टाइमबम र जीवनशैली

265417_10150241950363963_541360_o

आज अरु दिनको भन्दा धेरै फरक छ, फुर्ति र आनन्द आइरहेछ, किन हो थाह छैन । मलाई हर चिज लिउ लिउ जस्तो लागिरहेछ, मन प्रफुल्ल छ । मैले अनन्त सुख पाइराखेको छु । घरको हर एक काम गर्न म आतुर छु । मैले हरेक काम विना स्वार्थ नै गरे आज । पानी पिउंदा अलौकिक आनन्द भइरहेछ । चियाको एक एक घुट्कोले संजीविनीको भन्दा बढी अमृतको काम गरेको छ । तृष्णा, सपना केही छैन, सवै कुराले परिपूर्ण छु । राजा रहिष भन्दा मैले आफूलाई कम ठानेको छैन ।

लण्डन बाहिरको मौसम, निलो आकास !  सूर्यको प्रकाशले ए तिमीलाई कस्तो छ, धेरै दिन भयो नदेखेको भनेर बडो आत्मिय पाराले सोधेको जस्तो भयो । मलाई सधै खिस्याइरहने कुहिरोको छेउ टुप्पो देखिदैन । मलाई यसरी एक विहानै सुर्यको प्रकाशले यस्तो शिष्टाचार गरेर मेरो खुशीमा हातेमालो गरिरहेको छ ।

मेरो उद्यानमा आएर एउटा चराले ममा सबै निर्लज्जपन हटिसकेको, अव सवै मुस्कान लिएर वस्ने छ भनेर मेरो प्रतिपाद गरिरहेछ । आज तिम्रो खुशीले हामीहरू सवैलाई विभोर बनायो भनेर अरु मलाई आफन्त बनाए ।

मेरा वगैचाका फूलहरूले स्वागतम, आउ, के छ भनेर माया देखाए । तिम्रो आजको खुशीमा हामी पनि सम्मिलित छौ । हेर ! हामी त कोही एक ऋतुको लागि मात्रै जिउछौ, तैपनि त्यही नै धेरै छ । हामी खुशी छौं । जति जीवन छ, जस्तो छ खुशी हुनु नै हाम्रो सवैलाई प्रार्थना छ भनि मलाई हेरिरहे ।

मेरो कल्याणको निमित्त समस्त मेरा यी आफन्तहरूलाई फिकर हुदो रहछ । म कस्तो मुर्ख ! मैले कहिल्यै पनि यिनीहरूबारे विचार गरेको छैन । सूर्यको प्रकाशको वेदना, निलो आकाशको चाहना, चराको जीवन, फूलको दिनचर्या मलाई केही थाह छैन । सूर्यले निर्धा निमुखलाई तापको पीडा दिनुपर्दा र आफ्नो प्रकाशको सहि रुपमा उपयोग हुन नसकेकोमा, आकाशले हरहमेशा सफा भइ मानिसहरूलाई सकेको खुशी र सुखी हुन सिकाउदापनि कानमा तेल हाल्ने उपर, चराले शान्तिको लागि हर समय चिल्लाइ रहेर हर हमेशा कुकृत्यको साक्षी रहदा रहदै वाक्य भएर अनि फूलले आफ्नो वासनाको प्रेम र भातृत्वको प्रायश लातमारी जीबन जीउनेहरुप्रति सम्झाउदै गरेका तथ्यहरु आदिवारे मैले कहिल्यै ध्यान पुर्‍याउन सकिन, मलाई सधै केही नभएको आतुरीको नाटक मात्रै गर्नु परिरहेको थियो ।

आजको मेरो दिन शुरु भयो यस्तो सधै हुने केही उपाय भए म हरेक कोशिस गरेर भए पनि त्यस उपाय सम्म पुग्ने थिए । हर शुभको जस्तै व्यायाम गरे, सधै भन्दा धेरै नै बढी, अरु पसिना झिकेर, अरु उत्साह बढाएर । लन्च खाएर पछि नित्य हिंडाइ गर्न नयां पार्कमा गएं ।

एक ठूलो फन्को मारे, मान्छेहरू धेरै नै देखिन्छन् । साना साना बच्चाहरू लिएर आमाहरूको समुहले पिङ र अरु खेलाइरहेका छन् । करिव एक घण्टा हिडाइ गरेपछि त्यहींको मेचमा बसें । त्यहि नजिकै एक जोडी पनि आइपुगे । मसँग परिचय भयो । प्रायश: पार्कमा हिंडेको बेलामा गफगाफ अरुसँग केही हुदैन, उही शिष्टाचारका शुभ प्रभात, नमस्कार बाहेक । वडो आत्मियका साथ आ–आफ्नो नाम भने, बुढाको नाम पिटर र बुढीको प्याट, मैले पनि आफ्नो नाम बताए । आजको मौसमबारे फिराद गरियो । एक छिन फेरी हिंड्ने अनि गफ गर्ने भनेर हिंडियो । अगाडि अगाडि उनीहरूको जोडी, धेरै नै पछि म भएं ।

उषाकालिन शान्तमा बडो प्रफुल्ल भएर ढुक्कुरका जोडीहरू एक आपसमा हेरी अनन्त खुशी रहेका जस्ता देखिन्छन् । आ–आफ्नो परिवेशका घर व्यवहार, इष्टमित्र, साथिभाइका गफ गर्दै कहिले खिसिक्क हास्दै त कहिले हातको भाउ लाउदै गफ गरिरहेका, सोह्रवर्षे वैशका जस्ता जोस, जाँगर, तमन्नालाई बुलन्द पार्दै आफ्नो लक्ष्य प्रति कति पनि विचलित नभएका देखिन्छन् । व्रहाजीले बडो विचार गरी भए भरको दिमाग लगाइ पूर्ण मानवको जोडी बनाएका र सवै मानवहरूलाई नमुना देखाउन पठाएका जस्ता देखिन्छन् । यि जोडीले खुशी र सुखी हुन उमेर, शारिरक अवस्था, धन दौलत केही नचाइने खाली मनोविज्ञान र आत्मवलको भरमा आफूले चाहेको हरचिज पाइन सक्छ भन्ने सन्देश दिइरहेका छन् ।

करिव ४५ मिनेटको हिंडाइपछि हामी पुन फर्लेचामा बसी गफ गर्न थाल्यौं । धेरै कालपछिको रमणीय दिनको फाइदा उठाउन अरु मानिसहरू धेरै आउन थाले । यी जोडी र मेरो सम्बन्ध बढ्दै गयो । व्यक्तिगत गफ गर्न समेत हामीले थाल्यौ । पिटरले गम्भीर चेहेरा बनाएर भने : मान्छेले आफ्नो स्वास्थ्यलाई न्यूनतम पनि ध्यान नदिएर जोखिममा बांचिरहेका छन् । बढी आकांक्षा र जीबन ब्यबस्थापनको सन्तुलन मिलाउन नसक्दा धेरै मान्छेहरु छटपटाइ रहेका छन् । अहिलेको  बढ्ढो शहरीकरणले गर्दा कम क्रियाशील जीबनको  साथै रेडिमेड खाना बढी खाएर मोटो मान्छेहरुको संख्या बढ्ढो छ । यहि क्रमले बढेमा भविष्यमा के होला भने प्रश्न तेर्स्याए ।

“सबै मान्छे हरुलाई आफ्नो ज्यानको माया भइहाल्छ नि, तपाइले अरुको स्वास्थ्यको के पिर गर्नु हुन्छ ?” भनेर यिनकी श्रीमती प्याटले प्रति प्रश्न गरिन । पिटरले म तिर हेर्दै हातको भाउ लाउदै भने: मान्छेको अज्ञानता नै रोग लाग्ने प्रमुख कारण हो । आफूलाई नपरुन्जेल जस्तो सल्लाह दिएपनि कानमा तेल हाल्नेले अरु मूल्य चुकाउनु नपरोस भन्ने मेरो भनाइ हो । “संसारमा धेरै मानिसको समय खाना जुटाउनेतर्फ नै बढी समय लागिरहेको छ । दुई तिहाइ मनुष्यको सपना नै दुई छाक टार्ने समस्याले पिरोलिरहेछ भने खानाको त के दोष भयो र” ? भनेर मैले प्याट तिर हेर्दै भनें ।

पिटर त जुरुक्क उठेर गम्भीर हुदै कड्केर भन्न थाले : गरिबीको पुस्तामा हामी हुर्केको मानिस हौं । खानको महत्व मैले बुझेको छु । खाना हाम्रो प्राण हो, यसको यथोचित सम्मान गर्नु पर्छ । कति खाने, कस्तो खाने भन्नको लागि अरु जनावर भन्दा फरक चेतना र दिमाग हामीलाई दिइएको छ । पाइयो भन्दै जति जस्तो खाएर फाइदा हुदैन भन्ने ज्ञान छिर्नु आवश्यक छ भन्ने मेरो तर्क हो ।

“पहिलाको मानिसहरु खान नपाएको कथा अहिलेको मानिस बढी खाएर समस्या, मोटोघाटो हुनु त सम्वृद्ध हुनुको प्रमाण होइन र ? ठूलो भुंडी हुनु सफलता हुनु होइन र” ? भनेर प्याटले प्रश्न तेर्स्याइन् ।

टेड झोक्किदै “ ठूलो भुंडी हुनु भनेको अथवा बाल्टिन या घ्याम्पो घोप्ट्याएको जस्तो पेट हुनु भनेको टाइम बम बोक्नु हो । एकदिन पड्किहाल्छ । जति बिशाल भुंडी भयो त्यति नै भयाबह हुने हो । ३४ इन्च भन्दा बढी कम्मर हुने मानिस कोरोनरी मुटुरोग लाग्ने  जोखिममा छन् । हामीहरुको सबै मुख्य अंगहरु भुंडी वरिपरी छन् । यी अंगहरुलाई बोसोले पुरा ढाकेपछि कसरी राम्रोसंग काम गर्न सक्लान ? चेतना भया ।

मेरो आफ्नो भुंडी पड्केर जीबन जोखिममा राखेर अस्पताल, डाक्टर, औषधिको चक्करमा हिंडेर मैले कति तड्पिनु पर्यो । मेरो अनुभवले अरुलाई यस्तो क्षण भोग्न नपरोस भनेर नै मैले यति भनिरहेको हुं । मैले यसो भंनेको त अरु माया गरेको हो । कसैलाई पनि आफूले साबधान भएर हुने रोगलाई रोकथाम गर्नुको सट्टामा ज्यान गुमाउनु क्षण भोग्नु नपरोस अथवा जिन्दगीभरि यस्तो रोगले पिर लेर बस्न नपरोस भन्ने मेरो कामना हो भन्दै” आफूलाई समयमा ध्यान नपुर्याउदा उच्च रक्तचाप भएको र यसको कारणले मुटु पाइपास गर्नु परेको लामो कुरा सुनाए ।

मैले अलि उत्सुक भएर मानिसहरु आफ्नो स्वास्थ्यमा बिचार गर्छन होला नि, ति मोटा मानिसहरुले आफ्नो तौल घटाउन कति गर्दा गर्दै पनि नसकेका होलान नि होइन ? भनेर प्रश्न गरे । प्याटले जहाँ पनि डाइटिंग, ज्यान घटाउने, मुख बार्ने कुरा गरेर बिचरा यी मान्छेहरुलाई वाक्क लागेको होला । घरमा सधै यी कुराहरु सुन्दा दिक्क पनि लाग्छ होला । तपाइँ चाहि फेरी यहि कुरा खोतल्नु हुंदै छ भनेर प्याटले व्यङ्ग्य हानिन् ।

“आफूले गर्न नसके परामर्श लिनु पर्छ, बेवास्ता गर्नु हुदैन । पहिलो काम आफ्नो कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा, रक्तचापको नम्बर थाह पाउनु पर्यो, यसको लागि आफ्नो डाक्टर कहाँ गएर रगत जाच्नु पर्यो । यहि अनुरुप जीवनशैली परिबर्तन गर्नु पर्यो । एक दुई महिनाको लागि मात्रै गर्ने होइन, सदाको लागि स्वस्थकर खाना र क्रियाशील जीबन बिताउने गर्नुपर्यो ।

नुन, चिल्लो, चिनी, मदिरा आदिमा लगाम लगाउनु पर्यो । धुमपान छोड्नु पर्यो । वजन घटाउंदा एकदम मुख बारेर गर्ने होइन, बिस्तार बिस्तार पुरा जीवनशैली परिवर्तन गरि गर्ने हो । घरमा बनाएको खाना खाने, रेडिमेड खाना किनेरै नल्याउने गर्नुपर्छ । उदारहणको लागि दिउसो भात खाएपछि बेलुकी सादा सलाद मात्र खाने बानी गर्नुपर्छ । खानाको परिमाण (पोर्सन ) कम गर्नु पर्छ । ब्रेकफास्ट सबै भन्दा महत्वपूर्ण खाना हो । यसलाई नियमित खानु पर्छ । जस्तो एक बटुका फलफुलहरु, एउटा टोस्ट, एक कम ग्रिन टि आदि ब्रेकफास्टका नमुना हुन्” ।

मुखै सुक्ने गरि टेडले भनिरहे, हामी दुवै चुपचाप सुनिरह्यौं । यिनीले भनेका कुराहरु कति उपयोगी छ म त छक्क परें । ध्यानमग्न भएर सुनिरहें ।

हामीले यस स्थानिय ठाउं, खेलकुद, राजनीतिक आदि धेरै बेर गफ गरेपछि फेरी भेट हुने बाचा सहित यी जोडी विदा भए । समयलाई बुझेका, जीवनलाई मनोरम ठानेका अनि आत्मवल उच्च रहेका देखिन्छन् । मैले त यिनीबाट धेरै कुरा सिक्नु छ, यिनको कुरा मनन गर्नुछ अनि यिनी जस्तो जीउन जान्नु छ । यिनीहरू रोगका अनि जीवनका विशेषज्ञ हुन् । म जस्ता कति मान्छेहरूको प्रेरणाको श्रोत होलान् । म जस्तो त्यसै हिंडिरहने मान्छेलाई पनि यति धेरै कुरा सिकाउने यिनिहरू महामानव जस्तो लाग्यो । यसरी हमेशा भेट हुने भए, म हर समय यस पार्कमा रहिरहने थिएं ।

आजको मेरो दिनको शुरुवात मेरो हर नसा नसाको आनन्दबाट शुरु भएको थियो । के राम्रो सोच बनाएर शुभ उठ्ने हो भने दिन आजको जस्तै रमाइलो होला ? दिमागलाई ठूलो भारी वोक्नबाट वञ्चीत भएर केहि शिक्षा पाउन सकिएला ?

(आचार्य कोरोनरी मुटुरोग -२०१० पुस्तकका लेखक तथा नेप्लिज हार्ट फाउन्डेशन बेलायतका अध्यक्ष हुन् )

प्रतिक्रिया

सम्बन्धित सामाग्री