रेज होप युकेको आर्थिक सहयोगमा पर्वतमा नि:शुल्क आँखा शिविर, १५४ को शल्यक्रिया

पर्वत । डा. विशाल गुरुङ अध्यक्ष रहेको रेज होप युकेको आर्थिक सहयोगमा पर्वतमा तीन दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको शिविरमा १ सय ५४ जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।

पर्वत सक्रिय लायन्स क्लबको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ लगायतको प्राविधिक सहयोगसमेत रहेको थियो । आँखा शिविरका लागि बेलायतमा च्यारिटी आयोजना गरेर रकम संकलन गरिएको थियो ।

यसअघि जिल्लाका आठ स्थानमा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट पाँच हजारभन्दा बढीको आँखा परीक्षण गरिएको थियो । उनीहरुमध्येबाट १५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सबैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निःशुल्क शल्यक्रिया गरिएको डा विशाल गुरुङले जानकारी दिनुभयो ।

दुई वर्षदेखि बिसौँ वर्षसम्म आँखासम्बन्धी समस्या बल्झाएर बसेका ८६ वर्षको उमेरसम्मका वृद्धको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका वृद्धवृद्धाले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

मोतीयाबिन्दुका बिरामीको शल्यक्रियाका लागि कतिपय वडाले निःशुल्क सवारी साधनको व्यवस्था गरेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा यसअघि स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री