नेपालमा आँखा शिविर सञ्चालन गर्न बेलायतमा च्यारिटी डिनर नाइट

लन्डन । आगामी महिना नेपालमा हुने आँखा शिविरको लागि आर्थिक सहयोग संकलन गर्न बेलायतमा च्यारिटी डिनर नाइट सम्पन्न गरिएको छ ।

डा विशाल गुरुङ अध्यक्ष रहेको‘रेज अफ होप फाउन्डेसन यूके’को आयोजनामा अल्डरसटस्थित एम्पायर हलमा १७ जनवरी २०२५ मा ‘राम्रो आँखाको ज्योति, राम्रो जीवनका लागि’ नारासहित डिनर नाइट सम्पन्न गरिएको हो ।

कार्यक्रममा रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा माकुनुरासहित बेलायतस्थित विभिन्न संघसंस्थाका पदाधिकारी र सदस्यको बाक्लो उपस्थिति रहेको थियो । रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा माकुनुराले शुभकामना मन्तव्यसहित कार्यक्रम सफलताको कामना गर्नुभएको थियो ।

बेलुका सात बजे सुरु भएको कार्यक्रम डा. विशाल गुरुङले नै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरू अञ्जनी गुरुङ, प्रेसा गुरुङ, केन्जी गुरुङ, नताशा गुरुङले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो भने कुमार गुरुङले बाँसुरीको धुनले सहभागीको ध्यानाकर्षण गराएको थियो ।

बेलायत निवासी ८४ वर्षीय क्याप्टेन वीर थापा तथा नेपालबाट आएका प्रसाद खप्तरी मगर र देवी आले मगरको गीतमा सहभागी झुमेका थिए ।

नेपाल नेत्रज्योति संघ सँगको समन्वयमा १० फेब्रुअरीमा पर्वतको चार भन्ज्याङमा आँखा शिविर आयोजना हुँदै छ । यसैगरी, कुस्मा ११, १२ र १३ फेब्रुअरी तथा सर्लाहीमा १८, १९ र २० फेब्रुअरीमा शिविर चल्ने डा गुरुङले जनाउनुभयो । सोही शिविरका लागि आर्थिक संकलनको उद्देश्यले च्यारिटी डिनर नाइट राखिएको हो ।

अध्यक्ष डा. विशालले अपेक्षा गरेभन्दा धेरै सहयोग पाएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा ठूलो सकम सहयोग गर्ने कोलाब्रेसन पार्टनर १३ जना रहेका छन् । जसमा मा तमु धीं यूके, तमु धीं यूके आमा समूह, अनुग्रह फाउन्डेसन, एनआरएनए यूके, डेभिड अर्मिटेज, कोल्मा बाहकोट समाज यूके, न्यु लक्ष्मी ज्वेलर्स, मर्दीखोला समाज यूके, सहारा यूके, राङभाङ समाज यूके, बीसीसी गुम्बाका अध्यक्ष हर्क गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र चार भन्ज्याङ समाज यूके रहनुभएको छ ।

बेलायतमा रहेका अन्य व्यवसायीहरू, विदेशी भूपू सैनिकहरुले पनि सहयोग गर्नुभएको थियो ।

अन्त्यमा भएको राफल ड्रमा प्रथम पुरस्कार ३०० पाउन्ड बराबरको सुन र दोस्रो पुरस्कार २०० पाउन्ड बराबरको चाँदीको खुकुरी न्यु लक्ष्मी ज्वेलर्सले प्रायोजन गरेको थियो ।

कार्यक्रममा डेकोरेसन, साउन्ड सिस्टम, एम्पायर हलसहित आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने र हौसला दिने शुभचिन्तक, दानवीर तथा फाउन्डेनसनका स्वयंसेवकहरूलाई अध्यक्ष डा. विशालले धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री