिल गर्ने प्रकृयामा गोरखा सैन्य सङ्गठनको ध्यान तुलनात्मक रुपमा बढी केन्द्रित हुन्थ्यो ।
गोरखा सैन्य सङ्गठनमा प्रत्यक्षदर्शी पर्यवेक्षक एवं लेखकहरुको संलग्नता अङ्ग्रेज सैन्य सङ्गठनभन्दा कम नै हुन्थ्यो । प्रायः गोरखा सेना नायकहरुको युद्ध स्थलको प्रतिवेदन, जाहेरी, राज दरबारको आदेश, निर्देशन, हुकुमनामा तथा विदेशी दूतहरुसंग गरिएको लेखापढीको आधारमा ऐतिहासिक दस्तावेजहरु तयार गर्ने गराउने चलन गोरखा सैन्य सङ्गठनमा बढी थियो । ताम्रपत्र, स्मृति स्मारक, शिलालेख, दन्तकथा तथा बुढापाकाहरुको मौखिक विवरण आदिको आधारमा पनि ऐतिहासिक दस्तावेजहरु तयार गर्ने प्रचलन गोरखा सैन्य सङ्गठनमा बढी थियो भनेर केहीको भनाइ रहेको छ ।
फलस्वरुप अङ्ग्रेज—गोरखा युद्धको घटनाहरु बारेमा अधिकांश ऐतिहासिक दस्तावेज, प्रतिवेदन गजेट, पुस्तक, साहित्यहरु प्रायः अङ्ग्रेज इतिहासकार तथा प्रत्यक्षदर्शी पर्यवेक्षकहरुबाट तयार गरिएको पाइन्छ । उक्त कृतिहरुमा अङ्ग्रेज सरकारको औपोनिवेशिक एवं साम्राज्यवादी छाप एवं प्रभाव हुनु स्वभाविक नै छ । उनिहरुले गोरखाली शासन प्रणालीलाई होच्याएर, अवैज्ञानिक र असभ्य देखाउने प्रयास गरेको पाइन्छ । साथै अङ्ग्रेजहरुको शासन सत्ता एवं पद्दतिलाई परिष्कृत, उत्कृष्ट एवं उच्चस्तरको थियो भनेर देखाउन चाहन्थे । यसरी स्थानीय जनताको मनोवैज्ञानिक समर्थन प्राप्त गर्ने सतत् प्रयास अङ्ग्रेहरुले गर्ने गर्दथे ।
गोरखा पराक्रम
अधिकांश अङ्ग्रेज इतिहासकार, लेखक तथा प्रत्यक्षदर्शी पर्यवेक्षकहरुले गोरखाली सैनिकहरुको पराक्रम, युद्ध कौशलता, दृढ ईच्छाशक्ति, वीरता, साहस तथा शौर्यताको धेरै प्रशंसा एवं सरहाना गरेको पाइन्छ । वास्तवमा उनीहरु गोरखाली सैनिकहरुको पर्वतीय युद्धकला, कौशलता तथा रणनीतिहरुबाट ज्यादै प्रभावित थिए । अकस्मात शत्रुमाथि जाई लाग्ने (हमला वा चार्ज) रण कौशलताबाट अङ्ग्रेज सैनिकहरु भयभीत रहन्थे । कतिपय अङ्ग्रेज सेना नायकहरु भयभीत भएर युद्ध स्थल छोडेर भागेका घटनाहरु पनि छन् ।
यसै क्रममा ईष्ट ईण्डिया कम्पनीका गभर्नर जनरललाई हेस्टिङ्गले गोरखाली सैनिकहरुको देशभक्ति एवं राष्ट्रभक्ति बारेमा धेरै गुणगान र तारिफ गरेको पाइन्छ । अङ्ग्रेज—गोरखा युद्धहरुमा वीरगति पाउने आफ्नै शत्रु गोरखाली सैनिकहरुको सम्मान र सम्झनामा अङ्ग्रेज सरकारले ठाउँ ठाउँमा स्मृति स्मारक, स्तम्भ एवं शिलालेख आदि निर्माण गरे । सो स्मारकहरु आज पनि उत्तराखण्ड र हिमाञ्चल प्रदेशको कतिपय ठाउँहरुमा देख्न सकिन्छ । सम्भवतः विश्वको ईतिहासमा यो पहिलो उदाहरण होला । जहाँ शत्रु सैनिकको शौर्यता, वीरता तथा पराक्रमको प्रशंसा, सम्झना तथा सम्मानमा स्मृति, स्मारक र शिलालेखहरु स्थापना गरियो । यसरी अङ्ग्रेज सरकारले गोरखालीको “गौरवगाथा”लाई विश्वभरिमा प्रचार अथवा अमर बनाई दिएको पाईन्छ ।
नकारात्मक सन्देश
कुमाऊँ, गढवाल तथा देहरादुनमा गोरखालीहरुको शासन पद्दति के कस्तो स्थिति, परिस्थिति तथा अवस्थामा स्थापित हुन आयो । सो पृष्ठभूमि बारेमा अङ्ग्रेज ईतिहासकार तथा प्रत्यक्षदर्शी पर्यवेक्षकहरुले विशेष विश्लेषण गरेको देखिँदैन । तर गोरखा शासन पद्दतिको केही कमी कमजोरी, त्रुटि एवं नकारात्मक पक्षहरु बारेमा धेरै बढाईचढाई आ—आफ्नो कृतिहरुमा वर्णन गरेको पाईन्छ । अधिकांश अङ्ग्रेज ईतिहासकार एवं लेखकहरुले गोरखा शासन पद्दतिलाई मध्यकालिन युगको शासन व्यवस्था थियो भनेर लेखेको पाईन्छ ।
इतिहासकार एटिक्शनले गोरखालीहरुको २५ वर्षे शासन पद्दतिलाई असभ्य, अशिष्ट तथा जंगल शासन प्रणाली थियो भनेर टिप्पणी गरेका छन् । गोरखालीहरुको न्याय प्रणाली बारेमा इतिहासकार ट्रेलरले अव्यवस्थित, अवैज्ञानिक, अव्यवहारिक तथा अन्यायपूर्ण थियो भनेर उल्लेख गरेका छन् । दण्ड सजायको परिपाटी पनि ज्यादै कठोर, अमानवीय, अत्याचारी एवं अराजक थियो भनेर उल्लेख गरेका छन् ।
इतिहासकार जे.वी. फ्रेजरले राजस्व दुरुपयोग गर्ने, सरकारी कर (टैक्स) छल्ने तथा जघन्य अपराध गर्ने स्थानिय निवासीहरुलाई गोरखा शासनले दासदासी बनाएर हरिद्वारको गोरखा चौकीमा बन्दी बनाएर सस्तो मूल्यमा बेचबिखन गर्ने चलन गोरखा शासनकालमा शुरु भएको थियो भनेर उल्लेख गरेको पाईन्छ । साथै दुई लाख स्थानिय दासदासीहरुलाई सस्तो मूल्यमा बिक्री गरेको विवरण पनि जे.वी. फेजरले लेखेका छन् । तर त्यस समयमा कुमाऊँ, गढवाल तथा देहरादुनको जम्मा जनसंख्या कति थियो सो बारेमा उनी मौन रहेको पाईन्छ ।
गोरखालीहरुको २५ वर्षे शासन पद्दति एवं शासन सत्तालाई कुमाऊँ राज्यमा “गोरख्याल” गढवाल राज्यमा “गोरख्याणी” तथा हिमाञ्चल प्रदेशमा “गोरखा शाही” भन्ने चलन थियो । स्थानिय जनमानसमा यी शब्दहरुको नकारात्मक सन्देशहरु प्रवाहित हुन्थ्यो ।
गोरखा शासनको सकारात्मक पक्ष
वास्तवमा कुमाऊँ, गढवाल तथा देहरादुनमा गोरखालीहरुको २५ वर्षे शासन पद्दती, प्रणाली एवं प्रशासन व्यवस्थाको कतिपय विशिष्टता, गुण, उपलब्धि, योगदान तथा रचनात्मक पक्षहरु थिए । सो ओझेलमा परेको छ । सर्वप्रथम गोरखा शासन प्रणालीले शान्ति सुरक्षाको बहाल गरे । प्रशासनिक एवं न्याय व्यवस्थामा सुधार गरे । स्थानीय विकाश एवं धार्मिक क्षेत्रको विकासमा ठूलो योगदान पुर्याए । पुरातात्विक, धार्मिक एवं ऐतिहासिक स्थलहरुको सरंक्षण र प्रवर्धनका कार्यहरुमा महत्वपूर्ण देन दिएको पाईन्छ । फलस्वरुप गोरखा शासनकालमा स्थानीय जनताले गोरखा शासन व्यवस्था तथा सैन्य सङ्गठनको विरुद्ध कुनै ठूलो एवं विशाल हिंसात्मक विरोध, विद्रोह, आन्दोलन र संघर्ष गरेको पाइँदैन । कुनै कुनै गोरखा प्रशासकको व्यक्तिगत आचरण एवं व्यवहारप्रति समय समयमा असन्तोष, विरोध एवं विद्रोह गरेको पाईन्छ । सो बारेमा खबर पाउन वा उजुरी पर्नासाथ राजदरबारले तुरन्तै निजलाई फिर्ता काठमाण्डौ बोलाउने उदाहरणहरु छन् ।
तर अङ्ग्रेजी शासनकालमा सन १८५७ को गदर हुनु भन्दा पहिले नै अङ्ग्रेज सरकारको विरुद्ध हिंसात्मक विद्रोह शुरु भएको पाईन्छ । उत्तराखण्ड प्रदेशको पहिलो स्वतन्त्रता सेनानी कालु सिंह महराको नेतृत्वमा कुमाऊँ तथा गढवालका युवाहरुले लोहाघाटस्थित अङ्ग्रेजहरुको सैनिक ब्यारेकमाथि भीषण हमला गरे । सो ब्यारेकमाथि आगजनी गरेर ध्वस्त समेत पारेका थिए । त्यस समयमा स्थानीय कुमाउनी एवं गढवाली युवाहरुको आक्रमणबाट अङ्ग्रेज सैनिकहरु भागम भाग गर्नु पर्यो । तर गोरखा शासन व्यवस्थामा सानातिना मसिना घटनाहरु बाहेक अरु कुनै यस्तो घटना घटेको उदाहरण पाईंदैन ।
निर्क्यौल
नेपाल सरकारले ईतिहासकार एवं अन्य विज्ञहरुको एउटा अध्ययन टोली गठन गरेर कुमाऊँ, गढवाल तथा देहरादुनमा गोरखालीहरुको २५ वर्षे शासन व्यवस्थामा गरिएका रचनात्मक योगदान बारेमा अध्ययन एवं अनुसन्धान गरेर दस्तावेज तयार गर्नु पर्दछ । यसबाट “गोरखा गौरव” को ईतिहास युवा पुस्ता तथा अन्य जिज्ञासुहरुलाई जानकारी हुने थियो ।
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।