बेलायतका नेपाली सोलिसिटरहरुबीच कार्यक्षमता र गुणस्तर वृद्धि सम्बन्धमा छलफल

लन्डन । बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यावसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन् ।

ब्रिटेन नेपाल लयर्स एसोसिएसन आबद्ध सोलिसिटर एवं कानुन व्यवसायीहरुको शुक्रबार लन्डनमा बैठकमा भएको हो । ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरी अध्यागमन क्षेत्रमा मात्र केन्द्रित भएका पाइएको उल्लेख गर्नुहुँदै अब 
प्रोपर्टी ल, लिटिगेसन, फेमिली, इम्प्लोयमेन्ट ल जस्ता क्षेत्रमा पनि काम गर्न सुझाउनुभयो ।

‘बेलायतमा नेपाली समुदाय बढेसंगै कानूनी समस्याका आयामहरु पनि फरक हुंदैछन् । अब हामीहरुले फरक क्षेत्रमा समेत काम गर्न जरुरी छ’, सोलिसिटर भट्टराईले भन्नुभयो ।एसोसिएसनले कानुन व्यवसायीको करिअर विकास र कार्यक्षमता कसरी बढाउने भन्नेमा पनि सुझाव प्रदान गरिरहेको भट्टराईले जनाउनुभयो ।

उहाँले बेलायतमा सोलिसिटर बन्ने रुटबारे प्रकाश पार्दै सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन (एसक्यूइ) बारे अवगत गराउनुभएको थियो ।

ब्यारिष्टर एवं एसोसिएसनका पूर्वअध्यक्ष देवेन्द्र श्रेष्ठले भूतपूर्व गोर्खा वयस्कहरुका लागि आएको नयाँ नियमबारे अपडेट गराउनुभएका थियो ।

ब्यारिष्टर श्रेष्ठले ‘अपिल राइट्स’ फेरि फिर्ता भएको जानकारी दिँदै मुद्दा कसरी लड्ने भन्नेबारे अवगत गराउनुभयो ।एसोसिएसनका उपाध्यक्ष एवं सोलिसिटर उत्तरमान तिगेलाले नेपाल, हङकङ हुँदै यूके आएर सोलिसिटर बन्न र फर्म आफैंले सञ्चालन गर्दाको संघर्ष र तितामिठा अनुभव सुनाउनुभयो ।

एसोसिएसनका सह-कोषाध्यक्ष सोलिसिटर रोजन भण्डारी र पर्सनल इन्जुरी क्षेत्रमा काम गरिरहेका युवा सोलिसिटर एसोसिएसनका सदस्य सोलिसिटर विपिन रेग्मीले पनि आ-आफ्नो संघर्ष र अनुभव सेयर गर्नुभयो ।

बैठकमा सोलिसिटरहरु लुना राई र अमर गुरुङ, ओआइएससी रजिष्टर्ड अध्यागमन सल्लाहकार विष्णु बुढाथोकी, क्याम्ब्रीजबाट एलएलएम गरेकी र हाल इन्टरनेशनल आरबीट्रेसन, लगानी सम्बन्धी विवाद (इन्भेष्टमेन्ट डिस्प्यूट) तथा अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा काम गरिरहेकी हसिना लामिछाने लगायतले पनि आफ्नो संघर्ष सुनाउनुभयो ।

बैठकमा कानुन व्यवसायमा काम गरिरहेका कोहिनुर श्रेष्ठ, अनुप ढकाल, तनुश्री थापालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री