न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक यूएसएले विभिन्न सांस्कृतिक कार्यक्रम गरी गुरुङ तमु जातिको महान् पर्व ल्होछार-२०८१ मनाएको छ । विश्वभर रहेका तमु समुदायले यो वर्ष मुप्री ल्हो अर्थात् गरुड वर्गको बिदाइ तथा सप्री ल्हो अर्थात् सर्प वर्गको स्वागत गरेका छन् ।
२८ डिसेम्बरमा न्यूयोर्कको टिबेटियन कम्युनिटी हलमा एक समारोह आयोजना गरी सोसाइटीले सप्री ल्होछार मनाएको हो । ज्येष्ठ नागरिक कमला गुरुङ, प्रमुख अतिथि हर्कजंङ गुरुङ, अध्यक्ष ओमबहादुर गुरुङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरुङ तथा संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङले संयुक्त रुपमा पानसमा द्विप प्रज्ज्वलन गरी ल्होछार कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सोसाइटीलाई आर्थिक, नैतिक तथा भौतिक रुपमा निरन्तर योगदान गर्ने आजीवन सदस्यहरु खड्कजंग गुरुङ तथा संस्थापक प्रथम महिला गौरी गुरुङलाई सम्मान गरिएको थियो । यस्तै सोसाइटीले संस्थाको आजीवन सदस्यता लिएका ८ जनालाई संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ तथा अध्यक्ष ओम गुरुङले आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो थियो । यस वर्ष अञ्जित गुरुङ, बुद्धि (भरत) गुरुङ, बुद्धि गुरुङ, पवित्रा गुरुङ, मुमुचु गुरुङ तथा ओङ्ग्याल गुरुङ, राजुसिङ गुरुङ तथा चन्द्र गुरुङ, प्रताप गुरुङ तथा करुणा गुरुङ, अणु गुरुङ तथा खेम थापामगरले सोसाइटीको आजीवन सदस्यता लिनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि हर्कजंग गुरुङले ल्होछारको शुभकामना दिनुहुँदै २००८ मा आफू ल्होछार संयोजक बन्दा ज्येष्ठ नागरिकबाट द्विप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गर्न गरेको प्रस्ताव आज २०२४ सम्म पनि कायम राखेकोमा वर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाली कला, संस्कृतिलाई जगेर्ना गर्दै गुरुङ सोसाइटीले ज्याक्सन हाइटमा कल्चरल प्रोग्राम हेर्नको लागि गुरुङ ल्होछार जानुपर्छ भन्ने भाष्य निर्माण गरेको स्मरण गर्नुभयो । उहाँले भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउने कार्यका लागि सोसाइटीले दुई महिनाअघिदेखि गरिरहेको मिहिनेतको प्रशंसासमेत गर्नुभयो ।
डेमोक्रेटिक पार्टीको नेता तथा न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन रागाले गुरुङहरुको ल्होछारको शुभकामना दिनुहुँदै ग्रोइङ नेपाली समुदायलाई आफूले प्रतिनिधित्व गर्न पाएकोमा गर्व लागेको बताउनुभयो ।
विशेष अतिथि फिप्नाका अध्यक्ष तोरण गुरुङले गुरुङ संस्कार र संस्कृतिको संम्वर्द्धन गर्न आह्नान गर्नुभयो । उहाँले बोलेर मात्रै आफ्नो आवाज बुलन्द बनाउन सकिने भन्दै संस्कार, संस्कृति जोगाउने क्रमसँगै राजनीतिक चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङले विदेशी भूमिमा यसरी ल्होछार कार्यक्रम गरेर गुरुङहरुको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको बताउनुभयो । सोसाइटीले सिटीसँग सम्बन्ध बढाउँदै सोसाइटीको हितका लागि काम गर्ने उहाँको भनाइ छ । उहाँले नृत्य निर्देशक, कलाकारहरु, आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण आजीवन सदस्यहरु, व्यवसायीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सोसाइटी महासचिव मच्छेदेवी गुरुङले गुरुङहरु जहाँ गए पनि आफ्नो पहिचान र अस्तित्वका लागि राज्यका हरेक निकायमा गुरुङहरुको उपस्थिति बढाउनुपर्ने बताउँदै ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने अभियानको रुपमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । ल्होछार पर्व नयाँ पुस्तालाई गुरुङ संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिँदै सम्पूर्ण गुरुङ जातिबीच आपसी सद्भाव कायम गर्न र एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण अवसर रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गुरुङ तमु स्टुडेन्ट क्लबकी संयोजक मेलिशा गुरुङले ल्होछारको शुभकामना दिँदै क्लबले गुरुङ जातिको संस्कार, संस्कृति, भेषभुषा जगेर्ना गर्न र बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले बालबालिकाहरुलाई क्लबमा जोडिनुका लागि अनुरोधसमेत गर्नुभयो ।
ल्होछार कार्यक्रम-२०८१ का साँस्कृतिक संयोजक तथा सोसाइटीका उपाध्यक्ष लिल गुरुङ तथा कार्यसमिति सदस्य बिन्दु गुरुङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सल्लाहकारहरु, बुबा आमा, दाजुभाइ, कार्यसिमिति सदस्यहरु, कलाकारहरु, तमु आमा समूह तथा स्वयंसेवकहरुलाई धन्यवाद दिनुभयो ।
सोसाइटीका वरिष्ठ उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम रीचा गुरुङ र रिदिमा गुरुङले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु तथा संस्थामा आबद्ध आजीवन सदस्य रही लामो समय संस्थामा काम गरेका सदस्यहरुलाई रिकोग्नाइज गरी धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणको साँस्कृतिक कार्यक्रममा मौलिकता झल्कने बाह्रमासे घाटु, कौडा तथा गुरुङ भाषाको गीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो । बाह्रमासे घाटु कोरियोग्राफर भूपेन्द्र गुरुङले कोरियोग्राफ गर्नुभएको हो । भूपेन्द्र गुरुङ, बिन्दु गुरुङ, प्रेम गुरुङ, आमा टोली तथा स्थानीय कलाकारहरुले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न नेपाली तथा गुरुङ भाषाको चलचित्रमा अभिनय गरेका नायिका रञ्जिता गुरुङ र नृत्य निर्देशक तथा कोरियोग्राफर भूपेन्द्र गुरुङले मेजर पेन्सन खाउली बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभयो । स्थानीय बालकलाकारहरु ओजाश्री गुरुङ, आइना गुरुङ र साइना लामाले गुरुङ भाषाको गीतमा नृत्य गर्नुभयो भने नेपाली चर्चित गीत रुकुम मैकोटमा शिला गुरुङ, रक्षा गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङले बेजोडको प्रस्तुति रह्यो ।
स्थानीय कलाकारहरु श्रुती गुरुङ, सुष्मा गुरुङ, केभिन गुरुङ र सोमेस गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गर्नुभयो । त्यस्तै, देउरालीलाई फूलपाती बोलको गीतमा आमा टोलीले बेजोडको नृत्य प्रस्तुत गरेको थियो । गोरी गुरुङ, अमृता गुरुङ, लक्ष्मी गुरुङ, लक्ष्मी गुरुङ थापा र निर्मला देवान लिम्बुले नृत्य गर्नुभयो भने । सम्राट गुरुङ, आकर्षण गुरुङ, प्रतिभा गुरुङ, सदिया छन्त्यालले गुरुङ भाषाको गीत मरै त झलल बोलको गीतमा नृत्य प्रस्तुत गरेको आयोजकले जनाएको छ ।
त्यस्तै रिदिमा गुरुङ, सदिया छन्त्याल, श्रृंखला पुन, आर्यन्सी थापा र करुणा रोका मगरले डम्फु मादल बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभयो । त्यस्तै कोइलम मिछ्याबा बोलको गीतमा चर्चित कलाकारहरु खेम गुरुङ तथा एन्सर्ज गुरुङले, श्रुती गुरुङ, सुष्मा गुरुङ, सोनिया गुरुङ, तुसना थापा, सुजेना गुरुङ, आङ युटी शेर्पाले कौडा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक गोविन्द राई, नृत्य निर्देशक तथा कोरियोग्राफर भूपेन्द्र गुरुङले कोरियोग्राफ गर्नुभएको थियो । गुरुङ घाटु, रोधीको संरक्षण र सम्वर्द्धनमा जुटेका निर्देशक तथा कोरियोग्राफर भूपेन्द्र गुरुङ, पहिलो गुरुङ चलचित्र पातेका नायक खेम गुरुङ, साँस्कृतिक कार्यक्रम संयोजक लिल विन्दु गुरुङलाई सम्मान गरिएको थियो । मार्सल आर्टस खेलाडी भूपेन्द्र गुरुङले ट्रेडिसनल चाइनिज मार्सल आर्टस फेडरेसन अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा दुई रजत पदक प्राप्त गर्नुभएको थियो ।
गुरुङहरुले हरेक वर्ष पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । ल्हो को अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्ने, वर्ग हेरेर नै शुभकार्य गर्ने प्रचलन छ । गुरुङ जातिले विभिन्न १२ वटा जीवजन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउँदै आएको छ ।
कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका प्रमुख सल्लाहकार टेक टाँगी गुरुङ, गुरुङ भाषा तथा संस्कृति विभागका प्रमुख गोपाल पच्यु गुरुङ तथा युवा संयोजक गोकुल क्रोगी गुरुङलगायत न्यूयोर्क, न्यूजर्सीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र दर्शकगरी ४ सयभन्दा बढीको उपस्थिति थियो । विश्वभर रहेका गुरुङहरुले पुस १५ मा विभिन्न कार्यक्रम गरी ल्होछार मनाएजस्तै गुरुङ सोसाइटीले पनि वार्षिक रुपमा ल्होछार मनाउँदै आएको छ । गुरुङ सोसाइटीले ‘सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । यो संस्था सन् २००१ मा न्यूयोर्क सिटीमा विधिवत् रूपमा दर्ता भएको हो ।