लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमका साथ तमू (गुरुङ) हरुको महान् पर्व तमू ल्होछार मनाउने भएको छ । आउँदो सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पुस १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाउन लागिएको हो ।
नेपालबाट आमान्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको विशेष उपस्थितिमा आयोजना गर्न लागिएको कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, छोग, घनचक्र पूजाका गरिने कार्यक्रम रहेको छ । उक्त दिन आमान्त्रित लामा गुप्ती गुरुङ, खेन्पो छेवाङ्ग, बीसीसी यूकेका खेन्पो शेनाङ्ग, लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङलगायत धर्मगुरुहरुले पूजापाठ गर्ने बीसीसी यूकेले जनाएको छ ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक वर्ष पुस १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोहीअनुरुप यस वर्ष गुरुङहरुले गिद्ध बर्गलाई बिदाई गर्दै सर्प बर्गलाई स्वागत गर्न लागेका हुन् ।
कार्यक्रममा तमू धीं यूके, मगर संघ यूके, तामाङ सोसाईटी यूके, थकाली समाज यूके, ह्योल्मो समाज यूके, रङ्गजुङ्ग येशे उडियना सेन्टर, एनआरएनए यूके, शेर्पा एशोसिएशन यूके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्च, बीसीसी यूकेका ट्रष्टी मेम्बर्सलगायत संघसंस्थालाई आमन्त्रण गरिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देव घलेले जानकारी गराउनुभयो ।
बिहान ८ देखि दिउँसो ४ बजेसम्म संचालन हुने कार्यक्रममा नयाँ लुंदा फेरिने भएको हुँदा साथमा सत्क्यु–पत्क्यु र नाङ्ग काटेर सोमबार ३० डिसेम्बरको बिहान ११ बजेभित्र गुम्बामा ल्याईदिनहुन बीसीसी यूकेले आग्रह गरेको छ । निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्नसमेत बीसीसी यूकेले अनुरोध छ ।
बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न हुने ल्होछार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्वअध्यक्ष तथा पूर्वआमा प्रमुखहरु, सल्लाहकारहरूले विशेष जिम्मेवारीका साथ तयारीमा जुटेको संयोजक क्याप्टेन घलेले बताउनुभयो । साथै उक्त दिन आयोजना हुने धार्मिक पूजापाठमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरिएको छ ।
बीसीसी यूकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतका कार्यक्रमहरुमा गुम्बामा विशेष पूजापाठहरु गर्दै आएको छ ।