विश्वमा द्वैध शासन

लेखक सुरेन्द्र श्रेष्ठ

माओवादी  र एमालेको एकता भएपछि  दुई अध्यक्षको ब्यवस्था हुँदा अनि एनआरएनमा तीन जना अध्यक्ष बनाउँदा खिसीट्यूरीको विषय बन्यो। भागबन्डा गर्नको लागि यस्तोसम्म गरियो भनेर अहिलेसम्म पनि उदाहरण पेश गर्ने गरिन्छ। यसलाई विश्वको इतिहासमा पहिलोपटक हामी नेपालीहरुले मात्र प्रयोगमा ल्याएको जस्तो गरियो। पदलोलुपताको पराकाष्टा ठानियो। त्यसो त सबैतिर विभिन्न गुट उपगुटलाई चित्त बुझाउनको लागि आवश्यकताअनुसार अन्य पदहरुमा भने थुप्रै ब्यवस्थापन गरिने प्रचलन बढेको छ। पुराना ठूला पार्टी वा भातृ संगठन मात्र हैन भर्खरै निर्माण भएको राजेन्द्र महतोको नेतृत्वमा गठन गरिएको पार्टीमा पदाधिकारीहरुको संख्या हेर्दा अचम्म लाग्दछ। लामो समयको माथापच्चीपछि भर्खरै समापन भएको माओवादी पार्टीको विद्यार्थी संगठनको निर्वाचनबाट नै गठन भएको समितिमा पनि पदाधिकारीहरुको बाढी नै उर्लेको छ।

नयाँ वर्षको शुरुवातसंगै मैले आफ्नो फेसबुकमा दिनको एउटा जानकारीमूलक पोष्ट नियमित रुपमा राख्न थालेँ। शुरुका केही दिन संसारका देशहरुमा रहेको अलि अचम्मको कानुनबारे लेख्न थालेँ। तर यसलाई नियमित गर्न अलि मेसो नमिल्ला जस्तो लाग्यो। त्यसपछि विश्वका देशहरु अंग्रेजी वर्णानुक्रममा त्यहाँको सामान्य परिचय एकदम छोटकरीमा लेख्न थालेँ। केही समयपछि त्यसलाई अलि लामो अनि त्यहाँ कुनै गृहयुद्ध भए नभएकोबारे पनि जानकारी दिन थालियो। यस क्रममा तयारी गर्दा प्रत्येक देशको केही न केही नयाँ विशेषताहरु पनि जानकारी भैरहेको छ। अब यो क्रम १९३ नम्बरसम्म पुग्नेछ। त्यसपछि अन्य जानकारीसहित ३६५ दिन पुर्याउने कोशिश हुनेछ।

केही समय अगाडी युरोपको एक सानो राष्ट्र एन्डोराबारे जानकारी लिने मौका पाइयो। युरोपभित्र भएर पनि युरोपियन युनियनमा सहभागी नभएको यो सानो भूपरिवेष्ठित देश विभिन्न कारणले विशेष देखियो। जहाज अनि रेल सेवाले नजोडिएको यो देश बस वा गाडीमा मात्र जान सकिन्छ। पूरा देश नै एयरपोर्टको ड्यूटी फ्री जस्तो छ । हिऊँले भरिएका थुप्रै पहाडहरु भएको कारण स्कीका लागि संसारभरिबाट पर्यटकहरु आउने गर्दछन। राजनीतिक रुपमा त यहाँ झन् अचम्मको ब्यवस्था रहेछ। यो विषयले ममा झन् खुल्दुली बढायो। फ्रान्स र स्पेनले घेरिएको यो देशमा औपचारिक रुपमा तीन राष्ट्र प्रमुखहरु हुन्छन् भनेपछि यसबारे थप जानकारी लिन मन लाग्यो। औपचारिक रुपमा यहाँ १२७८ देखि उर्जेलका विशप (स्पेन) र फ्रान्सेली राष्ट्रप्रमुखको संयुक्त शासन प्रणाली कायम भएको रहेछ। तर त्यहाँ दिनानुदिन साशन भने जनताद्वारा निर्वाचित संसद र सरकारले नै संचालन गर्ने रहेछ। यही उत्सुकताका साथ केही हप्ता पछाडी त्यहाँ पुग्ने योजना बनाएका छौँ। त्यसपछि यस देशका विविध विषयबारे अर्को लेखमार्फत आउने नै छु।

राजनीति शास्त्र तथा विश्वको शासकीय प्रणालीको इतिहासमा यसलाई डायार्की अर्थात् द्वैध शासन प्रणाली भन्ने गरिन्छ। यस्तो ब्यवस्था अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिले प्रत्यक्ष रुपमा शासनको बागडोर सम्हाल्ने गर्दछन्। यसको शुरुवात प्राचीन स्पार्टा ९९औं शताब्दी ईपू १० देखि शुरु भएको देखिन्छ। त्यतिबेला दुई राजाहरुले एकैसाथ शासन गर्थे। जसमा एक अगियाड वंशबाट र अर्को युरिपोन्टिड वंशबाट आउँथे। यो प्रणालीले सत्ताको सन्तुलन कायम गर्न मद्दत गर्थ्यो र कुनै एक व्यक्तिले निरंकुश शक्ति प्राप्त गर्नबाट रोक्थ्यो। स्पार्टन राजाहरूले सेनाको नेतृत्व गर्ने, धार्मिक कार्यहरू सम्पादन गर्ने र केही न्यायिक कार्यहरू सम्हाल्ने जस्ता दायित्वहरू पूरा गर्थे। तर उनीहरूको शक्ति सीमित थियो । किनभने स्पार्टन समाजले इफोर्स ८८ (नागरिक सभा ३० वर्ष माथिका) र गेरुसिया (जेष्ठ नागरिक सभा ६० वर्ष माथिका) जस्ता संस्थाहरू मार्फत पनि शासन गर्थ्यो। यसले स्पार्टालाई एक सन्तुलित र सामूहिक निर्णय प्रक्रिया भएको समाज बनाउन मद्दत गर्दथ्यो । स्पार्टाको डायरकी प्रणालीले यसलाई युद्धमा सक्षम र स्थिर बनाउन मद्दत गर्यो। उदाहरणका लागि थर्मोपाइलेको युद्ध (४८० ईसा पूर्व)मा स्पार्टन राजा लियोनिदासले ग्रीसको रक्षाको लागि पराक्रमी भूमिका खेलेका थिए। यस प्रणालीले स्पार्टालाई प्राचीन ग्रीसको एक प्रमुख शक्ति बनाउन मद्दत गर्यो। तर समयको साथ स्पार्टाको शक्ति घट्दै गयो र यसको डायरकी प्रणाली पनि अन्त्य भयो। तैपनि स्पार्टाको द्वैध शासन प्रणालीले इतिहासमा सत्ता साझेदारीको एक महत्त्वपूर्ण उदाहरणको रूपमा आफ्नो छाप छोडेको छ।

रोमन गणराज्यमा पनि दुई कन्सुलहरू वार्षिक रूपमा निर्वाचित भएर संयुक्त रूपमा शासन गर्थे। रोमन गणतन्त्र ९५० (ईसा पूर्वदेखि २७ ईसा पूर्वसम्म) मा डायरकी वा द्वैध शासन प्रणालीले महत्त्वपूर्ण भूमिका खेलेको थियो। यस प्रणाली अनुसार दुई कन्सलहरूले संयुक्त रूपमा शासन गर्थे । जसले गर्दा सत्ताको सन्तुलन कायम हुन्थ्यो। कन्सलहरू प्रत्येक वर्ष निर्वाचित हुन्थे र उनीहरूको मुख्य जिम्मेवारी सेनाको नेतृत्व गर्नु, कानून लागू गर्नु र प्रशासनिक कार्यहरू सम्हाल्नु थियो। उनीहरूले एक अर्काको निर्णयलाई भेटो  गर्ने अधिकार पनि प्राप्त गरेका थिए । जसले गर्दा कुनै एकले अत्यधिक शक्ति प्रयोग गर्न सक्दैनथ्यो। आपतकालीन अवस्थामा रोमन सिनेटले एक डिक्टेटर नियुक्त गर्न सक्थ्यो । जसले असीमित शक्ति प्राप्त गर्थ्यो तर उनको कार्यकाल ६ महिनासम्म मात्र सीमित हुन्थ्यो। रोमन गणतन्त्रले पेट्रिसियन (कुलीन वर्ग) र प्लेबियन (सामान्य नागरिक) बीचको सामाजिक संघर्षलाई समाधान गर्न पनि डायरकी प्रणालीलाई प्रभावकारी ढंगले प्रयोग गरेको थियो । तर जुलियस सिजरको हत्या पछि गृहयुद्धले गणतन्त्रको अन्त्य गर्यो र अगस्टस सिजरले रोमन साम्राज्यको स्थापना गरेर एकल शासन प्रणाली सुरु गरे। रोमन डायरकीले सत्ताको सन्तुलन, सामाजिक न्याय र प्रशासनिक सुव्यवस्था कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । जसले रोमलाई विश्वको सबैभन्दा ठूलो साम्राज्यहरूमध्ये एक बनाउन मद्दत गर्यो।

मध्ययुगमा द्वैध शासन कम देखिए पनि औपनिवेशिक युगमा ब्रिटिश साम्राज्यले आफ्नो उपनिवेशहरूमा सीमित स्वायत्त शासनको रूपमा द्वैध शासन लागू गर्यो । जस्तै भारत सरकार ऐन १९१९ द्वारा ब्रिटिश भारतमा केही प्रशासनिक अधिकार भारतीय मन्त्रीहरूलाई दिइयो भने अन्य अधिकार ब्रिटिश अधिकारीहरूसँग राखियो।

आधुनिक समयमा पनि द्वैध शासन विभिन्न देशहरूमा कायम छ। उदाहरणका लागि सान मारिनोमा हरेक ६ महिनामा निर्वाचित हुने दुई क्याप्टेन रिजेन्ट संयुक्त राष्ट्रप्रमुखका रूपमा कार्य गर्छन्। सान मारिनो विश्वकै सबैभन्दा पुरानो गणतन्त्रहरूमध्ये एक द्वैध शासन प्रणालीअन्तर्गत सञ्चालित छ। सन् १२४३ देखि लागू भएको यो प्रणालीमा दुई क्याप्टेन रिजेन्ट संयुक्त रूपमा राष्ट्रप्रमुखको रूपमा कार्य गर्छन्। हरेक छ महिनामा नयाँ दुई क्याप्टेन रिजेन्ट निर्वाचित गरिन्छ । जसले शक्ति सन्तुलन कायम राख्छ। ग्रान्ड एन्ड जनरल काउन्सिलका ६० सदस्यहरूले अप्रिल १ र अक्टोबर १ मा आफू भित्रबाट नै नयाँ क्याप्टेन रिजेन्ट चयन गर्छन्। उनीहरू समान अधिकारसहित शासन गर्छन् र निर्णयहरू आपसी सहमतिमा मात्र लागू हुन्छन्। यस प्रणालीले शक्ति एक व्यक्तिमा केन्द्रित हुन नदिई लोकतान्त्रिक सन्तुलन कायम राख्छ। छोटो कार्यकालका कारण हरेक वर्ष नयाँ नेताहरूले शासन गर्ने अवसर पाउँछन् । जसले शासनमा विविधता र ताजा दृष्टिकोण ल्याउँछ। ७५० वर्षभन्दा लामो समयदेखि निरन्तर सञ्चालनमा रहेको यो प्रणाली विश्वकै सबैभन्दा सफल द्वैध शासन प्रणालीमध्ये एक मानिन्छ। यसले सान मारिनोमा स्थिरता, लोकतान्त्रिक प्रतिनिधित्व र न्यायोचित शक्तिवितरण सुनिश्चित गरेको छ। राजनीतिक स्थिरता कायम राख्न र सत्ताको दुरुपयोग रोक्न द्वैध शासनले महत्वपूर्ण भूमिका खेलेको छ। सानो राष्ट्र भए पनि सान मारिनोको शासन प्रणाली आज पनि अत्यन्त प्रभावकारी मानिन्छ । जसले संसारका अन्य देशहरूलाई पनि शक्ति सन्तुलनको एउटा सफल मोडेल प्रस्तुत गर्छ।

त्यस्तैगरी बोस्निया र हर्जेगोभिनामा डायरकी (द्वैध शासन) १९९५ को डेटन सम्झौता पछि सुरु भएको हो। यस सम्झौताले गृहयुद्ध (१९९२–१९९५) लाई अन्त्य गरेर एक जटिल सत्ता साझेदारी प्रणाली स्थापना गर्यो। बोस्नियाको शासन प्रणालीमा तीन मुख्य जातीय समूहहरू बोस्नियाक (मुस्लिम), सर्ब, र क्रोएट बीच सत्ता बाँडिएको छ। देशको राष्ट्रपतिमण्डलमा तीन सदस्यहरू छन् । जसमा प्रत्येक जातीय समूहबाट एक प्रतिनिधि हुन्छन् । प्रत्येक चार वर्षमा निर्वाचित हुने यी तीन जनाले प्रत्येक आठ महिनामा पालोपालो अध्यक्षको भूमिका निर्वाह गर्छन्। यसले गर्दा देशमा सत्ताको सन्तुलन कायम रहन्छ तर यो प्रणाली यहाँ अलि जटिल र निर्णय प्रक्रियामा ढिलाइ ल्याउने भएकोले  राजनीतिक अस्थिरता र जातीय तनावलाई पनि प्रश्रय दिएको देखिन्छ।

सन् १९९८ को गुड फ्राइडे सम्झौताअनुसार राजनीतिक अशान्तिलाई अन्त्य गर्न र शक्ति साझेदारी सुनिश्चित गर्ने उद्देश्यसहित उत्तरी आयरल्याण्डले द्वैध शासन प्रणालीलाई स्वीकार गरेको हो। यहाँ कार्यकारी शक्ति दुई नेताहरू—प्रथम मन्त्री र उपप्रथम मन्त्री—बीच समान रूपमा बाँडिएको हुन्छ। यस व्यवस्था अन्तर्गत यी दुवै नेता संयुक्त रूपमा उत्तरी आयरल्याण्डको कार्यकारी प्रमुखका रूपमा कार्य गर्छन् र दुवैको अधिकार र जिम्मेवारी समान हुन्छन् ।यी दुई पदमा एक संघवादी र एक राष्ट्रवादीको तर्फबाट प्रतिनिधित्व गर्दछन् ।

अर्को रमाइलो ब्यवस्था स्वाजिल्याण्डमा पनि छ। यसलाई सन् २०१८ सम्म इस्वाटिनी नामकरण गरिएको थियो। यो अफ्रिकाको एकमात्र निरंकुश राजतन्त्र भएको देश हो। जहाँ डायरकी वा द्वैध शासन प्रणालीको अनौठो रूप पाइन्छ। यहाँ राजा र रानी आमाबीच सत्ता साझेदारी हुन्छ ।  जसले परम्परागत संस्कृति र शासन प्रणालीलाई प्रतिबिम्बित गर्छ। राजा स्वाजिल्याण्डको सर्वोच्च नेता हुन्  जसले देशको राजनीतिक, प्रशासनिक, र सैन्य नेतृत्व गर्छन्। उनीसँग निरंकुश शक्ति छ । जसअन्तर्गत उनी कानून बनाउन, न्याय प्रणाली सञ्चालन गर्न र प्रधानमन्त्री लगायत उच्च पदाधिकारीहरू नियुक्त गर्न सक्छन्। हालका राजा म्स्वाती तृतीय हुन् । जो १९८६ देखि शासन गर्दै आएका छन्।

राजासँगै रानी आमा जसलाई इन्ड्लोवुकाजी भनिन्छ । उनले देशको सांस्कृतिक र प्रतीकात्मक नेतृत्व गर्छिन्। उनी राजाको आमा वा अन्य प्रमुख महिला हुन सक्छिन्।  उनको भूमिका मुख्य रूपमा धार्मिक तथा सांस्कृतिक समारोहहरूमा केन्द्रित हुन्छ। यद्यपि उनको शक्ति राजाको तुलनामा सीमित भए पनि उनले राजालाई परामर्श दिने र केही प्रशासनिक निर्णयहरूमा प्रभाव पार्न सक्छिन्। यो द्वैध शासन प्रणालीले सांस्कृतिक पहिचान, सत्ताको सन्तुलन, र राजनीतिक स्थिरता कायम राख्न योगदान दिएको छ। तर यस देशमा लोकतान्त्रिक अभाव, आर्थिक असमानता, र मानव अधिकार उल्लंघन जस्ता थुप्रै समस्याहरु छन्।

सरकार वा शक्ति केन्द्रीकृत भएर निरंकुश ढंगले शक्ति प्रयोग गर्नु हुँदैन भन्ने सोचसँगै अठारौँ शताब्दीदेखि शक्ति पृथकिकरणको सिद्धान्तले राजनीतिक शास्त्रको इतिहासमा विशेष महत्त्व राख्यो। सरकारका तीन अंग—कार्यपालिका, व्यवस्थापिका, र न्यायपालिका—एकआपसमा स्वतन्त्र र पृथक ढंगले सञ्चालन भएनन् भने सरकार निरंकुश हुन्छ भनी फ्रान्सेली चिन्तक मोंटेस्क्युले शक्ति पृथकीकरणको व्याख्या गरेका थिए। अहिले विश्वका प्रायः सबै देशहरूले आफूलाई प्रजातान्त्रिक देश भन्न रुचाउँछन् र त्यही अनुसार सरकारका संरचनाहरू निर्माण गरेका छन्। जुनसुकै शासन व्यवस्था भए पनि शक्ति पृथकीकरणको पक्षपाती रहेको देखिन्छ। यसलाई द्वैध शासनको निरन्तरता नै हो भन्न नसके पनि यसबाट केही न केही रूपमा प्रेरित भएको छ भने भन्न सकिन्छ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री