लन्डनमा ‘अबको बाटो’ पुस्तक विमर्श र सिर्जना वाचन कार्यक्रम सम्पन्न

लन्डन । लन्डनको ह्यारोमा ‘अबको बाटो’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न साहित्यिक संघसंस्थाहरुद्वारा आइतबार २३ फेब्रुअरीमा आयोजित कार्यक्रममा सम्पादक भरतकुमार श्रेष्ठद्वारा संकलित कृतिमाथि विमर्श गरिएको हो । पुस्तकमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्।

कार्यक्रममा कवि तथा लेखकसमेत रहनुभएका बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेलाई बेलायतमा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाहरूले स्वागत गरेका थिए । राजदूत घिमिरेले आफ्नो मन्तव्यका क्रममा नेपालले विगतमा गरेका कमजोरी र अबका चुनौतीहरूबारे पुस्तकमा प्रस्तुत विचार गहन रहेको बताउनुभयो ‘विभिन्न क्षेत्रका विज्ञहरूबाट नेपालका संभावनाबारे तथ्यगत विश्लेषण गरिनु सरहानीय छ’ उहाँले भन्नुभयो । उहाँले पुस्तक संकलनका लागि सम्पादक श्रेष्ठलाई विशेष धन्यवादसमेत दिनुभयो ।

डा. मिलन ज्ञवालीले आफ्नो लेख ‘साना तथा मझौला उद्योगको पारस्परिक अन्तरसम्बन्ध, एक बिजनेस मोडल’ को चर्चा गर्दै नेपालका २७ सफल साना तथा मझौला उद्योगहरूको अनुसन्धानबाट प्राप्त निष्कर्ष प्रस्तुत गर्नुभयो । त्यस्तै, पूर्वप्रहरी डीएसपी तथा स्तम्भकार शिवजी श्रेष्ठले ‘नेपाल प्रहरी र गृहमन्त्री कस्तो हुनुपर्छ’ भन्ने विषयमा ऐतिहासिक उदाहरण दिँदै पुस्तकमा समावेश आफ्नो लेखमाथि विचार राख्नुभएको थियो । उहाँले सन् १८२२ का बेलायती गृहमन्त्री रोबर्ट पिलको उदाहरण पेश गर्दै नेतृत्व र प्रशासनिक दक्षताको महत्व दर्शाउनुभयो । ‘हामीले सत्य लेख्न र बोल्न छाड्नु हुँदैन, किनभने सकारात्मक विचारको कुनै न कुनै दिन सुनवाई हुन्छ,’ श्रेष्ठले जोड दिनुभयो।

पुस्तक समीक्षकका रूपमा साहित्यकार तथा लेखक डा. रुपक श्रेष्ठले पुस्तकको समग्र पक्षको समीक्षा प्रस्तुत गर्नुभयो । त्यसैगरी, पुस्तकका परिकल्पनाकार एवं संकलक भरतकुमार श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे पत्रकार महासंघ यूकेका महासचिव तथा लेखक खेमराज रानाभाटले चर्चा गर्नुभयो।

कार्यक्रममा लेखक गोपी सापकोटाले राजदूत चन्द्रकुमार घिमिरेले लेखेको ‘डन्ट टच मी ओ कविताहरू’ वाचन गरी कार्यक्रममा साहित्यिक माहोल बनाउनुभयो ।

साहित्य अनुरागीहरूको उत्साह झन् बढ्दै गयो जब दुर्गाप्रसाद पोखरेल, सुनिल संगम, विनोद अधिकारी, प्रसुन कँडेल, रश्मिता दर्लामी, वाईबी गुरुङ, जया राईलगायतका सर्जकहरूले आफ्ना गजल, मुक्तक र कविताहरू प्रस्तुत गर्नुभयो । आध्यात्मिक व्यक्तित्व विष्णुप्रसाद सापकोटाले ‘जीवनमा सन्तुष्टि कसरी प्राप्त गर्ने’ भन्ने विषयमा प्रेरणादायी विचार राख्नुभयो ।

पुस्तकका संकलक श्रेष्ठले आफ्नो धारणा राख्दै भन्नुभयो, ‘हाम्रो समाजमै रहेका दक्ष र अनुभवी व्यक्तिहरूको ज्ञानलाई एकत्रित गरेर अबको नेपाल निर्माणको मार्गचित्र कोर्न सकिन्छ भन्ने सोचले यो पुस्तकको परिकल्पना गरिएको हो।’

कार्यक्रम अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन पर्या साहित्यकार तथा लेखक विजय हितानले गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका सम्पादकसहित चारजना लेखक र विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा साहित्य अनुरागीहरूको गुणात्मक उपस्थिति रहेको थियो।

नेपालको भविष्यप्रति गहिरो चासो र विचार विमर्शले भरिएको उक्त कार्यक्रम एक प्रेरणादायी विचार मन्थनका रूपमा स्मरणीय रहेको अनुभूति उपस्थितहरुले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री