काठमाडौं । बेलायत निवासी ‘युद्ध कवि’ काङमाङ नरेश राईले आइतबार धनकुटामा एकल कविता वाचन गर्नुभयो । आफूलाई युद्ध कविका रुपमा चिनाउँदै आएका राईले एक घण्टा करिब डेढ दर्जन कविता वाचन गर्नुभयो ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका कवि राईले आफू बेलायती सैनिक छँदाका भोगाइ, लाहुरेका कथा व्यथा तथा मुन्धुम भावका कविता सुनाउनुभएको थियो ।
२०४५ सालदेखि कविता लेखनयात्रा थालनी गर्नुभएका राईका १५ भन्दा बढी कृति तथा सम्पादन गरिएका पुस्तक छन् ।
पहिलो कविता ‘एघारौं सम्झनामा बाँचेको म’, ‘फर्केर आऊ’ हुँदै ‘प्रेम र युद्ध’ लगायत अन्तिममा ‘यो घर पक्कै ढल्छ होला’ प्रस्तुत गर्दै उनले एकल वाचन अन्त्य गर्नुभएकोथियो । ईच्छापूर्ण राईले कवि राईका बारेमा धारणा राख्नुभएको थियो ।
कलाकार डिल्लीकृष्ण आलेले कविता वाचन कार्यक्रम अवधिमा कवि राईको मुहार चित्रसमेत तयार पार्नुभयो ।