युनाइटेड नेपाली डायस्पोरा संगठनको अध्यक्षमा पुन: लामा


काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडीओ) को अध्यक्षमा पुन: सोनाम लामा सर्वसम्मत चयन हुनुभएको छ । उहाँ स्थापनाकालमा पनि अध्यक्ष रहनुभएको थियो ।

आइतबार सम्पन्न निर्वाचनबाट अध्यक्ष बन्नुभएका सोनाम नेपालीमूलका अमेरिकी नागरिक हुनुहुन्छ । उपाध्यक्षमा बेलायतका प्रेम गाहामगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमादेवी लिम्बू र यम कुमार गुरुङ सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, महासचिवमा कुशल केसी, सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्काप्रसाद घिमिरे चयन हुनुभएको छ । यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारणसभा शनिबार काठमाडौँमा सुरु भएको थियो । सम्मेलनले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने प्रतिबद्धता जनाएको छ ।

सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिले समानता, सहकार्य र समावेशीताका सिद्धान्तमा आधारित रहेर विश्वव्यापी डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीको हितका लागि काम गर्ने जनाएका हुन् । सो अवसरमा वरिष्ठ समाजसेवी र सीएनएन हिरो अनुराधा कोइरालाले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको पुँजी र ज्ञानलाई मातृभूमिको विकासमा लगाउन आग्रह गर्दै भावी सन्ततिलाई पनि नेपालप्रतिको आस्था अभिवृद्धि गराउन नेपाली डायस्पोरासँग आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले मातृभूमिको माया र दायित्वलाई आत्मसात् गर्दै आफूले विभिन्न परियोजनामा लगानी र सहयोग गर्दै आएको उल्लेख गर्दै सरकारले पनि नेपाली डायस्पोरालाई लगानीमैत्री वातावरण मिलाउपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष सोनाम लामाले नेपाल र नेपाली डायस्पोरालाई एकताबद्ध गरी मातृभूमिको दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यस संस्थामार्फत जलवायु परिवर्तन र प्रतिभा पलायन जस्ता गम्भीर समस्या एवं युवा पुस्तालाई नेपालको प्रगतिमा परिचालन गर्न विभिन्न रचनात्मक काम भइरहेको जानकारी दिनुभयो ।

सम्मेलनको पहिलो प्राविधिक सत्र जलवायु परिवर्तन र बसाइँसराइ विषयमा वरिष्ठ पत्रकार कुन्द दीक्षित, आप्रवासन विशेषज्ञ डा. गणेश गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र वन तथा वातावरण मन्त्रालयका नरेश शर्माले जलवायु परिवर्तन र बसाइँसराइबीचको सम्बन्ध र यसले पारेको नकारात्मक प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो ।

दोस्रो सत्रमा नवीनतम् पूर्वाधार र डायस्पोरा विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपाली र ऊर्जाविद् कुशल गुरुङले नेपालको पूर्वाधार तथा यातायात क्षेत्रमा डायस्पोराले गर्नसक्ने सहयोगका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।

यस्तै, तेस्रो प्राविधिक सत्रमा नीति र साझेदारी विषयमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतेन्द्र उपाध्याय र नीति अनुसन्धान प्रतिष्ठानकी डा इन्द्र अधिकारीले विद्यमान नीतिमा रहेका कमीकमजोरीका कारण डायस्पोरासँगको साझेदारीमा देखिएको समस्याबारे धारणा राख्नुभएको थियो ।

सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा नेपालको यातायात क्षेत्रमा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यका साथ एमआइटी ग्रुप फाउन्डेसन र नेपाल सरकारबीच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ कार्यक्रम भएको हो । सम्मेलनले वंशजको नेपाली नागरिकता निरन्तरता अभियान अझ सशक्त रूपमा लैजान उपाध्यक्ष प्रेम गाहा मगरको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

एनआरएनएमा विवाद भएपछि सर्वोच्च अदालतको फैसलाअनुसार यूएनडीओ गठन भएको थियो । जुन एनआरएनएजस्तै परराष्ट्र मन्त्रालयमा दर्ता रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री