लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाकी अध्यक्ष विमला सेने नेतृत्वको टोलीले नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग शिष्टाचार भेट गरेको छ ।
शाखा पदाधिकारी, पूर्वपदाधिकारी तथा सदस्यहरुले शुक्रबार साँझ नेपाली दूतावास लन्डन पुगेर राजदूत घिमिरे र पत्नी सरिता न्यौपाने घिमिरेलाई स्वागतसहित शिष्टाचार भेट गर्नुभएको हो । शाखा अध्यक्ष सेनेले राजदूत घिमिरे दम्पतीलाई खादा र पुष्पगुच्छासहित स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।
राजदूत घिमिरेले आफ्नो स्वागत गरेकामा महासंघलाई धन्यवाद दिँदै बेलायतमा नेपाली पत्रकारहरु सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुशी लागेको प्रतिक्रिया जनाउनुभयो । उहाँले देश र समाज निर्माणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो व्यावसायिक धर्म सधैं निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले दूतावासले महासंघबाट सधैं रचनात्मक सुझाव सल्लाह अपेक्षा गरेको पनि बताउनुभयो ।
उक्त अवसरमा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सल्लाहकारद्वय नरेश खपाङ्गी मगर र नवीन पोखरेल, केन्द्रीय प्रतिनिधि दुत पुन (चिम्खोले काइँला), सदस्यहरु नगेन्द्र नेम्बाङ, बम थापा सूर्यवंशी र गोमा राना एवं मनोक्रान्तिका अभियन्ता गजेन्द्र नेम्बाङको उपस्थिति थियो ।