नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा लन्डन दूतावासमा विशेष समारोह

बेलायती सेना प्रमुखद्वारा नेपाली सेनाको प्रशंसा

लन्डन । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ नेपाली दूतावास लन्डनमा विशेष समारोह आयोजना गरिएको छ ।

बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको प्रमुख आतिथ्यतामा नेपाली दूतावासले उक्त समारोह आयोजना गरेको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै बेलायती सेना प्रमुखले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ । सेना प्रमुख रोलीले, नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “नेपाली सेनाको २६२औँ स्थापना दिवसमा यो रात यहाँहरुको साथमा कार्यक्रममा सहभागी हुन पाउनु मेरा लागि खुसीको पल हो, संयुक्त राष्ट्रसङ्घमा उत्कृष्ट सहभागितासहित नेपाली सेनाले पुर्‍याएको योगदान साँच्चै गर्विलो छ ।”

जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा चन्द्रकुमार घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र दिगो विरासतको स्मरण गर्नुभयो । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको बताउनुभयो । राजदूत घिमिरेले नेपाली सेनाको महत्त्वपूर्ण इतिहास र बेलायती सेनासँगको लामो समयदेखिको सम्बन्ध स्मरण गर्दै बेलायत सरकारले नेपाल र नेपाली सेनालाई निरन्तर सहयोग गरेकामा प्रशंसा गर्नुभयो ।

स्वागत मन्तव्यका क्रममा दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले इतिहासका निर्णायक क्षणहरूमा नेपाली सेनाको अटल बलिदानको स्मरण गर्दै नेपाली सेना आफ्नो व्यावसायिक धर्ममा कटिबद्ध रहेको बताउनुभयो । कर्णेल शाहले विश्व शान्ति स्थापना, वन्यजन्तु संरक्षण, प्राकृतिक प्रकोपहरुमा मानवीय सहायता, विकास निर्माण आदिमा नेपाली सेनाको योगदानसहितको श्रव्यदृश्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री