‘बेलायतको स्वास्थ्य सेवाबाट नेपालले धेरै कुरा सिक्न सकिन्छ’

लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बेलायतको स्वास्थ्य सेवाबाट नेपालले धेरै कुरा सिक्न सक्ने जनाएका छन् ।

जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेशन युकेद्वारा आइतबार आयोजित ‘बेलायतको एनएचएस: नेपाललाई पाठ’ विषयक वेबिनारलाई सम्बोधन गर्दै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत वरिष्ठ चिकित्सक प्रा सत्यन राजभण्डारीले बेलायतमा बिरामीकेन्द्रित उपचार हुने गरेकोमा नेपालमा डाक्टरकेन्द्रित उपचार पद्धति रहेको बताउनुभयो। यद्यपि उनले नेपालका सरकारी अस्पतालहरुमा पनि विशेषज्ञहरुको सेवा उपलब्ध हुन थालेको र सेवाको गुणस्तरमा पनि सुधार हुँदै गएको जनाउनुभयो ।

उहाँले नेपालमा डाक्टर र नर्सहरुको तलब सुविधा न्यून रहेको र राजनीतिक हस्तक्षेप उच्च रहेको बताउनुभयो । उहाँले बेलायतको जस्तो स्वास्थ्य प्रणाली नेपालको लागि बढी उपयुक्त हुने बताउनुभयो ।

एनएचएसमै कार्यरत वरिष्ठ चिकित्सक तथा जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेशन युकेका अध्यक्ष डा सम्पूर्णानन्द ढुंगानाले ७६ वर्ष पहिले शुरु गरिएको बेलायतको एनएचएसमा स्वास्थ्य सेवा प्रयोग गरेको बिन्दुमा निशुल्क रहेको जनाउनुभयो ।

उहाँले अस्पतालहरुमा धेरैजसो सेवाहरु नि:शुल्क रहेको तर बहिरंग सेवाका बिरामीहरुले (आउटपेशेंट प्रेसक्रिप्शन) पैसा तिर्नु पर्ने जनाउनुभयो । केटाकेटी, प्रसूति एवं अर्बुद रोग, मधुमेहजस्ता रोगहरुको औषधि भने नि:शुल्क छ । उहाँले इंगल्याण्डमा मात्रै एनएचएसले प्रत्येक दिन औसत १३ लाख मानिसहरुको उपचार गर्ने गरेको जनाउँदै विभिन्न निकायहरुले अस्पतालहरुबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरको निरन्तर अनुगमन गर्ने गरेको जनाउनुभयो । उहाँले ‘क्लिनिकल सुशासन’ पद्धतिको आधारमा अस्पतालहरुको संचालन गर्न र क्लिनिकल परामर्शदात्री निकायहरु स्थापना गर्न पनि सुझाव दिनुभयो । डा ढुंगानाले बिरामीहरुको गुनासो सुन्न देशभरि नै अभियान चलाउनु पर्ने तथा अस्पतालमा मृत्यु भएका प्रत्येक बिरामीको रेकर्ड राखेर अनुगमन गर्नु पर्ने पनि जनाउनुभयो । उहाँले नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउन बलियो राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै कम खर्चमा पनि विद्यमान स्वास्थ्य सेवा प्रवाहमा धेरै सुधारगर्न सकिने बताउनुभयो ।

नेप्लिज नर्सिङ एसोसिएसन युकेकी अध्यक्ष रश्मिता दर्लामीले नर्सहरु ब्रिटिश स्वास्थ्य सेवा प्रणालीको जगको रुपमा रहेको जनाउनुभयो । उहाँले एनएचएसमा पेशागत दक्षता वृद्धि गर्ने अवसर तथा रोजगारी सुरक्षित हुनुका साथै तलब सुविधा पनि तुलनात्मक रुपमा राम्रो रहेको बताउनुभयो । उहाँले काम गर्दै जाँदा आफ्नो विषयगत दक्षता बढाउन सकिने र जाँच दिएर शैक्षिक योग्यता पनि लिन सकिने व्यवस्था रहेको बताउनुभयो ।

एनएचएसमा कार्यरत नर्सहरुलाई नेतृत्व क्षमता विकास र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने गरिएको पनि उनले जनाउनुभयो । उहाँले नेपालमा नर्सिङ्ग विषयको पाठ्यक्रमलाई समय सुहाउँदो बनाउनु पर्ने, जागीरको सुरक्षा हुनु पर्ने र तलब सुविधा वृद्धि गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले बेलायतमा कार्यरत नर्सहरु नेपालमा कार्यरत नर्स र नर्सिङ्ग संस्थाहरुसँग सहकार्य गर्न इच्छुक रहेको पनि जनाउनुभयो ।

त्यस्तै अमेरिकामा कार्यरत वरिष्ठ चिकित्सक डा केशव पौडेलले नेपालमा राज्य तथा निजी क्षेत्रबीच साझेदारी मोडेल अपनाउन, प्रतिरोधात्मक स्वास्थ्य सेवालाई जोड दिन र स्वास्थ्य बीमाका लागि सरकारी लगानीमा उल्लेख्य वृद्धि गरी सबैका लागि नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले नेपालका स्वास्थ्य संस्थाहरुमा डिजिटल स्वास्थ्य अभिलेख प्रणाली (इएमआर) सुरु गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै अस्पतालहरुबाट प्रदान गरिने स्वास्थ्य सेवामा स्तरीकरण गरिनु पर्ने जनाउनुभयो ।

बेलायतमा कार्यरत अस्पताल व्यवस्थापन विज्ञ डा बच्चुकैलाश कैनीले नेपालमा कार्यरत तथा प्रशिक्षित चिकित्सकलगायत दक्ष जनशक्तिलाई नेपालमै रोक्न तलब सुविधामा वृद्धि, पूर्वाधारको व्यवस्था, वर्क लाइफ ब्यालेन्स आदिमा ध्यान दिनु पर्ने जनाउनुभयो । नेपालको निजी अस्पतालमा सीइओको रुपमा पनि काम गरिसकेका डा कैनीले नेपालका अस्पतालहरुमा ‘क्लिनिकल गभर्नेन्स’ प्रणाली अपनाउन र स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको अनुगमन गर्न बेलायतको केयर क्वालिटी कमिशन (सीक्युसी) जस्तै स्वतन्त्र नियामक संस्था गठन गर्न आवश्यक रहेको जनाउनुभयो ।

‘स्वास्थ्य सेवामा सुधार प्रयास जारी’कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सरकारले नेपालमा स्वास्थ्य सेवामा सुधार गर्न विभिन्न कदम हरु चलि रहेको जनाउनुभयो । उहाँले सीमित श्रोत साधनका बावजुद सेवा प्रवाहमा सुधार गर्न आफूहरुले प्रयास गरिरहेको जनाउनुभयो ।

“अहिले स्वास्थ्य क्षेत्रमा खर्च गरिएको हरेक रु १०० मध्ये ५५ रुपियाँ नागरिकको खल्तीबाट (आउट अफ पकेट) गइरहेको छ। स्वास्थ्य उपचार गर्दा लागेको ऋण तिर्न नसकेर ५ लाख मानिस बर्सेनि गरिबीको रेखा मुनि गइरहेका छन्।

उपचारमा भैरहेको नागरिकको खर्च कसरी घटाउने भन्नेतर्फ हामी प्रयास गरिरहेका छौं,” उहाँले भन्नुभयो ।मन्त्री पौडेलले कर्मचारीको तलबबाट डेढ प्रतिशत स्वास्थ्य बीमा कोषमा जाने व्यवस्था गर्न, कर दाताले आफ्नो करबाट शून्य दशमलब ५ प्रतिशत र प्रिमियम तिर्नेले प्रिमियमबाटै स्वास्थ्य बीमा कोषमा भुक्तानी गर्ने व्यवस्था मिलाउन मन्त्रालयले प्रस्ताव गरेको उहाँले जनाउनुभयो । यसैगरी चिनीजन्य पदार्थहरुमाथि ‘सुगर ट्याक्स’ लगाउन तथा कर्पोरेट सोसल रेसपन्सिबिलिटी (सीएसआर) अन्तर्गत विभिन्न संस्थाहरुले गर्ने खर्चको ५० प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने लगायतका प्रस्ताव गरिएको पनि उहाँले जनाउनुभयो ।

मन्त्री पौडेलले डिजिटलाइजेशन प्रक्रियामा काम गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले स्वास्थ्य सेवालाई सस्तो र प्रभावकारी बनाउनु पनि डिजिटलाइजेशन धेरै महत्वपूर्ण रहेछ । उहाँले विद्यालयतहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउनका लागि शिक्षा मन्त्रालयसँग कुरा भैरहेको पनि जनाउनुभयो ।

मन्त्री पौडेलले अमेरिका, बेलायतजस्ता विकसित मुलुकमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अनुभव नेपालको स्वास्थ्य सेवामा सुधार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेशन युकेका अध्यक्ष डा ढुङ्गानाको अध्यक्षतामा आयोजित कार्यक्रममा फाउण्डेशनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले संस्थाको उद्देश्य र गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको संचालन जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेशन युकेका सचिव इ. रामराज शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री