गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्री लेखकको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार (७ फागुन )गृहमन्त्री लेखकसँगको भेटमा अध्यक्ष केसीले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी मार्गप्रशस्त गर्न ध्यानाकर्षण गराउनुभएको हो । उक्त अवसरमा महिला सचिव राधिका (टीका) गुरुङ पनि उपस्थिति हुनुहुन्थ्यो ।

सो अवसरमा संसद‍्मा जारी हिउँदे अधिवेशनमार्फत नै संविधान प्रदत्त अधिकारको उपभोग गर्न पाउने गरी कानुनी प्रावधान ल्याउन, गैरआवासीय नेपाली नागरिकता बहाक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने प्रावधानलाई प्रतिस्थापन गर्ने कानुन बनाई गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नै नचाहिने कानुन बनाउन, एनआरएन ऐनलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउन र अन्य आवश्यक ऐन तथा कानुन परिमार्जनका लागि अनुरोध गरिएको थियो ।

जवाफमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने जारी हिउँदे अधिवेशनबाटै कानुन बनाउने प्रतिबद्धता गरेको सचिव गुरुङले जानकारी गराउनुभयो । त्यसका लागि परराष्ट्र, कानुनलगायत सम्बद्ध मन्त्रालयसँग छलफल भइरहेको पनि गृहमन्त्री लेखकले बताउनुभयो ।

उक्त अवसरमा अन्य समसामायिक विषयमा पनि छलफल भएको सचिव गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री