आउँदो जुन १८ मा भूपू सैनिकहरुको शक्तिशाली समिति गठन गर्छौं : गेसो संस्थापक सभापति

'कृष्णकुमार राईलाई गेसोको सभापति हुँ भन्नेनै नैतिक अधिकार छैन'

लन्डन । गोर्खा भूपू सैनिक संघ (गेसो)का स‌ंस्थापक सभापति पदमबहादुर गुरुङले वर्तमान नेतृत्वले विश्वासघात गरेको आरोप लगाउँदै आगामी जुनमा शक्तिशाली समिति गठन गर्ने बताउनुभएको छ ।

गेसो सभापति कृष्णकुमार राईले संस्थालाई समाप्त पार्ने र नेपाल तथा भूपू गोर्खाहरुको गौरवशाली परियोजना गोर्खा समाधिस्थल साल्मेडाँडालाई ध्वस्त पार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै संस्थापक सभापति गुरुङले आउँदो जुनको १८ तारिख २०२५ मा भूपू सैनिकहरुको एक शक्तिशाली समिति गठन गर्ने जनाउनुभएको हो । ‘अहिले विभिन्न चिरामा विभाजन भएर बसेका तथा भूपू सैनिकका छोराछोरी, भान्जाभान्जीलाई गेसोको संस्थापक सभापतिको नेतृत्वमा संगठित गर्दै सम्पूर्ण बेलायतवासी गैरभूपू नेपालीहरुलाई समेत समेटेर बेलायतसँग पाई पाईको हिसाब खोज्न आउँदो जुनको १८ तारिख २०२५ मा भूपू सैनिकहरुको एक शक्तिशाली समिति गठन गरिनेछ,’ गुरुङले शुक्रबार २८ फेब्रुअरीमा अध्यक्ष राईलाई लेख्नुभएको पत्रमा उल्लेख छ ।

उहाँले भावी नेतृत्वको रुपमा सत्याग्रहका कृष्णबहादुर राईलाई सबैले साथ दिएर बेलायतसँग लड्न शक्तिशाली नेता बनाउँदामै भूपू सैनिकहरुको भलो हुने दाबीसमेत गर्नुभएको छ ।

‘कृष्णकुमार राईलाई गेसोको सभापति हुँ भन्ने कुनै नैतिक अधिकार छैन’
संस्थापक गुरुङले वर्तमान नेतृत्व कृष्णकुमार राईलाई गेसोको सभापति हुँ भन्ने कुनै नैतिक अधिकारसमेत नरहेको टिप्पणी गर्नुभएको छ । ‘आफ्नै संस्थाले परिकल्पना गरेको र तपाईं आफूले नेतृत्व गरेको भूपू सैनिकहरुको करोडौँको लगानीमा निर्माण भइरहेको योजनालाई ध्वस्त बनाइदिएर, आफ्नै संस्था गेसोलाई समाप्त पारेर बेलायतको चाहनाबमोजिम काम गर्ने तपाईं धोकेबाज, विश्वासघाती कृष्णकुमार राईलाई गेसोको सभापति हुँ भन्ने कुनै नैतिक अधिकार छैन,’ पत्रमा लेखिएको छ, ‘मैले तपाईंलाई सभापति पद हस्तान्तरण गर्दा बेलायत, हङकङ र मकाउमा ११ वटा समितिहरु थिए । अहिले तपाईंसँग गेसोको एउटा पनि समिति छैन भने तपाईं नाम मात्रको के को सभापति ? सवाल भनेको तपाईंको इज्जतको मात्र होइन, हजारौं भूपू सैनिक र तिनका परिवारहरुको मानसम्मानको हो । सवाल राष्ट्र, राष्ट्रियता र स्वाधिनताको हो ।’

उहाँले आफ्नो प्राण रहेसम्म राई नेतृत्वलाई साथ दिने वाचा गरेको स्मरण गराउँदै बेलायतको आज्ञाकारी बनेर काम गर्नका लागि गेसो सभापति हस्तान्तरण नगरेको बताउनुभएको छ । ‘आफूले नेतृत्व गरेको भूपू सैनिकहरुलाई प्रत्यक्ष आर्थिक लाभ हुने, राष्ट्रमा खर्बौं रकम आउने गौरवशाली परियोजना गोर्खा समाधि निर्माण हुन नदिएर विश्वमा उच्च महत्वका साथ स्थापित गेसोलाई खरानी बनाई दिएर नेपालीहरुको रक्त पिपासु सैतान जातिवादी बेलायतलाई आर्थिक भारबाट बचाइदिएर बेलायतको आज्ञाकारी दास बन्न मैले तपाईंलाई गेसोको सभापति कदापि हस्तान्तरण गरेको होइन,’ पत्रमा छ,’गेसो सभापति कृष्णकुमारको नियन्त्रणमा गोर्खा समाधिस्थल साल्मेडाँडा र गेसोको एउटा समिति पनि छैन । भत्ता खाएर बसेका १५/२० जना ज्येष्ठ नागरिकलाई भेला गराएर साधारणसभा गर्नुको कुनै अर्थ छैन । समिति बिनाको साधारणसभा पनि हुन सक्दैन ।’

गुरुङले २७ वर्षसम्म नेतृत्व गरेर गुरुङले १९ सेप्टेम्बर २०१६ मा अल्डरसटमा एक कार्यक्रमबीच तत्कालीन उपसभापति राईलाई सभापतिको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । आफूले नेतृत्व पाएपछि सभापति राईले आफ्नै र हजारौं भूपूहरुको करोडौं लगानी परेको गोर्खा समाधि साल्मेडाँडामा भेट्न अनुरोध गर्दा पनि नमानेकोमा दुखेको गर्नुभएको छ ।

सभापति राईले गेसोले गोर्खा समाधि निर्माण गर्ने भन्दै विज्ञप्ति निकाल्ने, हङकङमा गएर पैसा नपठाउन आदेश दिने जस्ता कार्य गरेकाले पैसा आउन बन्द हुँदा समाधि निर्माण अघि बढ्न नसकेको उहाँको भनाइ छ । ‘बेलायत फर्केपछि गेसोले गोर्खा समाधि निर्माण गर्दैन भनी प्रेस विज्ञप्ति जारी गर्नुभयो । हङकङमा गएर गोर्खा समाधिलाई पैसा नपठाउन भनी त्यहाँको समितिलाई आदेश दिनुभयो। कृष्ण कुमार राई गेसोको सभापति भएपछि समाधि निर्माणको लागि पैसा आउन बन्द भयो । पैसाको अभावमा निर्माणको काम अगाडि बढ्न सकेन,’ उहाँले लेख्नुभएको छ, ‘यही कुरा गेसोको वार्षिकोत्सवमा राख्छु भनेर बेलायत गएँ। सत्ताइस वर्षसम्म मेरो रगत पसिना बगाउँदै बेलायतसँग लडेर विश्वको चर्चामा पुगेको गेसोको वार्षिकोत्सव कार्यक्रममा मलाई पस्न दिइएन। गेसोले मलाई एक्लो बनायो। मेरो जीवनको यो अविस्मरणीय अपमान हो भन्ने महसुस गरेँ ।’

संस्थापक गुरुङले गोर्खा समाधि निर्माणलाई तुहाउन तत्कालीन सचिव चन्द्रबहादुर गुरुङ, पूर्वसांसद गणेशमान गुरुङले समेत भूमिका खेलेको आफ्नो पत्रमा उल्लेख गर्नुभएको छ ।

‘जनजातिको कोटाबाट माननीय भएका डा. गणेशमान गुरुङले कीर्ते निवेदन दर्ता गरी सहरी विकास मन्त्रालयबाट साल्मेडाँडाको गोर्खा समाधिको नाममा पाँच करोड निकासा गरी चन्द्रबहादुर गुरुङलाई साल्मेडाँडामा पठाएर गुरुयोजनाविपरीत काम गरी डोजर लगाई खाल्डो खन्न लगाएर ढलान गरी निर्माणाधीन समाधिमा मन्त्री लगी उद्घाटन गर्न लगाएर भित्तामा मन्त्रीको नाम लेखेका छन्। नेपालका मन्त्रीले उद्घाटन गरिसकेको साल्मेडाँडामा अब बेलायतका प्रधानमन्त्री र राजा रानी जाँदैनन्,’पत्रमा छ, ‘मेरो नेतृत्वमा वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको सहयोगी ईञ्जिनियर जीवन प्रसाईंको प्रत्यक्ष रेखदेखमा निर्माण गर्दै गरेको संरचना बिगार्न गणेशमान गुरुङको योजनामा ठेकेदारलाई जिम्मा दिएर गुरुयोजनाविपरीत प्राविधिक बिना गुणस्तरहीन संरचना निर्माण गर्ने कार्यले विश्व चर्चित गोर्खा समाधिलाई औचित्यहीन बनाइदिएको छ। यस्तो गतिविधिबाट भूपू सैनिकहरु र राज्य कोषको करोडौँको रकम खरानी बनाई दिई गणेशमान गुरुङले बेलायतलाई ठुलो गुन लगाइरहेका छन् ।’

गोर्खा समाधि वरिष्ठ इञ्जिनियर रिमालको गुरुयोजनाअनुसार भूपू सैनिकहरुलाई सम्पन्न गर्न दिएको भए राष्ट्रलाई के कति लाभ हुने थियो र योजनाअनुरुप काम गर्न नदिएर अहिले के कति खति भयो भन्ने विषयमा राज्यकोषको रकमसमेत त्यहाँ दुरुपयोग भएकोले यो परियोजनामा भएको भ्रष्टाचारको अनुसन्धान गर्न जनस्तरबाट छानबिन समिति गठन हुनुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री