तस्बिर : मिलन तमु
पोखरा । तमु धीं यूकेले नौलो घुम्ती नेपाललाई १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
मंगलबार पोखरा-१७ सीतापाइलास्थित नौलो घुम्तीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ र निवर्तमान अध्यक्ष हरि गुरुङले नौलो घुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष मंगलबहादुर नेपालीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोग बर्खे भेलले क्षति पुर्याएको भान्साघर पुनर्निर्माणका लागि खर्च गर्ने गरी दिएको तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो ।
नौलो घुम्तीलाई १० लाख सहयोग दिने निर्णय निर्वतमान अध्यक्ष हरि गुरुङको कार्यकालमै भएको थियो । उक्त रकम गत वर्ष बेलायतमा तमु धीं यूकेले आयोजना गरेको गोर्खा कपबाट बचत गरिएको हो ।
संस्थाकी उपाध्यक्ष मिना गुरुङले सञ्चालन गरेको कार्यक्रममा तमु धीं यूकेका पदाधिकारी, कार्यसमिति सदस्य, नौलो घुम्ती नेपालका पदाधिकारी, कार्यसमिति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । नौलो घुम्ती नेपालले महिला तथा पुरुष लागू पदार्थ/मद्यपान परामर्श उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा काम गर्छ ।