चितवनको गुन्जनगरमा जन्मिएकी गायिका साबित्री गुरुङ (५४) गीत संगीतमा फेरि सक्रिय हुनुभएको छ । जागिर र पारिवारिक व्यस्तताले लामो समय पलायनजस्तै बनेकी साबित्रा आफ्नो सिर्जना र कलाकर्मलाई आँगल्दै आउनुभएको हो । करिब डेढ वर्षअघि लगालग ‘डोरीको फुन्दा…’, र ‘निभ्दैन आशाको दियो’, मौलिक सिर्जना पस्किएकी उहाँले यस वर्ष दर्शक/स्रोतालाई ‘दिउँला चिनो’ कौडा गीत ‘कोसेली’ दिनुभएको छ ।
गण्डकी प्रदेशमा प्रचलित रोधीं र विशेष कार्यक्रममा गाइने कौडा गीत साबित्री गुरुङ युट्युब च्यानलमा सार्वजनिक छ, जुन गीत झण्डै साढे चार लाख पटक भ्यूज गइसकेको छ । युनिक थापामगर र मञ्जु गुरुङले शब्द सिर्जना रहेको गीतमा साबित्रीलाई मठ्ठु गुरुङले आवाजमा साथ दिनुभएको छ । निभ्दैन आशाको दियो भने लोकप्रिय गायक कृष्ण थापामगर र साबित्रीको साझेदारी छ ।
वि.सं २०४६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभएकी साबित्री तीन दशकपछि गायनमा ‘कमब्याक’ हुनुभएको हो । हालसम्म उहाँले तीन दर्जन गीत गाइसक्नुभयो । गायनमा रहर र रस हुँदाहुँदै रोकिएको यात्रालाई जोड्नु भएकी साबित्रा पैसाका लागिभन्दा पनि आनन्दका लागि निरन्तरता दिएको बताउनुहुन्छ । ‘पैसा कमाउँला भन्ने त होइन, आफ्नो रहर र केही कृति गीत संगीतमा छोडिराख्ने उद्देश्यले व्यस्तै भए पनि यस क्षेत्रलाई निरन्तरता दिँदैछु,’ उहाँले भन्नुभयो ।
पुर्ख्यौली गोरखा जिल्ला थलाजुङ सिरानचोक भएकी साबित्रा हाल काठमाडौंमा परिवारसहित बस्दै आउनुभएको छ । गायिका साबित्रा गुरुङसँग गीतसंगीतको सेरोफेरोमा गरिएको कुराकानी ।
गायनमा फेरि सक्रिय हुन थाल्नुभए छ नि ?
प्राइभेट क्षेत्रमा ३५ वर्षजति जागिर गरेँ । त्यताको सर्कल र गृहस्थी जीवन सम्हाल्नुपर्ने भएकोले बीचमा गायन क्षेत्रलाई समय दिन सकिएन । सानैदेखि गीत गाउने भएकोले यो नसाजस्तै हो । बीचमा छाडिए पनि भित्री मनबाट गीत गाउने रहर हटेको थिए । अहिले रिटार्यड लाइफमा समयलाई सदुपयोग गरौं भनेर फेरि अघि बढेकी छु ।
पछिल्लो समय यहाँले कुन-कुन गीत बजारमा ल्याउनुभयो ?
केही महिना अघिमात्रै मैले कौडा गीत ‘दिउँला चिनो’ साबित्री गुरुङ युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छु । गत वर्ष रामप्रसाद गुरुङसँग मिलेर ‘डोरीको फुन्दा’, एकल प्रस्तुतिमा ‘सलल पानी डुंगैमा’, वरिष्ठ गायक कृष्ण थापामगरसँग मिलेर ‘निभ्दैन आशाको दियो’ गीत बनाएँ । कृष्ण दाइसँग २०४६ सालतिर पनि धेरै गीत गाइयो । उहाँसँग अथाह सिर्जनाहरु छन् । उहाँ गीतियात्राको दौंतरी पनि हो ।
यहाँले रेडियो नेपालमा स्वर परीक्षा पनि दिनुभएको थियो ?
२०४६ सालको वैशाखमा रेडियो नेपालमा स्वर परीक्षा दिएकी थिएँ । वैशाखमा स्वर परीक्षा दिएर साउनमा पास भएको रिजल्ट आयो । त्यस समयको बीचमा कृष्ण थापा दाइले एउटा गीत बनाउनुभएको थियो, ‘डुम्रे बजार’ । त्यो गीत मेरो पहिलो रेकर्ड हो । ए साइटमा गायिका सुमित्रा गुरुङ, कृष्ण दाइ र मैले गाएका थियौं ।
बी साइटमा रहेको ‘पीडा दिएर’ गीत रत्न बानियाँ, सुमित्रा गुरुङ र मैले गाएका थियौं । त्यो बेला उक्त गीत लाहुरे, लाहुर्नीहरुले खुब मन पराएको थियो । अहिलेजस्तो अर्काइभमा राख्ने चलन थिएन त्यतिबेला । क्यासेटको गीत हराइ जाँदोरहेछ । रेडियो नेपालमा पनि थुप्रै गीत गाएँ ।
यस्तै रत्न बानियाँ र कृष्ण दाइसँग रेडियोमा ‘पीपल बर खाँदा जिन्दगी गइसक्यो तिम्लाइ पर्खंदा’, तीर्थ गन्धर्व दाइको संकलनमा ‘पानीको तिरतिरे सधैं मलाई रोइ हिँड्नु परेको दुई दिनको पिरतीले’, लोकबहादुर क्षेत्री र नारायण रायमाझी दाइ, मिरा रानामगर दिदी र मैले ‘फूल झर्यो डाली उराठ, मनमा पीर हुन्छ नि सबैलाई मलाई जस्तो छैन नि कसैलाई’, ‘हिमालजंग भण्डारी र सुमित्रा गुरुङ अनि मैले ‘घरछोडी नौलो माया जाँदैछु टाढा, पठाउ चिठी नौलो माया यो मेरो नाउमा, तिमीबिना नौलो माया को छर यो गाउँमा,’ र पम्फा परियार दिदीसँग ‘मरें भने म सपनीमा आउँला, बाँचे भने म घर फर्कौंला’, इन्द्रजीत थापासँग ‘कहिलेको मेरो माया भैरहवा, कहिले पोखरा’, युक्त गुरुङ र इन्द्रजीत थापासँग ‘कति राम्रो जाल बुन्यो’, हरि विष्टसँग ‘खोटाङ रानीवन’ लगायत धेरै गीत गाएकी छु ।
यस क्षेत्रमा लाग्ने प्रेरणा केले गर्यो ?
गाउँले जीवनमा जन्मिएकीले बच्चामा गाउँघरमा हुने सत्यनारायण आजापूजा, विवाह, व्रतबन्ध, मेलापातमा गीत सुनिने र गाउने गर्थें । रेडियो नेपालबाट प्रसारण हुने चौतारी कार्यक्रममा बज्ने गीतबाट पनि मलाई गायनमा लाग्न प्रेरित गर्यो । अझ चितवनमा त लमजुङ, तनहुँ, धादिङ, म्यादी, स्याङ्जालगायत जिल्लाका मान्छेहरु बस्नुहुन्छ । आजापूजामा ठाडो भाका गाइन्थ्यो । त्यो सुनेँ । त्यसको प्रभाव पनि पार्यो । गाउनुभन्दा पहिले त स्कुलमा हुने कार्यक्रमहरुमा नाच्थें । विद्यालयमा जुनैसुकै कार्यक्रम भए पनि सर/म्याडमहरुले नाच्न लगाउनुहुन्थ्यो ।
त्यो बेलाका कालजयी गीत गाउने कलाकारहरुसँग कत्तिको संगत गर्नुभयो ?
तारा देवीलाई रेडियो नेपालमा भेटेकी थिएँ । झलकमान गन्धर्व दाइ, धर्मराज थापा, बुलु मुकारुङ सर, नातीकाजी, बासुदेव मुनाल, धन लामा, हरिप्रसाद रिमाल, शिवशंकर, फत्तेमान राजभण्डारी, पाण्डव सुनुवार, प्रवीण गुरङलगायत वरिष्ठ सर्जकहरुलाई पनि भेटेकी थिएँ । नारायण गोपालालाई चाहिँ देखादेखमात्रै भएको थियो ।
संगीतका दौंतरीहरुले निरन्तरता दिँदा तपाईंको संगीत यात्रा डिउटीका कारण छुटिएको हो ?
हो, डिउटी गरेपछि डिउटीको समयमा बाँधिनु पर्यो । घर गृहस्थी पनि हेर्नु पर्यो । टाइम नपाएर नै गीतसंगीतबाट टाढा हुनुपर्यो । रिटायर्ड लाइफलाई फेरि संगीतमा लगाउँ भन्ने हो । किनकि मेरो मन पर्ने क्षेत्र पर्यो नि गीत, संगीत । अरुले नि गरिरहनु भएको छ । मैले पनि यो उमेरमा आएर गीत गाएँ भने पुराना अन्य निष्क्रिय कलाकारहरुले जाँगर बढाउनु होला भन्ने लाग्छ ।
गीत संगीतमा लाग्न घर परिवारबाट कत्तिको सहयोग मिल्यो ?
पहिले मिलेन । त्यो बेला पनि जब गर्थें । लुकिलुकी नै गाउन जाने गर्थें । घरमा आमाले कहिल्यै गाउन दिनुभएन । बुबा हुनुहुन्थेन । म सात वर्षको हुँदा बुबा बित्नु भएको रहेछ । मेरो बुवा भइदिनुभएको भए मलाई गाउन दिनुहुन्थ्यो होला जस्तो लाग्छ । आमाले यो क्षेत्रमा पटक्कै लाग्न दिनुभएन । मेरा साथीहरु घरमा बोलाउन आउनुहुन्थ्यो । म घरमै भए पनि आमाले ‘छैन, छैन’ भनेर फर्काइदिनुहुन्थ्यो । तर, आमा आफैं पनि मनमा ताना चलेको बेला घरमै गीत गुनगुनाउनु हुन्थ्यो । आमाको स्वर अति मीठो थियो । त्यसबाट पनि मलाई गीत गाउने प्रेरणा मिल्यो ।
कर्मघरबाट चाहिँ कस्तो साथ पाउनुभयो ?
अहँ ! त्यहाँबाट पनि पाइनँ । श्रीमान्ले सिधैं नगर त भन्नुहुन्थेन । तर नगाइदिएदेखि हुन्थ्यो भन्ने उहाँको मनोभावना बुझेर गाइनँ । अहिलेचाहिँ उमेर माथि गइसकेर होला । मेरो बानीबेहोरा पनि बुझ्नु भयो । बिग्रिने डर पनि भएन । अरुले गरिराखेका छन्, म पनि आफ्नो इच्छाअनुसार गीत गाउँछु भनेर कन्भिन्स गरी लागिरहेकी छु । मुख्य त, अहिले भाइहरुको पनि साथ छ । भाइले, ‘गाउ दिदी । अगाडि आउनुपर्छ । आफूलाई गुम्साएर नराख,’ भने । त्यसैले घर परिवारबाट समय निकालेर संगीतलाई निरन्तरता दिने कोसिस गरिरहेकी छु ।
अहिले गीत गाउनु, गाएपछि बजारसम्म लैजान गाह्रो भएको हो ?
चल्दापुर्ता मान्छेहरुलाई त सजिलो होला । तर हामीजस्तो उम्दो उमेरकालाई गाह्रो छ । कलामा उमेर, जातभात हुँदैन तर पनि टाइम, जाँगर पनि चाहियो । त्योभन्दा बढी नयाँ प्रविधिसँग परिचित हुनुपर्यो । संगीतमा पनि समय बलबान हुन्छ ।
गायनमा फर्कि फर्कि आउनुहुँदा तपाईंलाई यसले के दियो ?
मलाई गीतले आनन्द दियो । मनमा ताना चल्दा पनि म गीत गाउँछु । मनको दु:ख गीतले हरण गर्छ । दु:ख लागेमा म रुँदिनँ, गीत गुनगुनाएर आनन्द लिन्छु । जिन्दगीमा उतारचढाव भइरहन्छ । गीत भनेको भन्न नसकेको कुरा व्यक्त गर्ने माध्यम हो ।
कलाक्षेत्रका अविष्मरणीय क्षण छ ?
मेरो भाइले काठमाडौंको महाराजगन्जमा सञ्चालित दोहोरी साँझमा गाउन बोलाए । त्यसमा एक हप्ता जति गाएँ । अफिसबाट दोहोरी रेस्टुरेन्टमा जाने र बाँसबारीस्थित घरमा राति ११ बजे जानुपर्थ्यो । आमाले थाहा पाउँछ भनेर झ्यालबाट पस्नुपर्थ्यो । त्यसपछि छोडिदिएँ ।
गीतले पैसा दिएन तपाईंलाई ?
रेडियो नेपालमा गाउँदा त एउटा गीतको ३ सय रुपैयाँ पाउँथें । त्यो बेलामा कलाकारहरुसँग पनि पैसा हुँदैनथ्यो । प्राक्टिस गर्न ठाउँ पाउन पनि गाह्रो । अहिलेसम्म गीतले मलाई पैसा दिएको छैन । गीतबाट कमाएर खानुपर्छ भन्ने पनि छैन मलाई । स्रोता र दर्शकहरुको माया पाइरहे त्यही सन्तुष्टि हो ।
यस क्षेत्रमा निरन्तरता दिइराख्न के आवश्यक छ ?
गीत संगीतका लागि पैसा, लगनशीलता पनि चाहियो । प्रतिभा नभएकाले त लाग्ने कुरै भएन । नआत्तिने र नमात्तिने गरी लागिरहनु पर्छ र देश, स्रोता तथा दर्शकको चाहनाबमोजिम गीत पस्कन पनि सक्नुपर्छ जस्तो लाग्छ । माथि जानुभएका, कमाउनुभएका स्रष्टा, कलाकारहरुले नयाँ भाइबहिनीहरुलाई अगाडि बढ्न साथ दिनुपर्यो । अनि सरकारले पनि कला क्षेत्रको विकासका लागि उपयुक्त नीति, नियम बनाइदिनुपर्छ ।